
१५ पुस, काठमाडौं । चीनको दक्षिण-पश्चिमी क्षेत्रमा ५६५ मिटर (१८५४ फिट) उचाईमा निर्माण भएको पुल बिहिबारबाट सञ्चालनमा आएको छ । यसलाई विश्वमै सबैभन्दा उचाईमा रहेको पुलका रुपमा चिनियाँ सञ्चारमाध्यमले प्रचार गरेका छन् ।
चीनको पिपुल्स डेली अनलाइनका अनुसार एक अर्ब दुई करोड युआनको लागतमा बेइपान्जियाङ पुल निर्माण भएको हो । यसअघि चीनकै सिदु नदीमाथि ५६० मिटर उचाईमा रहेको पुल विश्वको अग्लो पुलका रुपमा रहेकोमा नयाँ पुलले त्यसलाई उछिनेको सो अनलाइनले जनाएको छ ।

चार लेनको संरचनामा बनेको १ हजार ३ सय ४० मिटर लम्बाईको नवनिर्मित पुलले चीनका सर्वाधिक दुर्गम दुई प्रान्तहरु युन्नान र गुइझोइलाई जोड्छ ।
तीन वर्ष लगाएर निर्माण पुरा गरिएको पुललाई गत सेप्टेम्बर १० मा इन्जिनियरहरुले अन्तिम रुप दिएका थिए । र, बेइपान नदीको नामबाट पुलको नामाकरण गरिएको हो । दक्षिणी चीनको हाङझोउ शहरलाई चीन-म्यानमार सिमा क्षेत्रको रुइली शहरसँग जोड्ने ३ हजार चार सय ५ किलोमिटर लामो मोटरबाटोमा पुल निर्माण भएको छ । पुलको चौडाई ७ सय २० मिटर रहेको छ ।

यस महत्वाकांक्षी पुलको निर्माण सम्पन्न भएसँगै विश्वका १० वटा सर्वाधिक उचाईका पुलमध्ये आठ वटा चीनले ओगटेको छ । ती आठवटै पुलहरु चीनको दुर्गम पर्वतीय प्रान्तहरुमा अवस्थित छन् ।

टप टेनमा रहेका अन्य दुई पुलहरु पपुवा न्युगिनी र मेक्सिकोमा रहेको हाइयस्टब्रिज डट कमले जनाएको छ । चीनमा अर्को एउटा पुल पनि निर्माणाधिन अवस्थामा छ जसले विश्वकै दोस्रो अग्लो पुलको स्थान कब्जा गर्ने बताइएको छ । जिन्साङजियाङ ब्रिज नामको यो पुलको काम प्रारम्भिक अवस्थामा छ र सन् २०२१ मा सम्पन्न हुने अनुमान गरिएको छ ।
यो पुल चीनको युन्नान प्रान्तमा रहेको जिन्सा नदीमाथि अवस्थित हुनेछ ।
यी हुन् विश्वका १० अग्ला पुलहरु
१. बेइपान्जियाङ ब्रिज, चीन- १,८५४ फिट (२०१६)
२. जिन्साजियाङ ब्रिज चीन- १,६८० फिट (२०२१)
३. सिदु रिभर ब्रिज, चीन- १,६२७ फिट (२००९)
४. पुली ब्रिज, चीन- १,५९१ फिट (२०१५)
५. याची ब्रिज, चीन- १,४४४ फिट (२०१६)
६. किङसुइहे ब्रिज, चीन- १,३३२ फिट (२०१६)
७. हेगिगिओ गोर्ग पाइपलाइन ब्रिज, पपुवान्युगिनी- १,५४२ फिट (२००५)
८. बालुर्ते ब्रिज, मेक्सिको- १,२८० फिट (२०१३)
९. बालिङ्हे ब्रिज, चीन- १,२१४ फिट (२००९)
१०. बेइपानजियाङ ब्रिज गुआनसिङ, चीन- १,२०० फिट (२००३)
प्रतिक्रिया 4