Comments Add Comment

सुशील ज्ञवाली किन हटाइए ? अब कसको पालो ?

sushil-gyawali-6
सुशील ज्ञवाली

२१ पुस, काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले पदबाट बर्खास्त गरेको छ । अब यो प्रकरणले सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक खिचातानी चर्को हुने लक्षण एमाले अध्यक्ष केपी ओलीले दिइसकेका छन् । सरकारले ज्ञवालीलाई हटाउने निर्णय गरेलगत्तै ओलीले ज्ञवालीको बचाउ गरेका छन् ।

ज्ञवालीले काम गरे कि गरेनन् ?

नेपालमा महाभूकम्प गएको डेढ वर्षभन्दा बढी भइसकेको छ । भूकम्प पीडितहरु जाडोमा कठ्यांग्रिएका समाचारहरु आइराखेकै छन् । यो अवस्थामा भूकम्प पीडितहरुले न्याय पाउन सकेका छन् कि छैनन् भन्नेबारे वास्तविकता बुझ्नका लागि दलका कार्यालय र नेताका घरमा होइन, भूकम्प पीडित बस्तीहरुमा जान जरुरी छ । र, पीडितहरु प्राधिकरणको कामसित सन्तुष्ट छन् भने भन्न सकिन्छ कि ज्ञवालीले भूकम्प पीडितहरुका लागि राम्रो ढंगले काम गरिरहेका थिए ।

जहाँसम्म सरकार र प्रतिपक्षका नेताहरुको कुरा छ, कांग्रेस र माओवादीका नेताहरु प्राधिकरणले काम गर्न नसकेको बताइरहेका छन् । भलै यसको निर्देशक समितिको सदस्य प्रधानमन्त्री आफैं रहने प्रावधान ऐनमा छ ।

प्रतिपक्षी दलका नेता चाँहि सत्तापक्षले प्राधिकरणसँग पैसा मागेको, कार्यकर्ता भर्ती गर्न खोजेको, निकटका संस्थालाई प्रपोजल पार्न खोजेको र अर्थ मन्त्रालयले प्राधिकरणलई बजेट नदिएर असहयोग गरेको जस्ता आरोपहरु लगाइरहेका छन् ।

कांग्रेसले नरुचाएका र एमालेबाट बोकिएका ज्ञवालीका विषयमा यसरी प्रमुख दलहरु भनाभन गर्नु सुन्दर पक्ष होइन । तर, भूकम्प पीडितको पक्षमा काम भएको छ कि छैन भन्ने कुराको मापन चाँहि सिंहदरबार वा धुम्बाराहीबाट होइन, भूमम्प पीडितकै वस्तीमा पुगेर गरियो भने सही निचोडमा पुग्न सजिलो होला ।

सिइओलाई सरकारले हटाउन मिल्छ ?

एमाले अध्यक्ष केपी ओलीले ऐन कानून अनुसार सरकारले हटाउन नमिल्ने भने पनि पुनिर्निर्माण सम्बन्धी ऐनले प्राधिकरणका सिइओको काम गराई चित्तबुझ्दो नभए जुनसुकै बेला हटाउन सक्ने ठाउँ दिएको छ । ऐनको दफा ११ को ३ ले सिइओको पदावधि ५ वर्षको हुने र १ वर्षसम्म थप्न सकिने लेखेको छ । तर, जुनसुकै कुरा लेखिएको भए पनि उनको काम सन्तोषजनक नभएमा सरकारले स्पष्टीकरण सोधेर जुनसुकैबेला हटाउन सक्ने व्यवस्था उपदफा ४ ले गरेको छ ।

ceo
ऐनमा भएको व्यवस्था

तोकेको समयसीमाभित्रै पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञावालीले सरकारलाई आफ्नो स्पष्टीकरण पेश गरेका थिए । तर, सरकारले उनको स्पष्टीकरणमा चित्त बुझाएन ।

गत साता सरकारले प्राधिकरणको काम सन्तोषजनक हुन नसकेको भन्दै किन त्यस्तो भयो भनी सात दिनभित्र जवाफ दिने गरी स्पष्टिकरण सोधेको थियो ।

स्पष्टीकरणमा ज्ञवालीले आफ्नो पाँच बर्षे कार्ययोजना अनुसार काम भैरहेको अवस्थामा स्पष्टीकरण सोध्नुको कारण के हो भन्दै उल्टै मन्त्रिपरिषदलाई डाँटेका थिए ।

ज्ञवालीलाई चिन्नेहरु के भन्छन् ?

ज्ञवालीको कमजोर निर्णय क्षमताले पुनर्निर्माणमा निकै ढिलाइ भएको सत्तापक्षको बुझाइ छ । यही कारणले गर्दा उनीमाथि स्पष्टीकरण सोध्नुपरेको सरकारको तर्क छ ।

सुशील ज्ञवालीसँग विभिन्न कार्यालयमा रहेर काम गरेकाहरुको बुझाईमा ज्ञवाली एक मेहनती इञ्जिनियर हुन् । तर, आजसम्म उनीसँगै काम गरेकाहरुको बुझाइमा उनी ‘फस्ट म्यान’ भन्दा पनि ‘सेकेण्ड म्यान’ भएर काम गर्न फिट हुने व्यक्ति हुन् । यसैले गर्दा प्राधिकरणमा उनको मेहनत देखिए पनि नेतृत्व क्षमता कमजोर देखिएको हो ।

नाम उल्लेख नगर्ने सर्तमा एक पूर्वकर्मचारी भन्छन्- ‘म ज्ञवालीलाई बुटवल नगरपालिकामा इञ्जिनियर रहँदादेखि चिन्छु, अहिलेसम्मको बुझाइमा उनी ‘फस्ट म्यान’ भएर काम गर्न सक्षम व्यक्ति होइनन् ।’

थप ब्याख्या गर्दै उनी भन्छन्, ‘ज्ञवाली जिम्मेवारी पूरा गर्ने सवालमा निकै इमान्दार र मेहनती छन् । तर जिम्मेवारी पूरा गर्न अरुलाई परिचालन गर्नेतर्फ भन्दा पनि उनी आफैँ खटिन्छन् ।’

ज्ञवालीको यही स्वभावले गर्दा प्राधिकरणले सक्षम नेतृत्व नपाएको ती पूर्वकर्मचारीको बुझाइ छ । तर, कामप्रति ज्ञवालीको इमान्दारितामा भने प्रश्न गर्न नमिल्ने धेरैको बुझाइ छ ।

एमालेप्रति बढी नै बफादार

ज्ञवाली जुन दिन प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भए, उनलाई निकै कमले मात्रै चिनेका थिए । त्यसअघि उनी नगर विकास कोषको कार्यकारी निर्देशक थिए ।

ज्ञवाली सुरुदेखि नै एमालेका इमान्दार कार्यकर्ता हुन् । र, उनलाई त्यो ठाउँमा नियुक्त गर्ने पनि एमाले नेतृत्व सरकारले नै हो । यतिसम्म कि उनको नजिकको सहयोगी टीमसमेत एमाले निकट व्यक्तिहरु छन् भने प्राधिकरणमा अधिकांश सरकारी कर्मचारीहरु समेत एमालेसँग आस्था राख्नेहरु परिचालन गरिएको छ ।

उनलाई निकै नजिकबाट चिन्ने एक सहसचिवको बुझाइमा ज्ञवालीको एमालेसँगको अति निकटताले कतिपय ठाउँमा सरकारलाई असहयोग गरेको जस्तो देखिएको छ । यसको प्रभावले पनि उनलाई स्पष्टीकरण सोध्ने वातावरण बनेको हो ।

जानकारहरुका अनुसार एमालेप्रति आवश्यकताभन्दा बढी नै लसपस गर्नु र प्राधिकरणमा अन्य दलहरुको विश्वास जुटाउन नसक्नु ज्ञवालीको कार्यशैलीगत कमजोरी हो ।

कनिष्ठ कर्मचारी

ज्ञवाली कार्यकारी निर्देशक नियुक्त हुँदा धेरैले प्राधिकरणमा कनिष्ठलाई नियुक्त गरेको भन्ने गुनासो गरेका थिए । त्यसपश्चात अहिलेसम्मै सरकारले प्राधिकरणमा स्थायी रुपमा कर्मचारी खटाउन सकेको छैन ।

ज्ञवाली बुटवलमा इञ्जिनियर हुँदा उक्त नगरपालिकाको कार्यकारी अधिकृत रहेका गोपाल पराजुली अहिले उनी रहेको प्राधिकरणमा सहसचिवका रुपमा काम गरिरहेका छन् । कनिष्ठ प्रोफाइलको व्यक्तिलाई उक्त पदमा नियुक्तिका कारणले पनि उनलाई प्रष्टीकरण सोध्ने वातावरण हुन सक्ने कतिपयको बुझाइ छ ।

एमालेकरणको साटो कांग्रेसीकरण

पुष्पकमल दाहाल नेतृत्वको सरकार गठनको एक महिना नवित्दै कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले ज्ञवालीका ठाउँमा नयाँ व्यक्ति ल्याउनुपर्ने प्रस्ताव गरेका थिए । तर, त्यतिबेला यस विषयले मन्त्रिपरिषदमा प्रवेश पाएन ।

त्यसपछि पनि गृहमन्त्री निधीले पटक-पटक ज्ञवालीलाई हटाउन चाहेका थिए । अन्त्यमा नीधिकै जोडबलमा सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको र हटाएको बताइन्छ ।

यसमा एमाले निकट ज्ञवालीलाई हटाएर कांग्रेसले आफ्नो मान्छे नियुक्त गर्न राजनीतिक चाल चालेको एमाले पक्षको बुझाइ छ ।

अब को बन्ला सिइयो ?

Dr.-Govinda-Pokhrel
डा. गोविन्द पोखरेल

सरकारले ज्ञवालीलाई हटाएर कांग्रेसका पराजित केन्द्रीय सदस्य एवं पूर्व सिइओ डा. गोविन्द पोखरेललाई सिइओ बनाउने चर्चा छ । उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी समेत कुशलतापूर्वक सम्हालिसकेका व्यक्ति हुन् । पोखरेल योजना आयोगको उपाध्यक्ष रहँदा भूकम्पपछिको पुनर्निर्माणका लागि दाताहरुको सम्मेलन गरिएको थियो जसमा उनको भूमिका पनि ठूलो थियो ।

तर, एकजना बरिष्ट इञ्जिनियरले अनलाइनखबरसँग भने, ‘सरकारले प्राधिकरणमा काम गर्न सक्ने मानिस ल्याउन खोजेको हो भने तेस्रो विकल्प खोजोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment