Comments Add Comment

‘हाम्रा छातीको दशगजा’ विमोचन

बुटवल । ‘हाम्रा छातीको दशगजा’ नामक कविता संग्रहको शनिबार बुटवलमा विमोचन भएको छ । कवि तथा समालोचक डा. मुरारी पराजुलीले लेखेका कविताहरुको संग्रह एक कार्यक्रमका बीच साहित्यकार समेत रहेका एमाले नेता प्रदीप ज्ञवालीले विमोचन गरे ।

बुटवल साहित्य, कला सँस्कृति प्रतिष्ठानले आयोजना गरेको विमोचन कार्यक्रममा प्रमुख अतिथि प्रदीप ज्ञवालीले लुम्बिनी साहित्यका लागि उर्वरभूमि भएको बताए । उनले देश परिवर्तनका लागि साहित्यको ठूलो भूमिका हुने बताउँदै साहित्यका माध्यमबाट सामाजिक र साँस्कृतिक अभियान थाल्न आग्रहसमेत गरे ।

लुम्बिनीको साहित्यिक परम्परामा मुरारी पराजुलीले प्रगतिवादी विरासतलाई अझै सशक्त बनाउन उत्कृष्ट काव्यकर्म गरिरहेकोमा बधाई दिँदै ज्ञवालीले उनको काव्यसाधनाको निरन्तरताका लागि शुभकामना दिए ।

कार्यक्रममा साहित्यकार हुमाकान्त पाण्डे र ऋषिराम भुसालले कृतिको समालोचना गरेका थिए ।

यसैगरी साहित्यकार सालिकराम पौडेलले ‘रुपन्देहीको कविता परम्परामा कवि मुरारी पराजुली’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

संग्रहमा राष्ट्रप्रेमले ओतप्रोत भएका कविताहरु छन् । डा. पराजुलीले यसअघि सिर्जनाका स्वरहरु, आगो पालेका पेट र शीत ओढेका बस्तीहरु, हाँसेर उसका ओठले, लोकतन्त्रको शंखनाद, मुक्तक मीमांसा, नेपाली मुक्तकका प्रवृत्तिहरु, पत्थरकट्टा जातिको अध्ययन लगायतका कवितासंग्रह, समालोचना र सामाजिक अध्ययनका पुस्तक प्रकाशित गरिसकेका छन् ।

बुटवल साहित्य, कला सँस्कृति प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा रुपन्देहीका अग्रज साहित्यकारहरुको जमघट थियो । उनीहरुले कवि मुरारीको कविता संग्रह राष्ट्रिय सम्पत्तिका रुपमा रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment