Comments Add Comment

सातौं राष्ट्रिय खेलकुदमा ३ हजार ९७२ खेलाडी सहभागी

पूर्वाञ्चलमा पुस ८ देखि १५ सम्म हुने प्रतियोगिताको तयारी पूरा

keshav-kumar-bista

३ पुस, बिराटनगर । पूर्वाञ्चलका बिभिन्न जिल्लामा पुस ८ देखि १५ सम्म आयोजना हुने सातौं राष्ट्रिय खेलकुदको तयारी पूरा भएको छ ।

बिराटनगरमा आज पत्रकार सम्मेलन गरी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको र अव कुनैपनि खेल र खेलस्थान परिवर्तन नहुने प्रष्ट पारे ।

सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएका ३५ मध्ये ३१ खेलको मात्रै मेडल गणना हुनेछ । स्क्वास, साइक्लिङ, आर्चरी र फेन्सिङ लगायत चार खेलको न्यूनतम टिम नपुगेको परिषदले यसअघि नै बताइसकेको छ । त्यस्तै तीन खेलहरु अघिल्लो बर्ष नै सम्पन्न भइसकेका छन् । स्वीमिङ, शारीरिक सुगठन, ट्रायथलन, एथ्लेटिक्सको म्याराथन यसअघि नै भइसकेका छन् ।

प्रतियोगिताका धेरैजसो खेलहरु सुनसरी झापा र मोरङमा आयोजना हुनेछन् । सिराहा, सप्तरी, इलाम, उदयपुर धनकुटा, ललितपुर र काठमाडौंमा पनि केहि खेलहरु खेलाइनेछन् ।

३ हजार ९७२ खेलाडी सहभागी

सातौं राष्ट्रिय खेलकुदका लागि ३ हजार ९७२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

१७५३ पुरुष र ११६१ महिला खेलाडीहरु छनौटमार्फत सहभागी हुनेछन् भने ५५० पुरुष र ५०८ महिला खेलाडीहरु प्रत्यक्ष सहभागी हुने राखेप सदस्य सचिव विष्टका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

प्रतियोगितामा २६८ स्वर्ण २६८ रजत र ४१६ कास्य पदक गरी कुल ९५२ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय प्रतियोगिताका लागि क्षेत्रीय छनौट चरणका खेल सम्पन्न्न भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समाविष्ट भएका खेल बाहेक खोखो, ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग खेललाइ सातौंमा समावेश गरेको छ । थप गरिएका चार खेल मध्ये ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा परेको हो ।

वजेट अभाव

राखेप सदस्य सचिव बिष्टले सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न प्रर्याप्त वजेट निकास नभएको वताए । ‘छैटौं राष्ट्रिय प्रतियोगितामा भन्दा सातौ राष्ट्रिय प्रतियोगितामा केही थप खेलहरु समावेश भएका छन यसले लागतमा केही बृद्धि भएको भएपनि अर्थ मन्त्रालयले मागे जति रकम निकास गरेन ।’ पत्रकार सम्मेलनमा विष्टले भने ।

उनले प्रतियोगिता सम्पन्न गर्न अर्थ मन्त्रालयले ८ करोड मात्र निकासा गरेको जानकारी दिए । उनले प्रतियोगिता सम्पन्न गर्न २३ करोडको लागतको अनुमान गरिएकोमा खेल संख्या बढेको र अन्य कारणले लागतमा बृद्धि हुन गई २८ करोड पुगेको बताए ।
सदस्य सचिव बिष्टले थप ५ करोड अर्थ मन्त्रालयसँग माग गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगिताको उद्घाटन विराटनगरको शहीद रङ्गशालामा गरिने र समापन धरानस्थित अखिल नेपाल फुटबल संघको खेल मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment