२६ पुस, काठमाडौं । अर्थ समितिले पारित गरेको बैङ्क तथा वित्तीय संस्था सम्बन्धि कानूनमा संशोधन र एकिकरण गर्न बनेको विद्येयक आज व्यवस्थापिका संसदमा पेश हुने भएको छ ।
विद्येयक पारित भएमा यो बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको रुपमा आउने छ । विद्येयकले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले एउटै संस्थामा दुई कार्यकालभन्दा बढि बस्न नपाउँने व्यवस्था गरेको छ । यिनीहरुको कार्यकाल ४ वर्षको हुनेछ । यसअघिको संशोधनमा अध्यक्षको कार्यकाल आजीवन रहनसक्ने जस्तो विवास्पद निर्णय गरिएको थियो । संसदमा एक पटक पेश भएर यही विषयमा विवाद भएपनि पुनः संशोधनको लागि अर्थ समिति फिर्ता पठाइएको थियो ।

यता विद्येयकले बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको १० वर्ष पुगेपछि राष्ट्र बैङ्कको स्वीकृतीमा संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न सक्ने व्यवस्था गरेको छ । यो आधारमा बिसं २०६३ सालसम्ममा सञ्चालनमा आएका संस्थाका सञ्चालकहरुले चाहेमा सर्वसाधारणमा सेयर परिवर्तन गर्न सक्ने व्यवस्था रहेको छ ।
राष्ट्र बैंकले गत असारसम्मको आधारमा प्रस्तुत गरेको बैंकहरुको विवरण हेर्ने हो भने संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न योग्य हुने १५ वाणिज्य बैंकबाट मात्रै ३३ अर्ब ४३ करोड रुपैयाँको सेयर परिवर्तन गर्न सकिन्छ । यी वाणिज्य बैंकको असारसम्मको कुल चुक्तापुँजी ६५ अर्ब ५६ करोड रहेको छ ।
त्यस्तै, दर्जन बिकास बैंकबाट पनि १ अर्बभन्दा केही बढि रकम बराबरको संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न सकिने देखिन्छ । वित्त कम्पनीहरुमा (असारसम्मको आधारमा) हेर्दा ३२ कम्पनी पनि संस्थापक सेयर परिवर्तन गर्न लायक भइसकेका छन् । व्यापक मर्जर चलिरहेको हालको अवस्थामा कतिपय बिकास बैंक र वित्त कम्पनी हराउने सम्भावना रहेकोले यी संस्थाहरु सबैबाट संस्थापक सेयर परिवर्तनको सम्भावना भने नहुन सक्छ ।

तर, सेयर परिवर्तन गर्न बाटो खुला भएपनि यस्तो व्यवस्था अनिवार्य नगरिएको र सस्थाहरुले यस्तो निर्णय गरेमा पनि राष्ट्र बैङ्कले स्वीकृत गर्नुपर्ने हुन्छ । यही कारण सबै संस्थाले संस्थापक सेयरको वर्गिकरण खारेज गर्ने सम्भावना न्युन रहेको सरोकारवाला निकायहरु बताउँछन् । तर यो व्यवस्थाले वर्हिगमन चहाने संस्थापकहरुलाई भने सहज बाटो खुला गरिदिएको छ ।
हाल केही कम्पनीबाहेक धेरैको संस्थापक सेयर बजारमा सहजसँग कारोबार हुने गरेको छैन् । अझैपनि साधारणको तुलनामा आधाले सस्तो दरमा यस्ता सेयर किनबेच हुने, खरिदकर्ता खोज्नु पर्ने झण्झट रहदै आएको छ । हुनतः मूल्यमा रहेको यही फरकले पनि सर्वसाधारण वर्गमा सेयर रुपान्तरण भएमा मूल्य थप बढ्ने देखिन्छ । तरपनि संस्थापक सेयर धनीको रुपमा संस्थामा रहदा सजिलोसंग सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सकिने, पकड कायम गर्न सहज हुने र निर्णय बढि प्रभावकारी हुने, संस्थामा कायम अन्य सञ्चालकहरु विरुद्ध जानु परेमा संगठित हुन सजिलो हुने भएकोले ठुला लगानीकर्ताहरु संस्थापकको रुपमा नै रहन रुचाउँछन् ।
लगानीकर्ता आफैले खोज्नु पर्ने भएकोले केही झन्झटिलो हुने भएपनि यही बर्गमा कारोबार गर्दा पुँजीगत लाभकर बचाउन सेयर परिवर्तनमा उनीहरु जान नचाहने गरेको स्रोतहरु बताउछन् । बाहिर नै मोलमोलाई गर्ने र नेप्सेमा मोलमोलाईको भन्दा कम मूल्यमा सेयर किनबेच गरेको देखाउँने भएकोले पनि यस्तो हुने गरेको स्रोतहरु मान्छन् ।
यो ऐच्छिक विषय भएकोले सबैलाई सेयर परिवर्तन गर्न दबाब नपर्ने देखिन्छ । अर्को तर्फ राष्ट्र बैंकको स्वीकृतीमा मात्रै परिवर्तन गर्न पाइने व्यवस्था छ । विश्वमा संस्थापक बिनाको संस्था हुने परिपाटी भएपनि नेपाल राष्ट्र बैंकले सुशासन कायम गर्न देखिने अनुहार चाहिने भन्दै यस्तो व्यवस्था लागु गर्न तयार देखिएको छैन् । त्यसैले सबै सेयर एकै पटक वा संस्थापक सेयरको वर्गिकरण नै नरहने गरी रुपान्तरण गर्न राष्ट्र बैंक तत्पर नहुन सक्छ । सेयर परिर्वतनको कारण बजारमा प्रभाव पर्ने भन्दै अहिले लगानीकर्ताहरु आत्तिए पनि यी कारण बजारमा यो व्यवस्थाको ठुलो प्रभाव नपर्ने देखिन्छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4