Comments Add Comment

अब पोखरा पुग्ने सडक पनि चार लेनको बनाइने

pokhara-muglin-road

१९ पुस, काठमाडौं । सरकारले अब पोखरासम्म पुग्ने सडकलाई पनि फराकिलो बनाउने भएको छ ।

सडक विभागले अहिले पृथ्वी राजमार्ग अन्तरगत मुग्लिन-नारायणगढ सडकखण्डलाई चार लेनको बनाउन प्रक्रिया सुरु गरेको छ ।

र, एसियाली विकास बैंकको सहयोग आउने भएपछि मुग्लीन-पोखराको झण्डै ९३ किलोमिटर सडक विस्तारको विस्तृत डिजाइनिङ थालिएको विभागले जनाएको छ । क्यानेडियन कम्पनी एमएमएम ग्रुपले मुग्लिन-पोखरा सडकको डिजाइनिङको जिम्मा पाएको छ र, उसले फिल्डमै पुगेर सडकको अवस्था हेरेर डिजाइन तयार गर्नेछ ।

एडिबीको ‘नेक्स्ट’ प्रोजेक्ट

मुग्लिन-पोखरा सडकखण्ड विस्तारका लागि एडिबीले सहुलियत ब्याजदरमा ऋण दिने सैद्धान्तिक सहमति जनाएको छ ।

तर, ऋण सम्झौता भने भएको छैन । ‘नेक्स्ट’ प्रोजेक्टका रुपमा पोखरा पुग्ने सडकलाई स्तरउन्नति गर्न ऋण दिन एडिबी तयार रहेको सडक विभागका एक उच्च अधिकारीले बताए ।

उनका अनुसार केही समयभित्रै यो खण्ड विस्तारको मोडल तयार हुनेछ । भौगोलिक अवस्थालाई मध्यनजर गरेर यो सडकको डिजाइन हुने विभाग स्रोत बताउँछ । ‘यो सडक बन्ने क्षेत्रको भौगोलिक, वातावरणीय र पर्यावरणीय अवस्थाअनुसार सडकको डिजाइन हुनेछ’ विभागका अधिकारीले भने ।

कस्तो बन्ला सडक ?

विस्तार भएपछि अन्य डिभाइडरको दुईतर्फ सडक ७-७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ ।

डिजाइनबाट नै यो सडकखण्ड कस्तो बन्ने भन्ने टुंगो लाग्ने भएकाले निर्माण मोडेलसहितका विषय केही समय पछि भन्न सकिने सडक विभागका अधिकारीहरु बताउँछन् । तर, सडक चार लेनको भएपनि बीचमा ग्रीनरीका लागि ‘मिडियम’ नराख्ने प्रारम्भिक तयारी छ ।

सडकलाई आधुनिक प्रविधिबाटै निर्माण गर्ने योजना छ । साथै यो खण्ड विस्तारका लागि कति लागत लाग्छ भन्ने टुंगिएको छैन । डिजाइन सकिएपछि लागतबारे पनि अनुमान गर्न सकिने विभागका अधिकारी बताउँछन् ।

‘अन्तर्राष्ट्रिय विमानस्थललाई सहयोगी’

सडकखण्ड विस्तारपछि पोखराको महत्व झनै बढ्नेछ । त्यहाँ पुग्ने आन्तरिक तथा विदेशी पर्यटकलाई सडक यात्रा सहज हुनेछ । साथै पोखरामा बन्न लागेको बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थललाई पनि यो सहयोगी हुनेछ भने यातायात सञ्जाल थप मजबुत र स्तरीय हुने विभागका अधिकारी बताउँछन् ।

विभागले निकट भविष्यमै बुटवल-नारायणगढ सडकखण्ड पनि ४ लनेको बनाउँदैछ । नारायणगढ-मुग्लिन सडक पनि विस्तारको लागि काम भइरहेको छ ।

मुख्य राजमार्ग फराकिलो पार्ने योजना अब पोखरासम्म पुग्न लागेको हो । यसले भारतबाट आउने पर्यटकलाई पनि पोखरा पुग्न निकै सहज हुनेछ ।

सवेदनशील क्षेत्रका सडक दुई लेनकै

आबुखैरहनी क्षेत्रमा पर्ने मर्स्याङ्दी जलविद्युत आयोजना क्षेत्रको सडक भने विस्तार गरिने छैन । पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेको विभागको ठहर छ ।

यो क्षेत्रका सडक स्तरीकरण मात्रै गरिनेछ । आयोजनालाई प्रभाव पर्ने गरी सडक विस्तार नहुने विभागले जनाएको छ । यो खण्डका मुख्य बस्ती र शहरी क्षेत्रमा पनि सर्भिस लेन राखिनेछ । सर्भिस लेन भन्नाले सार्वजनिक सवारीले यात्रु ओराल्न/उकाल्न प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो ।

जसले यात्रुलाई मात्रै सहज हुने नै छ, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment