१५ पुस, काठमाडौं । सातौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष क्रिकेटको स्वर्ण सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।
शुक्रबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मीलाई ४९ रनले पराजित गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर १२१ रन बनायो । उसका लागि कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए भने भुवन कार्कीले अविजित २४ रनको योगदान दिए । पृथु वास्कोटाले १२ रन जोड्दा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
आर्मीका सोमपाल कामी, बिक्रम सोम र चन्द्र साउदले समान २-२ विकेट लिए ।
जवाफमा मैदान उत्रिएको आर्मीले १७.४ ओभरमा ७२ रन बनाउँदा सबै विकेट गुमायो । आर्मीका नरेश बुढायरले १७ रन जोडे पनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
आर्मीलाई सस्तैमा समेट्ने क्रममा भुवन कार्कीले ४ ओभरमा मात्र ११ रन दिएर ४ विकेट लिए । शक्ति गौचन र यज्ञमान कुमालले २/२ विकेट लिए भने करण केसी र बसन्त रेग्मीले १-१ विकेट लिए ।
प्रतिक्रिया 4