
१९ पुस, झापा । पुस-माघको ठण्डी याममा हिलोआली गरेर धान रोपेको सुन्दा नेपाली किसानलाई निकै अनौठो लाग्न सक्छ ।
मंगलबार झापामा प्रधानमन्त्री प्रचण्डले धान रोपेको सुनेपछि धेरैले यस्तै प्रश्न गरे- पुसमा पनि कहीँ धान रोपिन्छ र ? यो के नाटक गरेको हो ?
तर, यो कुनै नाटक होइन । अब नेपालमा पुस-माघको जाडोमा रोपाइँ गरेर फागुन-चैतमा धानको भात खान पाइने नयाँ बिऊ भित्रिएको छ ।
बंगलादेशबाट नेपालमा भित्रिएको यो धानलाई ‘बोरो राइस’ भनिन्छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार बनियानीमा यही ‘बोरो राइस’ जातको धान रोपेका हुन् ।
झापामा घोषित ‘सुपरजोन’ परियोजनाका इकाइ प्रमुख मेघनाथ तिमल्सिनाका अनुसार बोरो जातको धानको बेर्ना १५ दिनमा तयार हुन्छ । १५ दिनमा रोप्नका लागि तयार हुने यो धान रोपेको १०५ दिनमा पाक्छ ।
एकबाली फल्ने खेतमा तीनबाली फलाउन सकिने
अहिलेसम्म एक बाली वा दुई बालीमात्रै धान रोपिँदै आएको झापा- मोरङमा अचेल पुस-माघमा समेत धान रोप्ने प्रविधि र बिऊ भित्रिन थालेको किसानहरु बताउँछन् ।
झापाको गौरादहमा ५४ परिवारको जग्गा एकीकृत गरेर ५३ हेक्टरमा सामुहिक खेती गर्दै आएका अगुवा किसान वेदनिधि चापागाईले अनलाइनखबरसँग भने- ‘बंगलादेशमा वर्षमा तीनचोटि धान रोपिँदोरहेछ, मोरङको रंगेलीमा केही किसानहरुले अहिले पुस महिनामा धान रोप्न हिलोआली गरेका छन् । ‘बोरो राइस’ प्रजातिको धान जाडो याममा फल्दोरहेछ ।’
झापा जिल्ला धान खेतीका लागि प्रख्यात भए पनि यहाँका किसानहरुले प्रायः एक बालीमात्रै धान लगाउने गरेका छन् । असार साउनमा धान रोप्ने र कात्तिक मंसिरमा बाली उठाउने गरिँदै आएको छ । बाँकी समय झापामा अधिकांश खेत बाँझै रहन्छ भने केही ठाउँमा गहूँ, मकै र दलहन लगाउने गरिएको छ ।
सिंचाइँ सुविधा पुगेका कतिपय ठाउँमा चाँहि चैते धान रोप्ने चलन भए पनि झापामा अहिलेसम्म प्रायः एकबालीमात्रै धान रोपिने गरेको चापागाईले अनलाइनखबरलाई बताए ।
जग्गा प्लटिङ गर्ने प्रचलनको उल्टो यतिबेला झापामा सामुहिक खेती फस्टाउन थालेको छ । गौरादहका ५४ परिवार किसानले मेसिनको प्रयोगबाट सामुहिक खेती सुरु गरेका छन् ।
तर, यसरी मेसिनको प्रयोग गर्दा रोपाहार र बाउसे नचाहिने भएकाले बेरोजगारी बढेको त्यहाँका किसानहरुको अनुभव छ ।
चापागाई भन्छन्- ‘मेसिनले धान रोप्न थालेपछि हामी ५४ परिवारका मानिसहरु कामविहीन भयौं ।’
उनका अनुसार ५३ हेक्टरमा सामुहिक खेती गर्न थालिएपछि सरकारले यसलाई धानको कृषि ब्लक घोषणा गर्ने आश्वासन दिएको छ ।
यो पनि पढ्नुहोस्
पुसको ठण्डीमा धान रोप्दै प्रचण्डले भने- अब आर्थिक क्रान्तिको पालो आयो (भिडियोसहित)
प्रतिक्रिया 4