
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा सेयर बजारमा लगानी गर्ने सर्वसाधारणको संख्या करिब ७० लाख पुगेको छ र साइबर स्क्यामरहरूको सक्रियता बढेको छ।
- साइबर स्क्यामरहरूले मालवेयर एप र विज्ञापनमार्फत सेयर लगानीकर्तालाई ठग्ने प्रयास गरिरहेका छन् र नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ।
- मंगलबार नेपाल स्टक एक्सचेन्जको नाम प्रयोग गरी २८ लाख १६ हजार रुपैयाँ ठगी भएको उजुरी आएको छ र प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।
२८ साउन, काठमाडौं । धितोपत्र बजारमा सर्वसाधारणको सहभागितासँगै साइबर स्क्यामरहरूको सक्रियता पनि बढेको छ ।
स्क्यामरहरूले मोबाइल एप देखि डेस्कटपसम्मको प्रयोगबाट सेयर लगानीकर्तालाई झुक्याउने र ठग्ने गरेको पाइएको हो ।
पछिल्लो समयमा नेपालको सेयर बजारमा लगानी गर्ने सर्वसाधारणको संख्या करिब ७० लाख पुगेको छ ।
साथै सेयरसाथै सेयर बजारका सन्दर्भमा हरेक चिया पसलदेखि चौतारीसम्म छलफल हुने गरेको अवस्था छ ।
यसलाई अवसरका रुपमा उपयोग गर्दै साइबर स्क्यामरले अवसरमा बदलेर ठगीको नयाँ अपनाएको नेपाल प्रहरीको निष्कर्ष छ ।
सेयर बजारमा रौनक आएसँगै साइबर स्क्यामकरले पनि नयाँ ढाँचामा सर्वसाधारणलाई ठग्ने योजनाअनुसार सेयर बजारका विभिन्न नाम राखेर मालवयर एप तथा विज्ञापनहरु निर्माण गरी इन्टरनेटको दुनियामा सक्रिय भएपछि नेपाल प्रहरी साइबर ब्यूरो तथा अनुसन्धान ब्यूरोले सर्वसाधारणलाई सचेत गर्दै आफ्नो काम अघि बढाएको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले बताए ।
सेयर बजारको विषयमा चर्चामा आएसँगै स्क्यामरहरु मोबाइल एप सेयर कारोबार गर्नेहरुका डेस्कटपहरुलाई टार्गेट गरेर ठगी गर्ने सक्रिय भएको अवस्थीले बताए ।
‘मोबाइल एपमार्फत हुने गरेको ठगीका विषयमा पछिल्लो समयमा अनुसन्धान ब्यूरोका एक उजुरी आएको छ,’ अवस्थीले भने,‘डेस्कटपबाट हुने ठगीका बारेमा पनि साइबर ब्यूरोमा धेरै उजुरी आएका छन ।’
मोबाइल र कम्प्युटका माध्यमबाट विभिन्न मालवेयर पढाउने र प्रलोभनमा पारी ठग्ने गरिएको अवस्थीले बताए ।
‘सेयर कारोबार गर्न सक्नुहुन्छ, पैसा कमाइन्छ, भन्दै मालवेयर सफ्टवेयर इन्स्टल गर्न लाउने र व्यक्तिगत डाटा ह्याक गर्ने र बैंक खाताबाट पैसा ट्रान्सफर गरी ठग्ने गरेका उजुरीहरु आएका छन,’ उनले भने ।
मोबाइल एपका ठगी गर्ने उद्देश्यले ‘एपीके’ उल्लेख भएको कुनै फाइल पठाउने र विन्डोज अपरेटिङ सिस्टममा ‘एक्सटेन्सन डट ईएक्सई’ फर्म्याटको फाइल पठाउने गरेको उनले बताए ।
‘डट इएक्सई’ अर्थात् विन्डोज प्रणालीमार्फत गठी गरेका केसहरु हाम्रोमा थुप्रै छन्,’ उनले भने, ‘एपीकेको पहिलो उजुरी सीआईबीमा आएको रहेछ ।’
यसमा स्क्यामरले विज्ञापन बनाई, ‘स्पोन्सर भएर सेयर कारोबार गर्न सक्नुहुन्छ, भिडियो अनलाइन हेर्न, अनलाइन बस्न सक्नुहुन्छ, ७ बजेदेखि बेलुका ९ बजेसम्म लाइभमा बसी सेयर कारोबारको जानकारी लिन सक्नुहुन्छ’ भन्ने खालका सन्देश सहितको विज्ञापन पढाउने गरेको अवस्थीले जानकारी दिए ।
त्यसका लागि स्क्यामरले पीडितलाई एउटा ल्यापटप अथवा डेस्कटप व्यवस्था गर्न समेत सुझाउने गरेको उनको भनाइ छ ।
‘हाम्रो सफ्टवेयर इन्स्टल गर्नुस् भन्छ । त्यो भनेको मालवेयर हुन्छ । अनि थप जानकारीका लागि हामीलाई च्याट गर्नुस् भन्छ । अनि च्याट गरेपछि त्यो लिंक प्रोभाइड गर्छ । त्यो लिंक जहाँबाट पनि आउन सक्छ । वानड्राइभको लिंक हुन सक्छ, गुगल ड्राइभको अथवा अन्य लिंक कहाँ होस्ट गरेको छ,’ अवस्थाीले भने । स्क्यामरले समय–समय होस्ट गरेका हरेक चिज जस्तो आइपी, ठेगाना परिवर्तन गरिरहने पनि उनले बताए ।
यी केसहरूमा प्रहरीले दुई तरिकाले अनुसन्धान गर्दै आएको उनले बताए । अवस्थीका अनुसार प्राविधिक र म्यानुअल गरेर अनुसन्धान हुन्छ । प्राविधिक पक्षबाट अनुसन्धान गर्दा विज्ञापनहरू कहाँबाट आएको छ भन्ने खोजी गर्ने हो ।
साथै सामाजिक सञ्जालमा आउने उक्त विज्ञापन कसले गरेको भन्ने पनि पत्ता लाग्ने बताउँदै अवस्थीले भने, ‘यो मालवेयरले प्राप्त गरेका डाटा कहाँ पुर्याउँछ भन्ने एउटा दोस्रो हुन्छ । त्यसले मालवयरको होस्ट पत्ता लगाउन मद्दत गर्ने उनको भनाइ छ ।
‘विज्ञापन बनाई र समाजिक सञ्जालमा फिजाउने काम छिमेकी राष्ट्र भारतबाट भएको देखिन्छ, यस सन्दर्भमा मेटाबाट जानकारी माग्दा मालवेयरले सूचना लैजाने भनेको युरोपको कुनै देशलाई देखाएको थियो ।’
साथै स्क्यामरले कम्प्यूटर र मोबाइल ह्याक गरेर बैंक खाताको पैसा ट्रान्सफर गर्ने खाता भने नेपाली बैंकहरूकै हुने गरेको उनले जानकारी दिए ।
‘कुन खातामा पैसा ट्रान्सुफर भयो, त्यो खातामा हेर्ने वा त्यसलाई पछ्याउने काम गरिरहेका छौँ,’ उनले भने ।
यसरी नेपाली बैंक खाता प्रयोग गर्दा खातावालाले स्क्यामरसँग कमिसन लिएर खाता प्रयोग गर्न दिने गरेको समेत उनले खुलाए ।
मंगलबार मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नाम प्रयोग गरी ठगी गरेको उजुरी आएको छ ।
उक्त उजुरीलाई हेर्दा फेसबुक, इन्स्टाग्राम, टिकटकमार्फत नेप्से एआई नामक एप डाउलोड गर्न सुझाएको र उक्त एफ मार्फत सेयर बजारमा कमाउने उपायहरू बताइने प्रलोभन देखाइएको छ ।
सो एपका माध्यमबाट आफ्नो खाताको एक २८ लाख १६ हजार रुपैयाँ अर्कै खातामा सारेर ठगी गरेको उजुरी लिएर एक नागरिक आएपछि यसबारे खुलेको हो ।
‘कुनै एक व्यक्तिले उक्त एप इन्स्टल पनि गरेछन् । एप खोल्ने क्रममा मोवाइलको स्क्रिन अफ भई आफ्नो बैंक खातामा रहेको एक २८ लाख १६ हजार रुपैयाँ उक्त एफको मद्दतमा अन्य बकैं खातामा सारिएपछि पीडितले ब्यूरोमा उजुरी दिएका छन्,’ उनले भने ।
उजुरीलाइ लिएर प्रहरीले आम सर्वसाधारणलाई सचेत गराउँदै आधिकारिक स्रोतबाट आउने एप मात्र राख्न भनेको छ । त्यसैगरी मोबाइल चलाउने क्रममा आउने विज्ञापनमा क्लिक नगर्न समेत प्रहरीले सुझाएको छ ।
अहिलेको लागि एउटा मात्र उजुरी आएको भएपनि यस्ता ठगी गतिविधि अरू पनि भएको हुन सक्ने प्रहरीको बुझाइ छ ।
प्रहरीले उक्त उजुरी उपर आवश्यक अनुसन्धान सुरु गरिसकेको ब्यूरोका प्रवक्ता युवराज खड्काले बताए ।
पछिल्लो समयमा सेयर बजारको चर्चा बढेको हुनाले स्क्यामरले नेप्से शब्दलाई प्रयोग गरेको देखिएको उनले बताए ।
प्रतिक्रिया 4