
२४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपालका निरीक्षक र एक जवानविरुद्ध घुस प्रकरणमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आयोगले रुपन्देहीको कोटहीमाई गाउँपालिका–५, मझगाँवस्थित सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्टमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र जवान यामबहादुर खत्रीविरुद्ध शुक्रबार भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको हो ।
सिमापारि भारतबाट भन्सार छली कपडा र किराना सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ ।
अनुसन्धानका क्रममा जवान खत्री र उनका वरिष्ठ निरीक्षक ढकालबीच आपसी मिलेमतोमा घुस लिएको प्रमाणित भएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतको दुर्गौलिया नाका हुँदै नेपालमा सामान ल्याउने क्रममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग मागिएको रु.१५ हजार घुस रकम प्रतिवादीहरू ढकाल र खत्रीको पूर्वयोजनाअनुसार खत्रीले लिएको तथ्य प्रमाणित भएको छ ।’
आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको थियो ।
आयोगले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(ग) को उपदफा (१०) बमोजिमको कसुरमा बिगो बराबर १५ हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा बमोजिम कैद र जरिवानाको सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरेको छ ।
प्रतिक्रिया 4