Comments Add Comment

प्रचण्ड र देउवाले मधेसी मोर्चाका नेताहरुसमक्ष भने-शंका नगर्नुस्, संशोधन फिर्ता हुन्न

बालुवाटारमा एमालेको आलोचना

gov-morcha-meet

२ पुस, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन विधेयक फिर्ता नहुने भन्दै शंका नगर्न मधेसी मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् ।

प्रमुख तीन दलको पछिल्लो छलफलहरुलाई लिएर मधेसी मोर्चाले संशोधन प्रस्तावलाई रोकेर स्थानीय तहको चुनावको चुनाव गर्न खोजेको आशंका गरेको थियो । त्यसबारे सत्तारुढ दलको धारणा बुझ्न भन्दै मधेसी मोर्चाका नेताहरुले शनिबार प्रचण्डसहित सत्तारुढ माओवादी र कांग्रेसका नेताहरुलाई संयुक्त रुपमा भेटेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट भन्दै ‘एमालेले ४/५ महिना कति दिन संसद अवरुद्ध गर्छ, आन्दोलन गर्छ, हेरौंला’ भनेका छन्

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयकलाई फिर्ता लिने वा थाती राख्ने कुनै सम्भावना नरहेको बताए । यसमा संशोधन गरेर अघि बढ्न आफू तयार रहेको भन्दै उनले शंका नगर्न मधेसी मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् ।

प्रचण्डको भनाइमा सहमति जनाउँदै कांग्रेस सभापति शेबरहादुर देउवाले पनि संशोधन फिर्ता नहुने बताए ।

बैठकमा सदनको अवरुद्ध खुलाउन र संशोधनमा सहमति जुटाउन एमालेसँग फेरि सम्वाद गर्ने निर्णय गरेको छ । चर, यसो गर्दा संशोधन फिर्ता वा थाती राख्नु कुुनै सर्त स्वीकार नगर्ने समझदारी छ ।

संशोधन नभएसम्म चुनाव हुन दिन्नौंः मधेसी मोर्चा 

बैठकमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाप्रति असन्तुष्टि जनाए । एक नेताका अनुसार उनले मधेसी मोर्चाले सुरुमै समर्थन गरेर आएको भए अहिले परिस्थिति नै अर्को हुन्थ्यो भनेका थिए ।

मधेसी मोर्चाले भने संशोधन विधेयम परिर्माजन नभए स्वीकार गर्न नसक्ने संकेत गरेको छ । साथै उसले संशोधन स्थगित गरे चुनाव हुन नदिने चेतावनी दिएको छ ।

संशोधन परिर्माजन गर्न प्रधानमन्त्री सकारात्मक छन् । तर, कांग्रेसले सम्भव नभएको बताएको छ । कांग्रेसका डा. रामशरण महतले त संशोधनलाई थाती राखेर चुनावमा जाने प्रस्ताव गरे । जसलाई माओवादी नेता नारायणकाजी श्रेष्ठले विचारणीय छ भनेका थिए ।

तर, मधेसी मोर्चाले नेताहरुले त्यो प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । र, संविधान संशोधन नभएसम्म कुनै पनि चुनाव हुन नदिने बताएको एक नेताले जानकारी दिए ।

 

बालुवाटारमा एमालेको आलोचना

बैठकमा मधेसी मोर्चाका साथै कांग्रेस र माओवादीका नेताहरुले एमालेको चर्को आलोचना गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले हिजो आफूलाई संसदीय व्यवस्था मसिहा मान्ने एमालेले अहिले त्यसकै खिल्ली उडाएको बताए । उनले सरकारको तर्फबाट भन्दै ‘एमालेले ४/५ महिना कति दिन संसद अवरुद्ध गर्छ, आन्दोलन गर्छ, हेरौंला’ भनेका थिए ।

त्यसमा थप्दै देउवाले एमालेले असंसदीय चरित्र देखाएको बताए । साथै उनले तराई मधेस र पहाडबीच दुरी बढाएको आरोप लगाए ।

तर, मोर्चाका नेताहरुले भने आन्दोलनमा कांग्रेस र माओवादीकै नेताहरु सहभागी भएकोमा ध्यानाकर्षण गराएका छन् । उनीहरुले आन्दोलनमा गएकालाई रोक्न माग गरे ।

बैठकमा सत्तारुढ दलका नेताहरुले एमालेले संस्थागत रुपमा संघीयता, गणतन्त्रसहितका परिवर्तनका उपलब्धिमाथि प्रहार गर्न खोजेको भन्दै सचित हुनु पर्नेमा जोड दिएका छन् । स्थानीय तह र प्रदेशको चुनाव रोकेर संघीय संसदको चुनाव गर्ने एमाले प्रस्ताव परिर्वतनका उपलब्धिहरु उल्टाउने खेल भएको उनीहरुको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment