Comments Add Comment

हेटौंडा-कुलेखनी हुँदै दोस्रो सर्किटको विजुली काठमाडौं जोडियो


१५ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि हेटौंडा-कुलेखानी-स्युचाटार दोस्रो १३२ केभी प्रशारणलाइन सञ्चालनमा ल्याएको छ । यसले हेटौंडाबाट आउने थप विजुलीलाई स्युचाटार सब-स्टेशनमा जोड्नेछ ।

यो प्रसारण सञ्चालनले काठमाडौंमा लोडसेडिङ नगर्ने प्रतिवद्धतालाई थप सहयोग पुग्ने विद्युत प्राधिकरणको विश्वास छ ।

यसअघि १३२ केभीको प्रशारणलाइन सञ्चालनमा थियो । सोही टावरमा अर्को सर्किट राखेर नयाँ प्रशारणलाइन सञ्चालनमा आएको हो । प्राधिकरणका कुलमान घिसिङ नेतृत्वमा आएपछि प्रसारण लाइन निर्माणले तिव्रता पाएको थियो । आयोजनाले माथातीर्थ-सतुङ्गल-नैकाप हुँदै स्युचाटारसम्म बिजुली प्रशारण गरेको छ ।

यसले कुलेखानीबाट काठमाडौं बिजुली ल्याउन थप सहज हुनेछ । एउटा सर्किटमा समस्या आए अर्को सर्किट प्रयोगमा ल्याउन सकिनेछ । पुसमा नै यो लाइनबाट विजुली मातातीर्थसम्म आइसकेको थियो ।

स्युचाटार जोड्न बीच भागको प्रशारणलाइनमा ३ वटा घरहरु थिए । जसलाई हटाएर प्रसारणलाइन सञ्चालनमा ल्याइएको हो ।

राजधानीको वितरण प्रणालीमा पनि थप सुधार गर्ने हो भने दुईवटा महत्वपूर्ण प्रसारणलाइनले राजधानी जोडिएपछि त्यसले दिने सेवा समेत सहज हुने विश्वास लिइएको छ ।

प्राधिकरणले १३२ केभी प्रसारणलाइन क्षमताको डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न गरेपछि भारतबाट ढल्केबर– हेटाैंडा हुँदै राजधानी भित्रिएको विद्युत् वितरणमा सहज भएको हो ।

विसं २०६८ बाट सुरु भएको सो प्रसारणलाइन मुनिपर्ने जग्गा धनीले मुआब्जा एवम् क्षतिपूर्ति माग्दै लामो समयदेखि अवरुद्ध गर्दै आएका थिए । विसं २०४३ मा नै कुलेखानी दोस्रोको विद्युत् राजधानी ल्याउन निर्माण गरिएको प्रसारणलाइनले दायाँबायाँ नौ–नौ मिटर जग्गाको क्षतिपूर्ति दिइसकेको थियो ।

मकवानपुरको चौकीटोल, काठमाडौँको तत्कालीन मातातीर्थ र स्यूचाटार गाविसले घर तथा आवास बनाउन अनुमति दिएका कारण प्रसारणलाइन विस्तारमा समस्या पर्दै आएको थियो ।

काठमाडौँ उपत्यकामा विद्युत्को माग बढ्दै गएपछि आयोजनाले एकल फेजमा रहेका प्रसारण लाइनलाई दोहोरो बनाउने तयारी गर्दा स्थानीयवासीले चर्को विरोध गर्दै अवरोध गरेपछि विस्तारकार्य रोकिएको थियो ।

प्रसारण लाइन निर्माणका लागि मात्रै आयोजनाले रु एक करोड ८४ लाख क्षतिपूर्ति १९ घरपरिवारलाई प्रदान गरेको छ ।

ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ र मकवानपुरका प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा क्षतिपूर्ति तथा मुआब्जा वितरण गरिएका कारण आयोजना सफल भएको उनले जानकारी दिए ।

भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौँडा हुँदै काठमाडौँ ल्याउन सो प्रसारणलाइन सहयोगी भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

प्रसारण लाइनको दायाँबायाँ क्षेत्रमा रहेका घरधनीले घर भत्काउन थालेको र केही दिनभित्रै घर भत्काइसक्ने जानकारी आफूलाई आएको भन्दै आयोजना प्रमुख सिलवालले काठमाडौँ उपत्यकामा जारी विद्युत्भार कटौती मुक्त अभियानमा सो प्रसारण लाइनको विद्युत् जोडिएपछि थप सहज हुने विश्वास व्यक्त गरे ।

मातातीर्थदेखि स्यूचाटारसम्मको खण्डमा पर्ने घर भत्काएर प्रसारणलाइन सञ्चालनमा ल्याइएको हो । सो प्रसारणलाइन निर्माण सम्पन्न भएपछि मातातीर्थ– भक्तपुर प्रसारणलाइनको काम अगाडि बढाउने प्राधिकरणको योजना छ ।

यसअघि खिम्ती-ढल्केबर २२० केभी प्रसारणलाइन पनि सञ्चालनमा आइसकेको छ ।

चपली स्टेशन पनि चार्ज

यसैगरी विद्युत प्राधिकरणले चपली सबस्टेसन सञ्चालन ल्याएको छ । विजुली वितरण र प्रसारण गर्न महत्वपूर्ण मानिएको चपलीको स्टेशन पनि सञ्चालनमा आएको हो । सबस्टेसनमा ३० र ९९ एमभिएका ट्रान्सर्फमर जडान गरिएका छन् ।

यो सब-स्टेशन चार्ज हुँदा उत्तरी क्षेत्रतर्फका विभिन्ने स्वीचिङ स्टेसनको लोड घटाउनेछ । विजुली वितरणमा यसले निकै सहयोग गर्नेछ ।

(राससको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment