Comments Add Comment

ज्योतिषीले भनेको केही नमिलेपछि हात हेराएको छैन: राजनराज सिवाकोटी


राजनराज सिवाकोटी अहिलेका चर्चित गायक एवं संगीतकार हुन् । उनको शब्द, संगीत र स्वर रहेको दुई गीतले एकपछि अर्को गरी युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको कीर्तिमान राखिसकेका छन् ।
लोक गायन हुँदै संगीतमा प्रवेश गरेका सिवाकोटीले लोकसंगीतको क्षेत्रमा पहिलो पटक लोक तेहरी एल्बम ल्याएका थिए, ‘वार्ता गराइदेऊ’ । पछिल्लो समय भने लोकसंगीतलाई फिल्ममा प्रवेश गराउँदै लोकप्रियता पाइरहेका छन् ।उनै संगीतकारसँग अनलाइनखबरले गरेको टी-टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
– म ढिलोमा साँढे पाँच बजे उठिसक्छु । उठेपछि १० मिनेट जति पूजापाठमा बित्छ । जाडो याममा मर्निङ वाकमा निस्किन्नँ, घरमै सामान्य एक्सरसाइज गर्छु । एक कप कालो चिया पिएपछि रियाजमा बस्छु ।

ब्रेकफाष्टमा के हुन्छ ?
– मेरो खासै ब्रेकफाष्ट हुन्न । बिहान नौ बजेतिर श्रीमतीले पकाएको तातो भात खान्छु ।

प्रायः घरबाट कति बजे निस्कनुहुन्छ ?
– बिहान नौ बजे निस्कन्छु । रेकर्डिङ भएको बेला चाँडै पनि निस्कनुपर्ने हुनसक्छ । बेलुका ढिलोमा सात बजे घर आइसकेको हुन्छु ।

आजको कार्यक्रम ?
बिहान नौ बजे घरबाट निस्किएँ । स्टुडियोमा काम छ । दिउँसो एक बजेदेखि चार बजेसम्म भोकलको पनि काम गर्नु छ । त्यसपछि आजको सेड्युलमा अरु काम छैन ।

फेसबुक कत्तिको चलाउनुहुन्छ ?
– खासै चलाउँदिनँ । चलाउनेभन्दा पनि म हेर्छु ।  साँच्चै भन्ने हो भने फेसबुक चलाउने फुर्सदै हुँदैन । कहिले त ३/४ दिनसम्म पनि चलाएको हुन्नँ ।

सबैभन्दा मज्जा के कुरामा लाग्छ ?
– जब म बिहानीपख रियाजमा बस्छु, त्यसबेला निकै रमाइलो अनुभूति हुन्छ ।

मनोरञ्जन कसरी लिनुहुन्छ ?
– म जे काम गर्छु, त्यही कामबाट पनि मनोरञ्जन लिने प्रयास गर्छु । छोरीहरुसँग खेल्दा बढी रमाइलो हुन्छ ।

छोरीलाई स्कूल ल्याउने-पुर्‍याउने गर्नुभएको छ ?
– बिहान म रियाजमा हुन्छु । छोरीलाई स्कूल पुर्‍याउन सम्भवै हुन्न । बेलुका ७ बजेभन्दा अगाडि आइपुग्ने चान्स नै हुँदैन । कहिलेकाहीँ बिहान केही काम भएन भने मैले स्कूल पुर्‍याउँदा छोरीहरु निकै खुसी हुन्छन् ।

ज्योतिषीलाई हात हेराउनुभएको छ ?
१२ वर्ष जति अगाडि एक पटक हेराएको थिएँ । ज्योतिषीले भनेको केही पनि मिलेन । त्यसपछि कहिल्यै हेराएको छैन ।

पहिलो पटक गीत रेकर्डिङ गर्दाको क्षण याद छ ?
– कालिकास्थानमा एउटा स्टुडियो थियो । आफैंले कम्पोज गरेको गीत थियो, ‘साउने खोला उर्लेर आयो’ । गाउन भनेर गएँ, माइक अगाडि उभिनासाथै नर्भस भएर स्वर नै भासियो । गाउनै सकिनँ । पछि त्यही गीत काकाले गाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment