बटुलेर अलिकति साहस
मेरो चश्माको पावर बिग्रिनु अघि
मेरो धिमा मगज निस्क्रिय हुनु अघि
म तिमीलाई एउटा पत्र लेख्दै छु ‘कमरेड‘
पत्रमा
केही अनुरोध, विनय, दुखेसो
र अलिकति आक्रोशको रङ हुनेछ
त्यहाँ प्रशंसाको रस हुनेछैन
ओ कमरेड !
हिजो तिमी कमरेड थियौ
आज मालिक बनेछौ
हिजो हामीले एकै लहरमा बसेर
संघर्षको रोटी खाएका थियौं
आज तिमी सुखको भोजन गर्ने भएछौ
योगदान दिने र दिन लाउनेको अन्तर त हेर
र हेर औकात !
कुनै समय
तिमीलाई सलाम ठोक्ने
यी हात नरहेर के भो
अलिकति साहस त बाँकी छ
तिनै साहसको मसीले कोर्दै छु
अलिकति गुनासो
अलिकति पीडा
र केही चेतावनी
तिमीले रचेको स्वार्थको चक्रब्युहमा
हामी हजारौं गरिब जनता गोटी बन्यौं
र थाप्यौं छातीमा तिम्रो दुश्मनको गोली
त्यो सुनौलो परिवर्तनका लागि थियो
त्यो नयाँ नेपालका लागि थियो
हामीलाई यी नमेटिएका घाउ-खतहरुले
सम्झाइरहन्छन्
सायद तिमीले भुल्यौ क्यार कमरेड !
रगतको होली खेलेर
‘परिवर्तन‘ आउने भए
आज म जस्ता कैयौंले
घुँडामा जिन्दगी नाप्नुपर्ने थिएन कमरेड !
सर्वहाराको खास्टो ओढेर
पुँजीवादी सपना देख्ने तिमी
पत्तै भएन तिम्रो धारिलो भाषणमा
भोका पेटहरु जुरुक्क उफ्रेको
र युद्धको त्यो ज्वालामा
आफूलाई आहुति दिन तम्तयार
सत्य कमरेड !
यतिखेर धिक्कार लाग्छ
कुनै समय म पनि तिम्रो निम्ति मर्न तयार थिएँ
यसरी साकार भएको
तिम्रो पुँजीवाद सपना
एक पटक फर्केर त हेर
त्यहाँ तिमी देख्नेछौ
छोरा गुमाएका
वृद्ध बा-आमाको अनुहारमा प्रश्न
पति गुमाएकी विधवाको सिउँदो
बाबु-आमा गुमाएका टुहुराहरुको आँखा
जो सोधिरहेछन् तिमीलाई
जुन हक-अधिकारका निम्ति
तिमीले हजारौंको बलि चढायौ
के त्यसको परिणाम यही हो ?
अँ,
मैले झन्नै भन्न भुलेछु तिमीलाई कमरेड
तिम्रो जितको महासंग्राममा लड्दा-लड्दै
अङ्गभङ्ग हुन पुगेकाहरुको कथा
छोराहरुको लाशसमेत देख्न नपाएका
ती बुढा बा-आमाको कथा
भ्रुणमै बाबु गुमाएकाहरुको कथा
अनगिन्ती बेपत्ता बनाइएकाहरुको कथा
आफ्नै अगाडि आमा र दिदीबहिनीहरु
बलात्कार भएकाहरुको कथा
बलात्कृत भएर मानसिक बोझ बोकी
दुर्भाग्यवश बाँचेकाहरुको चीत्कार
सुन्न सक्छौ भने आऊ
हाम्रो यो बस्तीमा हेर्न
तिमी
सुरक्षाको सुरक्षित घेरामा
जब बालुवाटारबाट निस्किएर
पुतलीसडक हुँदै सररर….
सिंहदरबार छिर्छौ
त्यसअघिका दृश्यहरु
ती सडक वारिपारिका अनुहारहरुबीच
न्यायको अनुनय-विनय गर्नेहरुको अनुहार
तिम्रो जितमा हार्नेहरुको अनुहार
तिम्रो निम्ति बलि चढ्नेहरुको अनुहार
के तिमीले राम्रोसँग नियालेका छौ ती अनुहारहरु ?
हिजो,
तिम्रो खातिर
ज्यान बाजी थाप्नेहरुको पीडा
राम्रोसँग सुकेका छैनन् कमरेड
तिमीले रटाएको सिद्धान्त उल्टो बुझ्दै छौं हामी
तसर्थ समयमै तिम्रो बुद्धिको बिर्को नखुले
भोलि तिमी विरुद्ध अर्को युद्ध जंगलबाट सुरु हुनेछ
म यही कुरा लेख्दै छु कमरेड तिमीलाई
मेरो चश्माको पावर बिग्रिनु अघि
मेरो धिमा मगज निस्क्रिय हुनु अघि… !
प्रतिक्रिया 4