Comments Add Comment

शारदाका संघर्ष- जुठा भाँडा माझिन्, तर माग्दै हिँडिनन्

sharada-khatri

१२ पुस, गोरखा । शारिरीक र मानसिकरुपमा सबल भएका कतिपय व्यक्तिहरु आर्थिक संकट परेको भन्दै माग्दै हिँड्छन् । त्यस्ता व्यक्तिहरुका लागि गोरखाकी शारदा खत्रीको संघर्षको कथा प्रेरणाको स्रोत बन्न सक्छ ।

पालुङटार नगरपालिका-१३ आँपपिपलकी शारदा खत्री २५ वर्ष नपुग्दै श्रीमानले उनलाई सदाका लागि छाडेर गए । श्रीमानको मृत्युपश्चात उनलाई आफ्नो परिवार पाल्न निकै धौ-धौ पर्‍यो । उनलाई आफ्नो घर समेत बेच्नु पर्‍यो तर कहिल्यै हरेस खाइनन् ।

‘बल्ल-बल्ल एउटा सानो घर बनाएको थिएँ । पैसा नभएर त्यो पनि बेच्नु पर्‍यो,’ उनले भनिन्, ‘श्रीमान् बित्दा ठूलो छोरा ९ वर्ष र कान्छो सात वर्षको थियो । उनीहरुको पढाइ खर्च र लालनपोषण गर्न निकै समस्या भयो ।’

‘श्रीमान इण्डियामा काम गर्नुहुन्थ्यो, तर राति राम्रै सुत्नु भएको उहाँ बिहान उठ्दा मृत अवस्थामा भेटिनुभयो,’ गहभरी आँसु पार्दै उनले विगतका दिन स्मरण गरिन् ।

श्रीमान बितेको पनि अहिले १५ बर्ष भयो । उनी अहिले ४० बर्ष पुगिन् । उनका संघर्षका दिनहरु थपिदै गएँ । खत्रीले होटलमा जुठा भाँडा मोलेर जसोतसो घर खर्च धान्न थालिन् । उनको दुखेसो पोख्ने ठाउँ पनि कहिँ भएन ।

उनले भनिन्, ‘कसलाई दुखेसो पोख्नु, सबैले बलेको आगो त ताप्छन् नी, सहयोग गर्नुको सट्टा कुरा काट्ने धेरै छन् ।’

रकम अभाव भएपछि ठूलो छोरा आठ कक्षामा पढ्दापढ्दै बिदेशिन बाध्य भए । ‘ठूलो छोरा १५ वर्षको थियो, घर खर्च जुटाउन गाह्रो भएपछि ऋण गरेर उसलाई कतार पठाएँ,’ खत्रीले भनिन् ।

एकल महिला हुनुको पीडासँग पौठेजोरी खेल्दै उनले गाउँमै सानोतिनो होटल चलाएर परिवार पाल्न थालिन् । परिवार पाल्नका लागि रातको १२-१ बजेसम्म पनि जुठा भाँडा माझेकी उनलाई दुःखका दिन पनि अब सामान्य जस्तै लाग्न थालेको छ । उनी भन्छिन्, ‘दुःख त कति भोगें-भोगें, अब त दुःख पनि केही जस्तो लाग्दैन ।’

श्रीमान बितेपछि गाउँलेहरुले पनि कुरा काट्न थालेको उनले स्मरण गरिन् । एकल महिला भएका कारण पसलमा पुरुष ग्राहक आए भने गाउँलेले शंकाले हेर्ने गरेको उनी बताउँछिन् । कति दिन आफू भोकै बसेर पनि बालबच्चालाई पालनपोषण गरेको उनले स्मरण गरिन् ।

उनले होटल व्यवसाय गरेको पनि दश वर्ष बित्यो । पहिलाको तुलनामा अहिले परिवार पाल्न केही सहज भएको उनी बताउँछिन् । आर्थिक हिसावले पनि उनी सन्तुष्ट छिन् । अहिले माइलो छोरा चितवनमा १२ कक्षामा अध्यनरत छ । छोराले सानो तिनो जागिर पनि खाएको उनले बताइन् । त्यस्तै कान्छो छोरा काठमाडौंमा स्नातक तहमा अध्यनरत छन् ।

‘ठूलो छोराले पाइलट पढ्छु भन्थ्यो, माइलोले इन्जिनियर बन्छु भन्थ्यो तर पैसा नभएर पढाउन सकिएन,’ उनले भनिन् । होटलबाट मासिक दशदेखि १५ हजारसम्म नाफा हुने गरेको उनको भनाइ छ ।

उनले भनिन्, ‘म माग्दै हिँडिन, रोयरमात्रै पनि बसिन । सबैभन्दा ठूलो कुरा हिम्मत हो । हिम्मत भएपछि सबै समस्या समाधान गर्न सकिन्छ ।

-बिकास मरहट्टाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment