Comments Add Comment

नेपाली पानीजहाज चलाउने ओलीको सपना कहाँ पुग्यो ? सरकारलाई नै थाहा छैन !

nebi sangh birodh (12)
२९ पुस काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्द र प्रशान्त महासागरमा नेपाली ध्वजावाहक पानी जहाज चलाउने घोषणा गरे । चालु आर्थिक वर्षको बजेटमा पनि यो योजना परेको छ । तर, यो योजना कहाँ पुग्यो अहिलेको सरकारलाई नै थाहा छैन ।

विगतका प्रधानमन्त्री र मन्त्रीका थुप्रै घोषणाहरु जस्तै नेपाली ध्वजावाहक पानी जहाज चलाउने तत्कालीन प्रधानमन्त्री ओलीको घोषणा पनि भाषणमा मात्र सीमित हुने देखिएको छ ।

एकपछि अर्को महत्वाकांक्षी योजना घोषणा गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री ओलीले एमाले निकट महिला संघको कार्यक्रममा नेपालले आफ्नै पानी जहाज चलाउने घोषणा गरेका थिए । उनले भनेका थिए, ‘हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झण्डा गाडेका पानी जहाज चल्छन् ।’

ओली सरकारले नै ल्याएको चालु आर्थिक वर्ष २०७३/७४ को बजेटको ८१ नम्बर बुँदामा हिन्द र प्रशान्त महासागरमा पानी जहाज सञ्चालनको लागि आवश्यक कानुनी तथा संस्थागत तयारी गर्ने भनिएको छ ।

यो घोषणालाई लिएर विरोधीहरुले ओलीको मजाक पनि उडाए । उनको विरोध गर्ने क्रममा कांग्रेससम्वद्ध नेविसंघका कार्यकर्ताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा कागजको पानी जहाज चलाएर व्यंग्य समेत गरेका थिए ।

योजना कहाँ पुग्यो सरकारलाई थाहा छैन

पानी जहाज चलाउने घोषणा गरेको २ महिना बढी ओली नै प्रधानमन्त्री रहे । त्यसपछि प्रचण्डको नेतृत्वमा सरकार बनेको पनि ६ महिना लाग्यो । नेपाली ध्वजावाहक पानी जहाज चलाउने योजनामा यो आठ महिनामा के प्रगति भयो भनेर खोजी गर्दा सिन्को समेत भाँचिएको रहेनछ । बरु सम्वद्ध मन्त्रालय एकअर्कालाई देखाएर पन्छिने गरेका छन् ।

नेपाली पानी जहाज चलाउने योजनामा के प्रगति भएको छ भनेर सोध्दा अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले अनलाइनखबरसँग भने ‘२ देखि ३ करोडसम्म बजेट छुट्टाएको जस्तो लाग्छ । यसका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मा लगाइएको हो ।’

उनीहरु सबैको एउटै जवाफ छ ‘पानी जहाजको कुरो मात्रै चल्या हो काम केही अघि बढ्या छैन ।

यता आफूलाई जिम्मा दिएको बारेमा भौतिक पूवाधार मन्त्रालय बेखबर छ । मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले भने, ‘हामीलाई यो जिम्मा लगाएको जस्तो लाग्दैन । यो वाणिज्यलाई थाहा हुन सक्छ ।’

तर, वाणिज्यको हालत पनि भौतिकको भन्दा फरक रहेनछ । उसले यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भएको अड्कल गर्छ । मन्त्रालयका प्रवक्ता रबिशंकर सैजु भन्छन्, ‘यो हामीलाई जिम्मा दिएको होइन, भौतिकको काम हो ।’

केपी ओली सरकारको पालामै वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई फुटाएर वाणिज्य र आपूर्तिलाई अलग-अलग मन्त्रालय बनाइएको थियो ।

कतै आपूर्ति मन्त्रालयले पो केही गृहकार्य गरिरहेको छ कि ? आपूर्ति मन्त्रालयका प्रवक्ता सुर्यप्रसाद श्रेष्ठले भने, ‘वाणिज्यसंग सम्बन्धित भएका कारण यसको प्रक्रिया अघि बढाउने जिम्मा वाणिज्य मन्त्रालयकै हो ।’

चारवटै मन्त्रालयका प्रवक्तालाई यसको बारेमा केहि पनि थाहा छैन । यसबारेमा के थाहा छ भनेर सोध्दा उनीहरु सबैको एउटै जवाफ छ ‘पानी जहाजको कुरो मात्रै चल्या हो काम केही अघि बढ्या छैन ।’

तत्कालीन प्रधानमन्त्रीको घोषणामा प्रधानमन्त्री तथा मन्त्रिपषिद् कार्यालयले पो केही गरेको छ कि भन्ने पनि लाग्यो र हामीले एक सचिवलाई सोध्दा जवाफ पायौं, हामीलाई त केही थाहा छैन ।’

उल्टै प्रतिप्रश्न गरे, ‘यो कसले हेर्छ रे ?

ओलीको सपनामात्रै

kp-oli-uml

जनताले भारतीय नाकाबन्दी भोगेर स्थिति सामान्य हुँदै गर्दा ओलीले नेपाली ध्वजाबाहक पानी जहाजको सपना बाँडेका थिए ।

भुपरिवेष्ठित राष्ट्र नेपाल कुनै समुद्रसँग जोडिएको छैन । भुपरिवेष्ठित राष्ट्रले समुद्रमा आफ्नो झण्डा राखेर पानीजहाज चलाउन पाउने भएपनि भारतसँग भएको पारबहन सम्झौता बाधक भएको बिज्ञहरु बताउँछन् ।

आफ्नै पानीजहाज सञ्चालन गर्नका लागि पनि भारतसँगको सम्झौता संशोधन गर्नुपर्ने बिज्ञहरुको भनाइ छ । तर, अहिलेको सरकारले यो सम्झौता संशोधन गर्नको लागि कुनै प्रक्रिया अघि बढाएको देखिँदैन ।

उसो त तत्कालीन प्रधानमन्त्री ओलीले सिलिण्डर युगको अन्त्य गरेर घर-घरमा पाइपबाट ग्याँस ल्याउने, हावाबाट विजुली निकाल्ने थुप्रै घोषणा गरेका थिए । त्यसको अवस्था पनि यो भन्दा फरक छैन ।

पञ्चायतकालमा पनि देखाइएको थियो यस्तै सपना

नेपालको पानी जहाजको सपना ओलीले पहिलो पटक देखाएका भने होइनन् । ०२८/२९ सालतिर तत्कालिन सरकारले पानीजहाज किन्नका लागि प्रकृया नै अगाडि बढाएको थियो । पानीजहाज सञ्चालन गर्न रोयल नेपाल सिपिङ कर्पोरेसन नामक संस्था नै खडा गरिएको थियो ।

तर, पञ्चायतकालमा उत्पत्ति भएको यो कम्पनी पञ्चायतसँगै बिलायो । त्यसयता नेपालले पानीजहाज किनेर चलाउने कुनै प्रयास गरेको थिएन । साथै यो कुनै नेताको भाषणको बिषय पनि बनेको थिएन ।

तर, भारतीय नाकाबन्दीपछि एकपछि अर्को ‘अविश्वसनीय’ घोषणा गरेका ओलीले पानी जहाजको सपना पनि देखाए, जतिबेला जनता पेट्रोलियम पदार्थ तथा ग्यासको चरम अभाव भोगिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment