Comments Add Comment

किन हेर्ने ऋतिकको ‘काबिल’ ? 

 थ्रिलर रोमान्स र बदलाको कथा

फिल्म- काबिल

निर्देशक- सन्जय गुप्ता

निर्माता- राकेश रोशन

कलाकार- ऋतिक रोशन, यमी गौतम, रोनित राय, रोहित राय आदि ।

जब प्रेमिल सम्बन्धमा कोहि भाँजो हाल्न आइपुग्छ, बदलाको भावना पैदा हुन्छ । तर, एक दृष्टिविहिनले कसरी बदला लिन सक्छ, के यो संभव छ ?

यसलाई संभव तुल्याएको छ, फिल्म काबिलले । फिल्ममा ‘बदला’ धेरै बिकाउ तर पुरातन बिषय हो । बर्षौदेखि यो ‘कन्टेन्ट’ बलिउडले बिक्री गर्दै आएको छ । ऋतिक रोशन स्टारर फिल्म काबिल त्यसैको सिलसिला हो ।

तर, काबिलको आयम त्यतीमा मात्र खुम्चिएको छैन । यो एक दृष्टिविहिन जोडीको प्रेम-कथा पनि हो । यहि कथाले दर्शकलाई बाँधेर राख्छ । त्यसैले त हो, शाहरुख खान अभिनित ‘रईस’सँग यसले सिङ जुधाएको । जबकी, एकसाथ प्रदर्शन हुँदा भारतका ६० प्रतिशत स्क्रिन रईसले कब्जा गरेको थियो । तर, दुबै फिल्मको चार दिनको कमाई अनुपातमा ठूलो अन्तर छैन ।

यसअघि ऋतिकको बिग बजेट फिल्म ‘मोहेनजोदारो’ले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेन । तर, काबिलले भने ऋतिकको खुसी फर्काएको छ ।

कस्तो छ कथा ?

डबिङ आर्टिस्ट रोहन भटनागर (ऋतिक रोशन) दृष्टिविहिन छन् । यद्यपी उनी दयाका पात्र होइनन् । निर्देशक सन्जय गुप्ताले उनीमाथि करुणा पैदा गराएको छैन । किनकी रोहन सवलाङ्ग छैनन्, तर सवल छन् ।

यसैवीच रोहनको भेट सुपि्रया (यामी गौतम)सँग हुन्छ । सृप्रियाले पनि दृष्टि गुमाएकी छिन्, पियानो बजाउछिन् । भौतिक आकर्षण नभएपनि उनीहरुबीच प्रेम हुन्छ । बिहे हुन्छ ।

तर, यहिं मोडमा सुपि्रयामाथि बलात्कार हुन्छ । यि दृष्टिविहिन जोडी प्रहरीलाई गुहार्छ । तर, प्रहरीले उनीहरुमाथि कृपा गर्दैनन् । किनकी बलात्कारी अमित (रोहित राय)का दाई नेतागिरी गर्छन् । भ्रष्ट प्रहरीसँग उनको साठगाँठ छ ।

अन्तत पटक पटकको बलात्कार सहन नसकी सुप्रियाले आत्माहत्या गर्छिन् । अमित (रोहित राय) र वसीम (सहिदुर रहमान)को कुकर्मसँगै कथा बदलामा मोडिन्छ ।

 

किन हेर्ने ?

रोमान्टिक र द्वन्द्वप्रधान फिल्मको आनन्द लिनेहरुका लागि काबिल सहि रोजाइ हुनसक्छ । आँखा देख्ने भएर पनि ऋतिक र यमी दृष्टिविहिनको चरित्रमा सफल देखिएका छन् । यो मनोरञ्जनको पूर्ण प्याकेज हो । फिल्ममा ऋतिकको अभिनय, संगीत दमदार छ । प्रविधिको हिसावले यो फिल्म सहि छ । सुदीप चटर्जीले क्यामेरा र रेसुल पुकुट्टीले साउन्डमा गुनासो गर्ने ठाँउ दिएका छैनन् ।

कमजोर पक्ष

हलिउड फिल्म ‘ब्लाइन्ड फ्युरी’ र कोरियन फिल्म ‘ब्रोकन’ हेरेका दर्शकले काबिलको कथा त्यसैबाट थोर-बहुत सापट लिएको भेउ पाउँछन् । दोस्रो हाप पछि रोहन अपत्यारिलो ढंगले विपक्षीसँग फाइट खेल्न सक्छन् । हरेक काम उनको लागि सजिलो र संभव जस्तो लाग्छ । बदला लिनका लागि उनलाई कुनै अडचन छैन ।

फिल्ममा सुप्रिया र रोहनको बारेमा विस्तारपूर्वक केहि बताइएको छैन । किन यो संसारमा उनीहरु एक्ला छन् ? यावत् दृश्य र कथाले फिल्म विश्वसनिय लाग्दैन । ऋतिकले फिल्म उठाउने हरसंभव प्रयास गरेका छन् । तर, स्क्रिप्ट र निर्देशकले उनलाई साथ दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment