Comments Add Comment

संसदको अवरोध निर्वाचन रोक्ने कदमः प्रधानमन्त्री

prachand-at-dhading-festival

७ पुस, धादिङबेसी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानुपर्ने बेला एमाले लगायतका प्रतिपक्षी दलले संसद अवरुद्ध गरेर अलोकतान्त्रिक कदम चालेको बताएका छन् । संसद अवरुद्ध गरेर एमालेले निर्वाचन रोक्ने प्रयास गरेको उनले दाबी गरे ।

बिहीबार पाँचौ धादिङ महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्ना बिमतिहरुलाई संसदीय मान्यता भित्रैबाट संसदमा राख्न उनले सुझाव दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधान संशोधन, महाअभियोग, निर्वाचन विधेयक संसदमा दर्ता भएका छन् । यस्तो बेला प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गर्नु अलोकतान्त्रिक कदम हो । संसदीय प्रणालीमा विश्वास गर्ने पार्टीले आफ्ना बिमतिहरु संसदीय प्रक्रियाभित्रैबाट राख्नुपर्छ । संसद अवरुद्ध गरेर एमालेले निर्वाचन रोक्ने प्रयास गर्दैछ ।’

संविधान संशोधन प्रस्ताव कांग्रेस-एमालेको एजेण्डा भएको बताउँदै प्रधानमन्त्रीले त्यसलाई मध्यमार्गी प्रस्तावको रुपमा अहिलेको सरकारले ल्याएको बताए । तर अहिले एमाले लगायत दलले देश विखण्डन गर्न संशोधन प्रस्ताव ल्याएको भनेर गलत प्रचार गरिरहेको उनले आरोप लगाए ।

‘प्रतिपक्षी दलका साथीहरु संविधान संशोधन प्रस्तावले देशै बिखण्डन गर्छ भन्ने जसरी कुप्रचार गर्नुभएको छ । अहिले संसदमा दर्ता भएको प्रस्ताव माओवादीको प्रस्ताव होइन, विगतमा कांग्रेस र एमालेले संयुक्त रुपमा अघि सारेको प्रस्ताव हो,’ उनले भने, ‘अहिले राजनीतिक निकासका लागि मध्यमार्गी प्रस्तावका रुपमा सरकारले त्यही विषयलाई अघि सारेको छ । आफूले अघि सार्दा त्यही प्रस्ताव राष्ट्रवादी र अरुले सार्दा राष्ट्रघाती कसरी हुन्छ ? यो जनतालाई भ्रमित पार्ने र राष्ट्रिय एकता भाँड्ने कुतर्क मात्र हो ।’

प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले चार महिनाको अवधिभित्रै धेरै महत्वपूर्ण काम गरेको दाबी समेत गरे । उनले जनताको जीबनस्तर उकास्न नयाँ कार्यक्रम ल्याउने घोषणा पनि गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले राष्ट्रिय गौरवका आयोजनाहरुको निरन्तर निरीक्षण गरिरहेको छु । मेरो अनुगमनपछि धेरै आयोजनाहरुको प्रगति उत्साहवर्द्धक छ । पुनर्निर्माण, वैदेशिक रोजगारमा गएका नेपालीलाई राहत, जनता पेन्सन, गरीबका लागि सरकार कार्यक्रममार्फत् जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने प्रयास गरिएको छ । सरकारले जनताको जीवन उकास्न नयाँ कार्यक्रमसहित प्रस्तुत हुने तयारी गर्दैछ ।’

यसैबीच प्रधानमन्त्री प्रचण्डले जनताले प्रत्यक्ष राहतको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न धादिङ जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशनसमेत दिएका छन् ।

पाँचौं धादिङ महोत्सव उदघाटन गर्न धादिङबेसी आएका प्रधानमन्त्रीले जिल्लास्थित सरकारी कार्यालयका प्रमूखहरुलाई सामूहिक निर्देशन दिँदै भने, ‘जनताले परिणामको अपेक्षा गरेका छन् । सुशासनको प्रत्याभूति गराउनु सरकारको कर्तव्य हो । पूँजीगत खर्चको स्तर अहिले पनि न्यून छ । त्यसैले तपाईहरुले जिल्लाको पूँजीगत खर्च बढाउने, विकासका काम समयमै सम्पन्न गर्ने र जनतालाई सुशासन दिने गरी काम गर्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment