६ पुस, बर्दिया । कैलालीको टीकापुर हत्याकाण्डका योजनाकार मध्येका एक भनिएका लक्ष्मण थारुले जेलबाटै पार्टी परित्यागको घोषणा गरेका छन् ।

लक्ष्मण थारु विगत १६ महिनादेखि धनगढी कारागारमा छन् । उनले अब स्वतन्त्ररुपमा जीबनयापन गर्ने बताए ।
कैलालीको धनगढी कारागारबाट पार्टी परित्यागको घोषणा गर्दा उनी निकै निराश देखिन्थे । टीकापुर हत्याकाण्डको निष्पक्ष छानविन हुनुपर्छ र दोषिलाई कार्बाही गर्नुपर्छ भन्दै उनले भने, ‘अब म पार्टी परित्याग गरी स्वतन्त्ररुपमा जीबनयापन गर्छु ।’
कैलालीको टीकापुर हत्याकाण्डपछि रेशम चौधरी फरार भए पनि लक्ष्मण थारु भने २०७२ साल भदौ २२ गते भैरहवाबाट पक्राउ परेका थिए ।
आफू अन्यायमा परेको भन्दै उनले सम्मानित अदालतले न्याय दिनेमा आशावादी रहेको बताए ।
टीकापुर हत्याकाण्डको विषयमा फोरम लोकतान्त्रिकले खुलेर नबोलेको र आफूहरुको अवस्था के कस्तो छ भनेर सामान्य सोधपुछसमेत नगरेको गुनासो गर्दै उनले पार्टी अध्यक्ष गच्छदारले सत्ताको बार्गेनिङ गर्नुबाहेक अरु कुनै काम नगरेको आरोप लगाए ।
आफू जेलमा रहे पनि शान्तिपूर्ण थरुहट आन्दोलनले सफलता पाउनेमा दुई मत नरहेको उनले बताए ।
विगतमा प्रखर वक्ताको रुपमा समेत चिनिएका थारु माओवादी परित्याग गरी विजय कुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । सुदूरपश्चिम क्षेत्रमा पछिल्लोपटक सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष भएका रेशम चौधरी र लक्ष्मण थारुले अलग-अलग पार्टीबाट थरुहट प्रदेशको माग गर्दै आन्दोलनलाई चर्काएका थिए ।
टीकापुर हत्याकाण्डमा संलग्न भएको आरोपमा धनगढी कारागारमा लक्ष्मण थारुसँगै २२ जना रहेका छन् ।
– दीपक शर्माबाट
प्रतिक्रिया 4