Comments Add Comment

सशस्त्र प्रहरीमा यसरी हुँदैछ नयाँ आइजीपीको खेल

कसले सम्हाल्ला अब सशस्त्रको नेतृत्व ?

apf-aig१२ माघ, काठमाडौं । नेपाल प्रहरीले आगामी फागुनमा नयाँ नेतृत्व पाउने विषय निकै चर्चामा छ । त्यही मितिमा अर्को सुरक्षा संगठन सशस्त्र प्रहरी बलमा पनि नेतृत्व फेरिँदैछ । सशस्त्रमा नयाँ आइजीपीका लागि भैरहेको खेल भने खासै चर्चामा छैन ।

नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्यालसँगै सशस्त्र प्रहरीमा महानिरीक्षक दुर्जकुमार राईले पनि आगामी फागुनमा अवकाश पाउँदै छन् । अर्याल र राई नेपाल प्रहरीका समकालीन हुन् । त्यसैले राई पनि ३० वर्षे सेवाअवधिका कारण अर्यालसँगै घर जान लागेका हुन् ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको अवकाशपछि सशस्त्रको नेतृत्व सम्हाल्ने दौडमा तीनजना एआइजीहरु छन् । नेपाल प्रहरीबाट सशस्त्रमा गएका तीनैजना एउटै ब्याजी हुन् ।

कसले हत्याउला सशस्त्रको नेतृत्व

२०४४ सालमा नेपाल प्रहरीको निरीक्षकबाट सेवा प्रवेश गरेका एआइजीहरु सिंहबहादुर श्रेष्ठ, पे्रमकुमार शाही र प्रकाश ओझा सशस्त्र प्रहरी बलमा आइजीका दाबेदारहरु हुन् । एक नम्बरमा रहेका सिंहबहादुर श्रेष्ठ प्रशासन विभागमा छन् भने पे्रमकुमार शाही कार्य विभागको नेतृत्व सम्हालिरहेका छन् । प्रकाश ओझा भने सीमा सुरक्षा विभागमा कार्यरत छन् । तीनैजना नेपाल प्रहरीमा डीएसपी हुँदा एसपी बनेर सशस्त्र प्रहरी बलमा गएका हुन् ।

हाल सशस्त्रको तेस्रो बरियताको एआइजीमा रहेका प्रकाश ओझा नेपाल प्रहरीमा हुँदा श्रेष्ठ र शाहीभन्दा अगाडि नै डीएसपीमा बढुवा भएका थिए । ०५२ सालको जेठमा कामु डीएसपीमा बढुवा भएका ओझा ०५३ सालमा डीएसपी भएका थिए । सिंहबहादुर श्रेष्ठ र पे्रमकुमार शाही ०५४ साल पुस १६ गते डीएसपीमा बढुवा भएका थिए ।

जब ०५७ सालमा नेपाल प्रहरी र नेपाली सेनाका केहीलाई मिलाएर सशस्त्र प्रहरी बल स्थापना भयो, यी तीनैजना नेपाल प्रहरीबाट उता जान तयार भए । नेपाल प्रहरीबाट सशस्त्रमा जानेलाई एक तह बढुवा गर्ने भएपछि तीनै जना एसपी बनेर सशस्त्रमा गएका हुन् ।

एसपी बन्नका लागि कम्तिमा डीएसपी भएको पाँच वर्ष भएको हुनुपर्ने सर्त राखिए पछि सशस्त्रमा जाँदा ओझा मात्रै एसपी भएर गएका थिए । उनी ०५८ साल वैशाख १३ गते सशस्त्रको एसपी भए । तर, डीएसपीमा पाँच वर्ष नपुगेकाले १० महिना पछि मात्रै शाही र श्रेष्ठ एसपी भएका हुन् ।

एसपीबाट एसएसपी हुँदा पनि ओझा ०६२ साल जेठ २२ गते बढुवा भए भने शाही र श्रेष्ठ ९ महिना पछि बढुवा भएका हुन् । तर, ०६६ सालमा डीआइजीमा बढ्वा हुँदा भने तीनैजना सँगै भए । तीनैजना सँगै डीआइजीमा बढुवा भए पनि ओझा एक नम्बरमा, शाही दुई नम्बरमा र श्रेष्ठ तीन नम्बरमा डीआइजी भएका थिए ।

सिंहको पक्षमा यसरी पल्टियो पासा

बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा सशस्त्र प्रहरी बलमा पहिलोपटक प्राविधक तर्फबाट कोषराज वन्त आइजी बनाइए । ०६९ सालमा सशस्त्रको नेतृत्व सम्हालेका कोषराज वन्त भष्ट्राचार काण्डमा परेर निलम्बित भएपछि अहिले दुर्जकुमार राई सशस्त्र प्रहरी बलको आइजी छन् ।

उनै कोषराज वन्तले एआइजी बढुवामा एक नम्बरमा रहेका प्रकाश ओझालाई तीन नम्बरमा पुर्‍याए भने तीन नम्बरका सिंहबहादुर श्रेष्ठलाई एक नम्बरमा ल्याए । दुई नम्बरमा रहेका शाहीलाई भने दुई नम्बरमै राखे । यसरी अहिले दुर्जकुमार पछिको बरियतामा प्रकाश ओझा भन्दा अगाडि सिंहबहादुर श्रेष्ठ आइपुगेका हुन् ।

कुनै पनि कार्वाहीमा नपरी विनाकारण आफूलाई एकबाट सिधै तीनमा झारिएको भन्दै ओझाले असन्तुष्टि पोखे पनि उनको गुनासो कसैले सुनेन । अहिलेको अवस्थामा एक नम्बर बरियतामा रहेका श्रेष्ठले अब दुर्जकुमारपछि बरिष्ठताका आधारमा आफूले आइजी पाउनुपर्ने दाबी गर्नु पनि स्वाभाविकै हो । चीनबाट डिफेन्स कोर्ष गरेका श्रेष्ठकाे छवि स्वच्छ रहेकाे संगठनभित्रका अधिकारीहरू बताउँछन् ।

कसलाई कसको साथ ?

आगामी फागुन २ गतेबाट सशस्त्रको नेतृत्व सम्हाल्ने दाउमा रहेका सशस्त्रका तीन एआइजीहरु राजनीतिक दौडधूपमा लागिसकेका छन् ।
सशस्त्र स्रोतका अनुसार सिंहबहादुर श्रेष्ठलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँगै अन्य केही कांग्रेस नेताहरुको साथ छ ।

त्यसैगरी दोस्रो नम्बरमा रहेका प्रेम शाहीको राजनीतिक तहमा भन्दा कर्मचारी प्रशासनमा राम्रो सम्बन्ध रहेको बताइन्छ । उनी प्रचण्ड र शेरबहादुर देउवालाई फकाएर सशस्त्रको आइजी भन्ने दौडमा छन् ।

तेस्रो नम्बरमा रहेका प्रकाश ओझाचाँहि आफूलाई कोषराज वन्तले अन्याय गरेको भन्दै गृहमन्त्री विमलेन्द्र निधिकोमा पुगेका छन् । उनको झापाकै नेता कृष्ण सिटौला, केपी ओली लगायतका केही नेतासँग राम्रो सम्बन्ध रहेको बताइन्छ ।

सशस्त्रको दाग कसले मेटाउन सक्ला ?

संगठनभित्रको स्रोत साधनको चरम दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ । अहिले नेतृत्वमा आएका दुर्जकुमार राईले पनि खासै उल्लेख्य काम गर्न नसकेको गुनासो आउने गरेको छ । भूकम्पमा सबैभन्दा चर्चामा रहेको सशस्त्र प्रहरी बललाई पछिल्लो भ्रष्टाचार काण्डले नराम्रो दाग लागेको छ ।

राईभन्दा अघिका अधिकांश आइजीहरु भ्रष्टाचार काण्डमा मुछिएका छन् । कोषराज वन्तभन्दा अघिका आएजीहरु सनतकुमार बस्नेत र बासुदेव ओलीहरु पनि भ्रष्टाचारमा मुछिइसकेका छन् । अब आउने आइजीका सम्बन्धमा सशस्त्रका एक डीआइजीले भने-‘तीनैजना एआइजीहरु खासै विवादमा नपरेका व्यक्ति हुन् । तर सशस्त्रले गुमाएको साख फर्काउन सक्ने र कमाण्ड हाँक्न सक्ने नेतृत्व चाहिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment