Comments Add Comment

अन्तरबैंक व्याज दर ४.७१ सम्म, माघदेखि कर्जाको व्याज १ प्रतिशत बढ्ने सम्भावना

nrb-810१३ पुस, काठमाडौं । बैंकहरुले एक आपससँग सापट लिने कर्जा (अन्तर बैंक ) को व्याजदर १.९७ देखि ४.७१ प्रतिशतसम्म पुगेको छ ।

मंगलवारसम्ममा बिकास बैंकहरुले अन्तर बैंक कर्जामा ४.७१ प्रतिशतसम्म र वाणिज्य बैंकहरुले १.९७ प्रतिशतसम्म व्याज दर तिरीरहेका छन् । पुँजी अभावमा बैंकहरुले एकअर्कासँग सापटमा यस्तो कर्जा लिने गरेपनि यो पुँजी ग्राहकहरुले लिने कर्जा लगानीको लागि भने प्रयोग हुँदैन् । ‘यस्तो कर्जा लिने मुख्य उदेश्य भनेको राष्ट्र बैंकले तोकेको नगद मौज्दात अनुपात (सीआरआर) मिलानको लागि मात्र हुन्छ,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेश्वर ढुंगानाले भने । तर राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डित भने निक्षेप र कोर पुँजीको तुलनामा कर्जा अनुपात (सीसीडी रेसियो) तोकिएको ८० प्रतिशतभन्दा निकै कम रहेकाले यसरी पनि कर्जा उठाएर अल्पकालिन लगानी गर्न सक्ने अवस्था हुने बताउछन् ।

बैंक तथा वित्तीय संस्थाले वर्गअनुसार राष्ट्र बैंकमा कुल निक्षेपको ४ देखि ६ प्रतिशतसम्म रकम राखेर नगद मौज्दात अनुपात कायम गर्नुपर्छ । अन्तर बैंकमा लिने कर्जा यस्तो अनुपात कायम राख्न मात्र प्रयोग गरिने चलन छ । अहिले बजारमा लगानी योग्य रकम अभाव भएकाले पनि बैंकहरुले अन्तरबैंक कर्जा बढाएर सीआरआर मेनटेन गर्ने र आफुसँग भएको पुँजी लगानी गर्ने गरिरहेका छन् । यता, बैंकहरुले कर्जा लगानी गर्नुअघि सीसीडी रेसियो पनि कायम गर्नुपर्छ । राष्ट्र बैंकले तोके अनुसार यो रेसियो पुगेकोले बैंकहरुमा लगानी योग्य पुँजीको अभाव भएको बैंकहरुले बताइरहेका छन् ।

‘हामीहरुसँग पुँजी नभएको होइन, हामी अहिले पनि राष्ट्र बैंकले बजारबाट पैसा उठाउन प्रयोग गरिरहेको उपकरणहरुमा लगानी गरिरहेका छौं, तर समस्या लगानी योग्य पुँजी नभएर आएको हो,’ ढुंगानाले स्पष्ट पारे । सीसीडी रेसियो कायम गरेपछि बैंकहरुसँग थप २० प्रतिशत पुँजी रहन्छ । यो पुँजी कर्जा लगानीको लागि प्रयोग गर्न पाइदैन् तर राष्ट्र बैंकले जारी गर्ने बिभिन्न उपकरण खरिदमा प्रयोग गर्न सकिन्छ ।

बजारबाट पुँजी उठाइरहेको राष्ट्र बैंकले तरलता संकट निम्त्याएको हो ?

बजारमा तरलता अभाव भइरहेको समयमा पनि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरिरहेको (प्रणालीबाट रकम खिचिरहेको) छ । तर यही कारण बजारमा लगानी योग्य रकम नघटेको बैंकरहरु बताउछन् । ‘हामीले बुधबार नै पनि ७९—८० करोड रुपैयाँ लगानी गरेका छौं, हामीसँग कर्जा लगानी गर्न पाउँने अधिकक्तम सीमासम्म प्रयोग गरेर बाँकी रहने २० प्रतिशत पुँजीबाट लगानी गरेका हौं,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले उल्लेख गरे ।
कर्जा लगानी योग्य रकम रहेरपनि लगानी क्षेत्र नपाएका संस्थाले पनि यस्ता उपकरणमा लगानी गर्ने सम्भावना भने रहन्छ । तर, बजारमा तरलता संकट भइरहेको समयमा कर्जा लगानी गर्ने पुँजी भने यस्तोमा लगानी नहुने बैंकरहरुको दाबी छ । रिभर्स रिपोमा बैंकहरुको सहभागिता ४/५ हाराहारीमा सिमित हुनुले पनि यसलाई प्रष्ट्याउछ ।  बैंकहरुले रिभर्स रिपोमा १ प्रतिशत पनि व्याज पाएका छैनन् ।

माघमा बढ्न सक्छ कर्जाको व्याज दर

बैंकर ज्ञानेन्द्र ढुंगाना माघपछि भने कर्जाहरुको व्याजदरमा १ प्रतिशतसम्म वृद्धि हुन सक्ने बताउछन् । ‘निक्षेपको व्याज दर बढेको करिब डेढ महिना भइसकेको छ, माघपछि भने कर्जाको व्याजदर पनि १ प्रतिशतसम्म बढ्ने सम्भावना छ,’ उनले भने । पुस मसान्तमा अग्रिम कर तिर्ने समय हुँदा बैंकिङ प्रणलीमा पनि केही रकम भित्रने र माघदेखि सरकारी खर्च पनि बढ्नसक्ने भएकोले तरलताको समस्या ठुलो नहुने उनको भनाई छ । यद्यपी निक्षेपको लागत बढेकोले माघपछि १ प्रतिशतसम्म कर्जाको व्याजदर बढ्ने अनुमान उनले गरेका छन् ।

कति पुग्यो निक्षेपको व्याज दर ?
पछिल्लो समय बैंकहरुले मुद्धती निक्षेपमा ८ देखि ९ प्रतिशतसम्म व्याज दिने सुचना जारी गरेका छन् । तर बजारमा भने निक्षेपको व्याजदर ११ देखि १२ प्रतिशतसम्म पुगेको चर्चा सुरु भएको छ ।  ‘सामान्यतया मुद्धती निक्षेपको खाताको व्याजदर एक पटक तोकिएपछि केही अवधिसम्म त्यही रहन्छ, तर बोलकबोलबाट लिने निक्षेपको हकमा भने यही नै भन्ने हुँदैन्,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने । संस्थागत निक्षेप (सेनाहरुको कोष, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बीमा समिति लगायतले राख्ने निक्षेप)मा बैंकहरुले बोलकबोल मार्फत् व्याजदरमा प्रतिस्पर्धा गर्छन् । अहिले बजारमा यस्तो निक्षेपमा बैंकहरुले व्याजदर १२ प्रतिशतसम्म दिन थालेको चर्चा सुनिन थालेको छ । तर राष्ट्र बैंक भने यसलाई स्वीकार गर्न तयार छैन् ।

‘पेट्रोल, सुनको जस्तो दिनानुदिन निक्षेपको व्याजदर बढ्ने भन्ने हुदैन्,’ राष्ट्र बैंकका सहप्रवक्ता पण्डितले उल्लेख गरे । बैंकर ढुंगाना र दाहाल पनि संस्थागत निक्षेपमा बैंकहरुले ११ प्रतिशतसम्म व्याजदर तिरिरहेको जानकारी आफुहरुलाई भएको तर त्योभन्दा बढि पुगेको बारे थाहा नभएको बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment