Comments Add Comment

आरक्षण र पहिचानको कन्तबिजोग

केही दिनअघि नयाँ बानेश्वरबाट बल्खु जाने नेपाल यातायात चढेँ । बस अरु दिन जस्तो  भरिभराउ थिएन, एउटा सिट सजिलै पाइयो । ठाउँ-ठाउँमा यात्रु चढाउँदै गर्दा खाली सिट भरिए ।

Yamuna-Aryal-Kafleबबरमहल कर कार्यालयको अगाडि दुई जना बूढीआमाले बस रोक्न इशारा गरे, ‘ए बाबु कहाँ जाने हो ? कालीमाटी जान्छ होला ?’ कन्डक्टर भाइले ‘जान्छ आमा’ भन्दै चढाएपछि बस हुइँकियो ।

दुई जनाले यताउति आँखा डुलाए, खाली सिट कतै थिएन ।

‘ल ल, अलि पछाडि जानुस्, अलि परबाट खाली भइहाल्छ’, कन्डक्टर भाइले आफ्नो काम पूरा गर्दैथ्यो । दायाँपट्टिको दोस्रो सिटमा बसिरहेकी थिएँ म । तीमध्ये एक जना आमालाई बस्न आग्रह गरेँ । आमाले सोधिन्, ‘नानी यतै झर्ने हो र ?’

मैले ‘होइन आमा, म बल्खु जाने हो, म उभिएर जान सकिहाल्छु नि’ भनेँ । सिटमा बस्न पाउँदा आमाको मुहारमा खुसी देखियो । हरेक बसमा ज्येष्ठ नागरिक, अशक्त यात्रु, बालबच्चा बोकेका महिलाको लागि भनेर आरक्षण सिटको व्यवस्था गरिएको हुन्छ । तर, त्यस्तो सिटमा को बस्ने गर्छ, कसैलाई हेक्का छैन ।

महिलाको सिट लेखिएको अगाडिको सिटमा दुई जना पाको उमेरका र दुई जना भर्खरका ठिटी बसेका थिए । ती युवतीलाई आग्रह गरेँ, ‘बैनी, हामी त उभिएर गइहाल्छौं नि, बूढी आमालाई सिट छोड्दिनुस् न है ।’

मेरो प्रश्न सुनेर एक जनाले निधार खुम्चाइन् । अर्की कानमा एयरफोन लगाएर गफमा मस्त थिइन् । निधार खुम्च्याउँदै युवती कड्किइन्, ‘के हामी महिला होइन र ? महिला सिटमा हामी बस्न नपाउनु ?’ मैले बोल्ने ठाउँ देखिनँ ।

महिला सिट बूढा आमा-बाको लागि होइन रहेछ, भर्खरका युवतीको लागि रहेछ भनेर धिक्कार लाग्यो । पछाडिको सिटमा बसेका अधबैंशे पुरुषले आमालाई बस्न दिँदै भने, ‘तपाईं जस्ता बूढाबूढीलाई उभ्याएर हामी लाठे तन्नेरी बस्न नमिल्ने हो, तर के गर्नु ? बोल्न मिल्दैन, जमाना खराब छ ।’ बल्ल त्रिपुरेश्व्ार पुगेर आमाले सिट पाइन् ।

ती पुरुषले छाडेको सिटमा बस्दै आमाले खिन्नता पोखिन्, ‘के गर्नु बाबु, तपाईंले पछाडिबाट म बूढी उभिएको देखेर सिट छोड्दिनुभो, अगाडिको सिटमा अघिदेखि यो नानीले आमालाई बस्न दिनुस् भन्दै बिन्ती गरे पनि ती नानीहरुले सुन्दै सुनेनन् ।’

पाको उमेरका धेरै बुबाआमाहरु उभिएका थिए, तन्नेरी युवायुवतीहरु मस्तसँग सिटमा बसेका थिए । वानेश्वरबाट बल्खुसम्मको दूरी टाढा पनि होइन । तर, २०/२५ मिनेटको बाटोमा उभिएर जाऔं, कम्तीमा वृद्धवृद्धालाई सिट छाडिदिऔं भन्ने भावना कसैलाई आएन । टेकुबाट एउटी महिला काखे बच्चा बोकेर चढिन्, उनले पनि सिट पाइनन् । कोचाकोचमा अत्तालिएर बच्चा रोयो । सिटमा बसेकी युवती तर्क गर्दै थिइन्, ‘यी केटाहरु कस्ता सोमत नभएका है ! यस्तो बच्चा बोकेको महिला चढेपछि खुरुक्क सिट छोडदिनुपर्छ नि !’

तन्नेरी युवाहरु पनि भर्खरका युवतीलाई सजिलै सिट छोड्छन् तर खास दिनुपर्नेलाई वास्ता गर्दैनन्

उनले केटाले सिट छोड्दिनुपर्ने तर्क गरिन्, तर आफूले ठाउँ छाड्नुपर्ने आवश्यकता महसुस गरिनन् । एक हातले बच्चा समातेकी महिला अर्को  हातले बसको डन्डी समाइरहेकी थिइन् । बस रोकिएर एक्कासी हुइँकिँदा बच्चा चर्को स्वरले रुन्थ्यो बाबु नरोऊ भन्दै थुमथुमाउँथिन् । तर, कसैले उनको लागि सिट छोड्दिएन । धन्न रहेछ आरक्षण सिट ! लक्का जवान युवायुवतीले ओगट्ने र बस्ने वृद्धवृद्धा, अशक्त र बच्चा बोकेका महिलाहरु झुन्डिएर यात्रा गर्नुपर्ने ।

आरक्षण सिटलाई आफ्नो अधिकार सम्झने युवतीहरूले मानवीय नाता र दायित्व भने भुलेको देखिन्छ । तन्नेरी युवाहरु पनि भर्खरका युवतीलाई सजिलै सिट छोड्छन् तर खास दिनुपर्नेलाई वास्ता गर्दैनन् ।

आरक्षण पाउन पहिचानको कुरा, जागिर खाएपछि गुपचुप ?

एकजना साथीले केही समयअघि मधेसी कोटाबाट प्रशासनतर्फको खरिदार पदमा नाम निकालिन् । नयाँ नियुक्ति लिएपछि तीनदिने तालिममा उनी पनि तालिम केन्द्रमा पुगिन् । मसँग पहिलेदेखि चिनजान भएकोले अन्य साथीसँग परिचय गराइदिएँ ।

उनीसँग बोल्ने क्रममा साथीहरुले छक्क पर्दै भने, ‘तपाईं त मधेसी हुनुुहुँदो रहेछ, तर बोलीचाली मधेसको जस्तो नलाग्ने है ।’

आफूलाई मधेसी भनेपछि अघिसम्म उज्यालो मुहारमा गफ गरिरहेकी साथी एकाएक रातोपिरो अनुहार लगाउँदै एक्लै बर्बराउन पो थालिन् । ‘म काली हुनुपर्थ्यो मधेसको हुनको लागि ? हिन्दी वा मैथिलीमा बोल्नुपर्थ्योकपालमा पछ्यौराको घुम्टो ओढ्नुपर्थ्यो ? मधेशी भनेर हेपेको ?’ मानौं उनलाई मधेसी भन्नु साथीहरूको गम्भीर अपराध भयो ।

मैले सम्झाउने कोसिस गरे पनि उनी शान्त भइनन् ।

उनलाई सम्झाउने खोज्दै भनेँ, ‘म पहाडकी छोरी हुँ, पहाडिया भन्दा गर्व लाग्छ । बाहुनकी छोरी भएकोले नाक चुच्चो छ, बाहुनी भनेर कसैले भन्छ भने पनि आपत्ति छैन । यसमा किन दुःख मान्नु ? तिमीले मधेसी कोटाबाट नाम निकालेको होइन भने म मधेसकी छोरी होइन भनेर भन ।

सरकारी जागिर खानको लागि त्यही मधेसको पहिचान अचुक अस्त्र हुने तर साथीसंगीले मधेसकी हौ भन्दा आत्मग्लानी हुने ? हाकाहाकी भन न म मधेसकी छोरी हुँ । मधेसमा छोरीलाई पढाउने चलन छैन, आफू पढेर सरकारी जागिरमा नाम निकाल्न सफल भएँ भन, अरुको लागि उदाहरण पनि त बन्न सक्छ्यौ नि ।’

आरक्षणमा प्रतिस्पर्धा गरेर अवसर पाउनको लागि हामी आफूलाई मधेसी, दलित, जनजाति, अपांग केही भएको महसुस गर्दैनौं, तर जागिर खाइसकेपछि त्यो पहिचान टाउको दुखाइ बन्नु गलत हो

अन्त्यमा मित्र शालीन भइन्, ‘मधेसिया भनेपछि हामीलाई जहाँ पनि हेपिहाल्छ के, त्यही भएर मात्र हो, नत्र मलाई केही गुनासो छैन ।’

‘हेप्छन भने त्यो हेप्नेको कमजोरी हो, तिम्रो हाम्रो होइन ।’

ती साथी मात्र होइन, यस्ता धेरै पात्र छन्, जसलाई आफ्नो पहिचान जागिरका लागि नाम  निकालुन्जेलको लागि मात्र हतियार बन्ने गरेको छ । हिमालमा बस्नेलाई हिमाली भन्न नहुने, पहाडको पहाडिया भन्न नहुने, मधेसमा बस्नेलाई मधेसी भन्न नहुने भएपछि किन चाहियो आरक्षण ? किन चाहियो पहिचानको कुरा ?

जो जहाँको सम्प्रदायको व्यक्ति हो, त्यहाँको सम्बोधन उसको लागि पाच्य छैन भने आन्दोलनको नारा घन्काउने किन ? चर्का भाषण गर्ने कसको लागि ?

सरकारले मधेसी, दलित, जनजाति, पिछडिएको क्षेत्र, अपांग महिला भनेर आरक्षण छुट्याइएको छ । त्यही आरक्षणमा प्रतिस्पर्धा गरेर अवसर पाउनको लागि हामी आफूलाई मधेसी, दलित, जनजाति, अपांग केही भएको महसुस गर्दैनौं, तर जागिर खाइसकेपछि त्यो पहिचान टाउको दुखाइ बन्नु गलत हो ।

जागिरमा छिरेपछि बढुवाको लागि फेरि त्यही पहिचान चाहिन्छ । मधेसकाले आफू मधेसी भएको प्रमाण दिन्छ । त्यसैगरी जनजाति, दलित, अपांगहरूले आफ्ना प्रमाण पेश गर्छन् । तर, पछि त्यही पहिचान टाउको दुखाइको विषय किन बन्छ ?

कतिजना साथीहरु छन्, दलित कोटाबाट नाम निकाले पनि दलित भन्ने शब्द तिनलाई मन पर्दैन । दलित कोटाबाट नाम निकालेका दुई जना नयाँ कर्मचारीले नियुक्तिपत्र बुझेर बाहिर निस्कदा अर्कै थर बताए पछि चिन्नै गाह्रो भएको थियो । हामीले आफ्नै पहिचान बिझाउँछ र त्यसलाई बेइज्जत सम्झन्छौं भने किन पहिचान र अधिकारका कुरा गर्छौं ? आफ्नो पहिचानमा इज्जत र सम्मान गरौं । पहिलो कुरा त हामी सबै नेपाली नागरिक हौं, जातजाति नागरिकभित्रका विभिन्न हाँगाविगा मात्र हो । जागिर खाँदा त्यो आरक्षणको जति मूल्य हुन्छ, जागिर खाइसकेपछि पनि त्यसको इज्जत गर्न सिकौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment