Comments Add Comment

साहित्य महोत्सवः तेस्रो दिन मुन्धुमदेखि मिस मोटीसम्मको प्रस्तुति 

१६ माघ, पोखरा । नेपाल साहित्य महोत्सवको तेस्रो दिन १२ वटा सत्रमा राजनीतिदेखि संस्कृति, उद्यमी जीवन, साहित्य र संगीतसम्मका प्रस्तुतिमा सहभागीहरु रमाए ।

चौर र हल गरी दुई ठाउँको प्रस्तुतिमध्ये चौरको पहिलो सत्र ‘शासकको जवाफदेही’ मा पत्रकारद्वय शिव गाउँले, हरिबहादुर थापा र अधिवक्ता ओमप्रकाश अर्यालको छलफल चल्यो । चिकित्सक तथा लेखक रामेश कोइरालाले सहजीकरण गरेको सत्रमा जनताप्रति राज्यको उत्तरदायित्वबारे विमर्श भयो ।

हलको पहिलो सत्र ‘के भन्छ पोखरा’ मा कविहरु ईश्वरमणि अधिकार, सरस्वती प्रतीक्षा सरु र गायक विनोद बानियाँले पोखराको साहित्यिक र सिर्जनात्मक अपेक्षाबारे आफ्ना विचार राखे ।

त्यसपछिको सत्रमा पत्रकार बसन्त बस्नेतले साहित्यकार वैरागी काइँला र कवि भूपाल राईसँग साहित्यमा मुन्धुमको प्रयोग र यसको सौन्दर्यबारे चर्चा गर्नुभयो । अर्को सत्र ‘मिस मोटी’ कमिक्स पात्रको सिर्जनाबाट अन्तर्राष्ट्रिय ख्याति कमाएकी कृपा जोशीले महिला शरीरप्रतिको दृष्टिकोणबारे बताइन् ।

चौरको तेस्रो सत्रमा नेपाली साहित्यमा महिला पात्रको उपस्थिति र चित्रणबारे रामलाल जोशी, सावित्री गौतम र शिवानीसिंह थारु गफिए । अभियन्ता र चौकठ समूहकी संस्थापक सदस्य प्रणिका कोयूले संयोजन गरेको उक्त सत्रमा सशक्त महिला पात्रहरुको खोजी र भविष्यको अपेक्षा गरियो ।

यसपछिको सत्रमा प्रखर नेता घनश्याम भुसाल र राजनीतिक विश्लेषक हरि शर्माले ‘पपुलिज्म राजनीति’ विषयक सत्रमा क्षणिक चर्चाका लागि लिइने राजनीतिक कदमहरुबारे रोचक विमर्श गरे । हलमा भएको सत्रमा भने उद्यमी लक्ष्मी शर्माको आफ्नो व्यावसायिक अनुभव पत्रकार दिपेन्द्र श्रेष्ठमार्फत सबैलाई बाँडिन् ।

चौरमा भएको अर्को सत्रमा अर्थविद् स्वणिर्म वाग्लेले अर्का अर्थविद् विश्व पौडेललाई प्रस्तुत गरे । पौडेलले नेपालको आर्थिक इतिहासबारे महत्वपूर्ण बुादाहरुको व्याख्या गर्दै विगतका आरोह-अवरोहको चर्चा गरे ।  हलको दिनको अन्तिम सत्रमा भारतीय साहित्यकार उदय प्रकाशले ‘साहित्य र प्रतिरोध’ बारे चर्चा गर्दै साहित्यले राजनीतिक र सामाजिक परिवर्तनमा खेल्न सक्ने भूमिकाबारे बताए ।

चौरको भएको गजल वाचन कार्यक्रममा पोखरा र बाहिरका त्रुपक, कपिल शर्मा, उदिपराज ढुंगाना, दीपक समीप, प्रकट पगेनी शिव लगायत गजलकारहरुले वाहवाही बटुले । दिनको अन्तिम सत्रमा सञ्चारकर्मी समृद्धि राईले पोखरेली युवा गायक प्रयत्न श्रेष्ठसँग सांगीतिक कुराकानी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment