Comments Add Comment

जुम्लाको चन्दननाथ मन्दिरबाट हराएका केही मूर्ति भेटिए

chandan-nath-temple-jumla

१९ पुस, जुम्ला । जुम्लाको चन्दननाथ मन्दिरबाट हराएका केही मूर्तिहरु एक महिनापछि भेटिएका छन् । कर्णाली अञ्चलकै प्रशिद्ध चन्दननाथ मन्दिरबाट गत मंसिर ११ गते राति २१ वटा मूर्तिहरु चोरी भएका थिए ।

तर, चाँदीको दत्तात्रयको मूर्तिबाहेक अरु सबै मूर्तिहरु भेटिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले अनलाइनखबरलाई जानकारी दिए । भेटिएकामध्ये दुईवटा शंखसमेत छन् ।

पण्डितले अनलाइनखबरसँग भने, ‘देपाल गाउँको खोलामा मूर्तिहरु भेटिएका छन् । दत्तात्रयको मूर्ति भने भेटिएको छैन, त्यसको खोजी जारी छ ।’

चोरी भएको दत्तात्रयको मूर्तिको शिरमा सुनको मुकुट र अन्य भाग चाँदीले बनेको थियो । मुख्य मन्दिरको पादुकाको अघि कमलको आसन बनाएर १२ धार्नी तौल भएको दत्तात्रेयको मूर्ति राखिएको थियो । सो मूर्तिसहित सुन र चाँदीले बनेको १८ हात भएको भगवतीको मूर्ति, तामा-पित्तलले बनेको बुद्धको मूर्ति र अन्य मिश्रति धातुले बनेको कृष्ण, विष्णु, गोपाल, अप्सरालगायतका देवी देवताका मूर्तिहरु चोरी भएका थिए ।

मूर्ति चोरी भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)को टोली जुम्लामै पुगेर अनुसन्धान थालेको थियो ।

मूर्ति भेटिएको स्थान जुम्ला सदरमुकामबाट करिब तीन घण्टाको पैदल दुरीमा पर्दछ । स्थानीय महिलाले खेत र खोलामा मूर्ति देखेपछि प्रहरीसम्म खबर पुर्‍याइएको थियो । त्यसलगत्तै प्रमुख जिल्ला अधिकारी पण्डितसहित प्रहरीको थप टोली देपाल गाउँ पुगेको थियो ।

मूर्तिलाई सदरमुकाम ल्याउने तयारी भइरहेको छ । मूर्तिको पखाईमा चन्दननाथ मन्दिर अगाडि भक्तजनहरुको घुइँचो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment