Comments Add Comment

सिके राउतको गिरफ्तारीसँगै प्रहरीले बनायो ५३ व्यक्तिको सूची (प्रतिवेदनसहित)

मधेस टुक्र्याउन सैन्य सरंचनाको रणनीति बनाएको विश्लेषण

सिके राउतलाई पक्रन उनको घर पुगेका प्रहरीहरु

२० माघ, काठमाडौं । लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको नाममा खुलेआम देश विखण्डनको अभियान चलाउँदै आएका सिके राउतलाई प्रहरीले विहीबार दिउँसो जनकपुरबाट पक्राउ गर्‍यो । राउतलाई पक्राउ गर्नुपूर्व प्रहरीले उनको ‘नेटवर्क’ बारे २६ पृष्ठको प्रतिवेदन तयार पारेको छ ।

अनलाइनखबरलाई प्राप्त सो प्रतिवेदनमा सिराहा र सप्तरी लगायत विभिन्न जिल्लामा देश विखण्डनको गतिविधिमा लागेका ५३ जना सिके राउतका कार्यकर्ताहरुको सूची उल्लेख गरिएको छ । प्रहरीले उनीहरुमाथि पनि वारेन्ट काट्ने बताइएको छ ।

सिके राउतले मधेसलाई नेपालबाट अलग गराउनका लागि सैन्य संरचनासमेत बनाउन लागेको प्रहरीको रिपोर्ट छ ।

राउतबारे प्रहरीले तयार पारेको अनुसन्धान रिपोर्टको सारांश जस्ताको त्यस्तैः

हालसम्मको गतिविधिहरु

  • मिति २०७१।०५।०२ गते केदार यादवको संयोजकमा सिरहा जिल्ला परिषदका समिति गठन गरिएको छ।
  • डा. सि.के. राउतलाई पक्राउ गरेको बिषयलाई लिएर मिति ०७१।५।२९ गते सिरहा लहान नपा ३ स्थित ल.ल.कु. उमाबिमा बिभिन्न राजनैतिक दलका कार्यकर्ता र निजका समर्थकहरु, नागरीक समाजहरु भेला भई प्रेश बिज्ञप्ती निकालेको ।
  • मिति ०७१।५।३१ गते लहान नपा १ स्थित पिपल चौकमा डा. सि.के. राउत पक्राउ गरेको बिरोधमा नागरीक समाज सिरहाका अगुवा कृष्णबहादुर यादबको नेतृत्वमा अं. ७/८ जनाको समुहले राजमार्ग अवरोध गर्न लाग्दा निजहरुलाई सम्झाई बुझाई गर्दा समेत नमाने पछी सिरहा मोहनपुर-कमलपुर ५ बस्ने बर्ष ५० को कृष्णबहादुर यादब समेत ४ जनालाई नियन्त्रणमा लिए पश्चात सदभावना पार्टीका गाँऊ कमिटीका सदस्य भरत साहको नेतृत्वमा अं. ६ जनाको संख्यामा मधेश एकता जिन्दावाद, डा. सि.के. राउतलाई बिना सर्त रिहा गर भन्ने ब्यानर सहितको नारा लगाई लहान बजार परिक्रमा गरी समाप्त भएको, साथै नियन्त्रणमा लिएका ४ जना कार्यकर्ताहरुलाई मावनअधिकारकर्मी दुर्गा परियारको जिम्मा लगाई छाडिएको, सोही दिन बेलुका पशुपती उमाबि लहानवाट सि.के. राउत पक्राउको बिरोधमा नागरिक समाजका अगुवा केदारनाथ यादबको नेतृत्वमा अं.१५ जनाको संख्यामा मैनबती जुलुस निकाली लहान बजार परिक्रममा गरी शान्तपुर्वक समाप्त भएको ।
  • मिति ०७१।०६।०४ गते सिरहा लहान नपा ७ स्थित पशुपति उमाबिको प्राङगणबाट डा. सि.के. राउत पक्राउ परेको बिरोधमा नागरिक समाज सिरहाका अगुवा कृष्णबहादुर यादबको नेतृत्वमा अं.१८/२० जनाको संख्यामा र्‍याली निकाली बजार परिक्रममा गरी कोणसभा पश्चार शान्तपूर्वक समाप्त भएको ।
  • मिति ०७१।०६।०५ गते सिरहा लहान नपा ७ स्थितवाट डा. सि.के. राउतलाई पक्राउ गरेको बिरोधमा नागरीक समाज सिरहाका अगुवा कृष्णबहादुर यादबको नेतृत्वमा १०/१२ जनाको संख्यामा र्‍याली निकाली बजार परिक्रमा गरी कोणसभामा परिणत भई शान्तपूर्वक समाप्त भएको ।
  • मिति ०७१।०६।०८ गते सिरहा लहान नपा ३ स्थित ठाडी चौकबाट डा. सि.के. राउतलाई पक्राउ गरेको बिरोधमा सदभावना पार्टीका नगरकमिटी अध्यक्ष बालेश्वर यादबको नेतृत्वमा १०/१२ जनाको समुहले राजमार्ग अवरोध गर्न खोज्ने क्रममा सिहरा लहान नपा २ बस्ने बर्ष २३ को बालेश्वर यादब, ऐ ८ बस्ने बर्ष ४५ को बिष्णुदेव चौधरी, ऐ २ बस्ने बर्ष ३२ को बिजय यादब र ऐ ३ बस्ने बर्ष ४२ को देवकान्त सिंहलाई पक्राउ तथा नियन्त्रणमा लिई यस का. मा ल्याई राखेकोमा निज ब्यक्तीहरुलाई सम्झाई बुझाई गरी सोही मितीमा छाडिएको ।
  • मिति ०७१।०६।०९ डा. सि.के. राउतलाई पक्राउ गरेको बिरोधमा सिरहा लहान नपा ७ स्थितवाट नागरिक समाजका अगुवा बिष्णु चौधरी नेतृष्वमा अं.०८/१० जनाको संख्यामा शान्तीपुर्ण र्‍याली निकाली बजार परिक्रममा गरी कोणसभा पश्चात शान्तपुर्वक समाप्त भएको ।
  • मिति ०७१।०६।१० गते डा. सि.के. राउतलाई पक्राउ गरेको बिरोधमा सिरहा लहान नपा १ स्थितवाट नागरिक समाजका अगुवा केदारनाथ यादबको नेतृष्वमा अं.१०/१२ जनाको संख्यामा शान्तीपुर्ण र्‍याली निकाली बजार परिक्रममा गरी कोणसभा पश्चात शान्तपुर्वक समाप्त भएको ।
  • मिति ०७१।०६।११ गते डा. सि.के. राउतलाई पक्राउ गरेको बिरोधमा सिरहा लहान नपा ७ स्थितवाट नागरिक समाजका अगुवा कृष्णबहादुर यादबको नेतृष्वमा अं.१०/१२ जनाको संख्यामा शान्तीपुर्ण र्‍याली निकाली बजार परिक्रममा गरी कोणसभा पश्चात शान्तपुर्वक समाप्त भएको ।
  • मिति ०७१।०६।१२ गते डा. सि.के. राउतलाई पक्राउ गरेको बिरोधमा सिरहा लहान नपा ७ स्थित पशुपती उदमाबिवाट नागरिक समाजका अगुवा कृष्णबहादुर यादबको नेतृष्वमा अं.१०/१२ जनाको संख्यामा शान्तीपुर्ण र्‍याली निकाली बजार परिक्रममा गरी कोणसभा पश्चात शान्तपुर्वक समाप्त भएको ।
  • मिति ०७१।०६।१३ गते सिरहा लहान नपा ७ स्थितवाट डा. सि.के. राउत पक्राउ गरेको बिषयमा नागरिक समाजका अगुवा कृष्णबहादुर यादबको नेतृष्वमा अं.१०/१२ जनाको संख्यामा शान्तीपुर्ण र्‍याली निकाली बजार परिक्रममा गरी कोणसभा पश्चात शान्तपुर्वक समाप्त भएको ।
  • मिति ०७१।०६।१८ गते डा. सि.के. राउतलाई पक्राउ गरेको बिरोधमा सिरहा लहान नपा ३ स्थितमा सदभावना पार्टीका नगर अध्यक्ष बालेश्वर यादबको नेतृष्वमा अं.०५/०६ जनाको समुहले रोडमा टायर राखी बाटो अवरोध गर्न खोज्दा लहान नपा ३ बस्ने बर्ष ५० को देवकान्त सिंह, ऐऐ ३ बस्ने बर्ष १८ को भोलाजित नेपाल, ऐऐ २ बस्ने बर्ष ४५ को बालेश्वर यादबलाई नियन्त्रणमा लिई ईप्रका. लहान ल्याई राखेकोमा निजहरुलाई सम्झाई बुझाई गरी नागरीक समाजका कष्णबहादुर यादबको जिम्मा लगाई छाडीएको ।
  • मिति ०७१।०६।१८ गते डा. सि.के. राउतलाई पक्राउ गरेको बिषयमा अबिलम्ब रिहा नगरे ऐ १८ गते देखी अनिश्चितकालिन चक्काजाम गर्ने सम्बन्धीको प्रेश बिज्ञप्ती ।
  • मिति ०७१।०६।२२ गते डा.सि.के. राउत स्वतन्त्र मधेश जिन्दावाद भन्ने पर्चा फेला परेको ।
  • मिति ०७१।०६।२२ गते डा. सि.के. राउतलाई बिना सर्त रिहा गर्नु पर्ने भनि मधेशका बिभिन्न राजनैतिक दल, नागरीक समाजले जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापन पत्र बुझाई रिहाको लागी धर्ना दिने भनि प्रेश बिज्ञप्ती ।
  • मिति ०७१।०७।०२ गते सिरहा लहान नपा १ स्थितमा मधेशी नागरीक समाज सिरहाको आयोजनामा उक्त समाजका अगुवा प्रताप यादबको नेतृत्वमा ४ जनाको संख्याले सि.के. राउतलाई धरौटीमा छुटाउन स्वेच्छिक रु.१ सहयोग संकलन गरेको ।
  • मिति ०७१।०८।१० गते सिरहा लहान नपा १ वाट संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला संयोजक कृष्णबहादुर यादबको नेतृत्वमा ८०/९० जनाको संख्याले बिरोध र्‌याली बजार परिक्रममा गरी उक्त –याललाई समर्थन गर्दै नेकपा एमालेका क्षेत्र नं. २ का क्षेत्रिय अध्यक्ष केदारनाथ यादबको नेतृत्वमा अं. ८९/९० जनाको संख्याले –याली निकाली बजार परिक्रम गरेको ।
  • मिती ०७१।०८।१० गते लहान नपा ३ स्थित ल.ल.कु उमाबिमा स्वतन्त्र मधेश गठबन्धन समुह डा. सि.के. राउतका जिल्ला संयोजक केदारनाथको यादबको नेतृत्वमा अं.४०/५० जनाको समुहले कार्यक्रम गर्न लाग्दा यस का. वाट प्रनाउको कमाण्डमा प्रहरी टोली खटि गइ ३३ जना कार्यकर्ताहरुलाई पक्राउ गरी यस का. मा ल्याई उक्त समुहका सदस्य लहान नपा ७ बस्ने रामअवतार शर्माको जिम्मा लगाइ छाडीएको ।
  • मिति ०७१।१०।०५ गते डा. सि.के. राउतको प्रमुख आतिथ्यमा बलिदान दिवस समारोह पशुपती उमाबि लहानमा कार्यक्रम हुने भनि बिज्ञप्ती निकालेको ।
  • मिति ०७१।१०।०५ गते सिरहा लहान नपा ७ स्थित पशुपती उमाबिको प्राङगणमा डा. सि.के. राउतका समर्थकहरु अं.२५०/३०० जनाको संख्यामा उक्त माबिको प्राङगणमा डा. सि.के. राउतको प्रमुख आतिथ्यमा कार्यक्रम गर्न खोज्दा प्रहरी टोलीले सम्झाई बुझाई उक्त कार्यक्रममा रोक लगाउन खोज्दा कार्यकर्ता नमानी प्रहरी कर्मचारी प्रती ढुङगामुडा प्रहार गरेको हुदा सामान्य बल प्रयोग गरी तितरबितर पारेको र सोको बिरोधमा अं. ८००/९०० जनाको समुहमा रहेका समर्थकहरु उत्तेजित भई बाटोमा गुडी रहेका ना५ख २०२३ बस, बा१२च ५४६८ कार, ज१च ९२९ बोलेरो, बा६च गाडी, बा१ग २०८८ यस का. को वानटेन र जिप्रका. खोटाङको ना१झ १३२९ स्कारपियो गाडीहरुलाई तोडफोड गर्न थाले पछी तत्काल स्थिती नियन्त्रणमा लिनको लागी प्रहरी वाट ५ सेल अश्रु ग्यास फायर गरी भिडलाई तितरबितर पारीएको, तोडफोस गर्ने मध्येका लहान नपा १ बस्ने बर्ष २० को अजय गुप्ता, ऐऐ बस्ने बर्ष २२ को रमेश गुप्ता, ऐ तेनुवापट्टी ३ बस्ने बर्ष २५ को धिरजकुमार यादब, ऐऐ बस्ने बर्ष २३ को बिरेन्द्र यादब समेतलाइ पक्राउ गरी आवश्यक कार्वाहीको लागी जिप्रका. सिरहा पठाईएको ।
  • मिति ०७२।०९।१८ गते अं. १४३५ बजेको समयमा लहान नपा १९ स्थित  कटहा प्रा.बिको प्राङगणमा स्वतन्त्र मधेश गठबन्धनका समान्तर संयोजक चन्द्रश्वर महतोको उपस्थितीमा स्वराज जनचेतना अभियान कार्यक्रमको बारेमा प्रशिक्षण दिने तथा वडा कमिटी गठन गर्ने उद्देश्यले भेला भएका मध्ये ५ जना सकृय कार्यकर्ताहरु पक्राउ गरी ईप्रका. लहानमा ल्याई आवश्यक अनुसन्धान भई रहेको । 

 स्वतन्त्र मधेश गठबन्धनको वर्तमान गतिविधि

  • स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सि.के.राउत द्धारा बिगत केही महिना देखी मघेशमा जारी रहेको आन्दोलनको मौका छोपी राज्य प्रति घृणा उत्पन्न गराउने तथा युवा, बुद्धीजिवी, शिक्षक तथा मधेशी दलका अन्य प्रभावशाली नेता तथा कार्यकर्ताहरुलाई आफ्नो गठबन्धनमा आवद्ध गराउने योजना अनुसार निम्न अनुसारको तत्कालिन तथा दिर्धकालिन रणनिति बनाई गोप्य तथा खुल्ला गतिविधिहरु गरीरहेको देखिन्छ ।
  • स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरु द्वारा सिरहाको दक्षिणी भाग तथा सो संग जोडिएको क्षेत्रहरुमा सकृयता बढाएको साथै युवाहरुलाई स्वतन्त्र मधेश गठबन्धन संग आबद्ध हुन प्रचारात्मक तथा अन्तरक्रियात्मक कार्यक्रमहरु गर्दै आइरहेको देखिन्छ ।
  • मिति २०७२।०९।१६ गते सप्तरीमा डा. सि.के. राउतको अध्यक्षतामा बसेको सप्तरी जिल्ला परिषदको बैठकमा “स्वराज जनचेतना अभियान”, वडा स्तर सम्म ईकाई गठन गर्ने, मधेशको सबै गाबिसहरुमा क्रमश: नमूना जनमत संग्रह गर्ने निर्णय भइ अनुसार यस जिल्लाको बिभिन्न क्षेत्रहरुमा सो कार्यक्रमलाई तदारुकता पुर्वक सञ्चालन गरी रहेको ।
  • स्वतन्त्र मधेश को बारेमा POWER POINT PRESENTATION, VIDEO प्रदर्शन, पर्चा पम्पप्लेटिङ तथा अन्तरकृयात्मक कोणसभाहरु गर्ने गरेको ।

स्वतन्त्र मधेस गठबन्धनको तत्कालिन रणनीति

  • स्कुल तथा कलेजका युवाहरुलाई यस गठबन्धन संग आबद्ध गराउने ।
  • मधेशका जिल्लाहरुमा वडा ईकाई सम्मको समिति गठन गर्ने ।
  • अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नको लागी युवा दस्ता भर्ना तथा सो दस्तालाई शारिरिक व्यायाम गराई सैन्य प्रशिक्षण प्रदान गरी रहेको भ्रामक सामग्री प्रसारण गर्ने जस बाट अन्तर्राष्ट्रिय क्षेत्रमा स्वतन्त्र मधेश गठबन्धनको प्रभावकारीताको जानकारी गराई यसलाई प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग प्राप्त गर्ने ।
  • प्रत्येक जिल्लाका जिल्ला स्तरीय नेताहरुलाई प्रत्येक दिन कम्तिमा २ देखी ५ कार्यकर्तालाई गठबन्धन संग आबद्ध गराउने, राज्य बिरोधी भावनालाई चोक/बजार/चिया पसलहरुमा गफको  बिषय बनाउने ।
  • आन्दोलनको क्रममा राज्यका सुरक्षा संयन्त्र अन्यत्र ब्यस्त भएको मौका छोपी ग्रामिण स्तरमा संगठन बिस्तार गर्ने तथा प्रचारप्रसार कार्यलाई तिब्र बनाई स्थानिय तहमा संगठन मजबुत बनाउने ।
  • यस संगठनको पकड मजबुत रहेको स्थानहरुमा नमुना जनमत संग्रह गरी अन्तराष्ट्रिय स्तरमा आफ्नो पक्षमा अत्याधिक जनमत रहेको भनि भ्रम सृजना गर्ने ।
  • यस जिल्लाको दक्षिणी भेग सन्हैठा, हाकपारा तथा बरियारपट्टी लगायतका क्षेत्रहरुमा प्रचारप्रसार कार्यलाई तिब्र बनाई सिमाबर्ती क्षेत्रहरुमा युवा भर्ना तथा नमुना जनमत संग्रह कार्यलाई तिब्र बनाई स्थानिय युवाहरुलाई आकर्षित गर्ने ।
  • मधेशका सिमाबर्ती क्षेत्रलाई यस गठबन्धनको मुख्य SHELTER तथा गतिबिधीहरुको केन्द्र बनाउने ।
  • युवाहरुमा नेपाल सरकार बिरोधी भावना जागृत गराउन आन्दोलनका क्रममा मारिएका परिवार, घाईते तथा केही भुमिगत शसस्त्र समुहसँग आबद्ध ब्यक्तीहरुलाई परिचालन गर्ने ।
  • राज्यको स-साना त्रुटीलाई विभेदकारी निती भनि युवाहरुमा राज्य बिरुद्ध लाग्न उत्प्रेरित गर्ने ।
  • सैन्य दस्ता तयार पारी रहेको भ्रम पार्न केही स्कुल तथा कलेजहरुमा शारीरीक अभ्यास गराई अन्तराष्ट्रिय टि.भी., पत्रिकाहरुमा प्रशारण गर्न लगाउने ।
  • कम्तीमा १०/१२ बर्ष अवधीमा मधेश राज्य स्वतन्त्र गराउने रणनितीको ब्यापक प्रचारप्रसार गर्ने/संगठन बिस्तार गर्ने/कोणसभा/पर्चा पम्पलेटिङ गर्ने/श्रब्यदृष्य सामाग्री मार्फत युवाहरुमा राज्य बिरोधी भावना जगाउने ।
  • AIM भन्ने किताब प्रकाशित भएको छ, डा. सि.के. राउत द्धारा लिखित यस किताबमा राज्य बिरोधी भावना तथा युवाहरुलाई ALLIANCE FOR INDEPENDENT MADHESH (AIM) मा आबद्ध गराउन मधेश भरि बितरण गरी प्रचार प्रसार गर्न लगाउने ।

दीर्घकालीन रणनीति

  • राज्यसँग संघर्ष गर्न सैन्य संरचना गठन गर्ने ।
  • हाल मधेशको बिभिन्न जिल्लामा भई रहेको नमुना जनमत संग्रहलाई आधार बनाई नेपाल राज्यवाट मधेशलाई अलग गराउने नीति अनुरुप केही बर्ष भित्र स्वतन्त्र मधेशको लागि जनमत संग्रह गराउन मुख्य माग राखी शान्तीपुर्ण आन्दोलन गर्ने तत्पश्चात माग पुरा नभएको खण्डमा सशस्त्र संघर्षमा जाने ।
  • मधेश क्षेत्रमा अन्तराष्ट्रिय जगतलाई हस्तक्षेपको लागी आग्रह गर्ने यसलाई स्वतन्त्र राज्य रहेको भनि भ्रामक प्रचारप्रसार जारी राख्ने ।
  • शिक्षक, बिधार्थी तथा अन्य युवावर्गलाई पुर्णरुपमा हातहतियार तथा बिष्फोटक पदार्थको तालिम गराई संघर्षको अन्तिम चरणमा परिचालन गर्ने ।
  • अन्तराष्ट्रिय जगतमा अहिंसात्मक आन्दोलन हो भनि भ्रम पारी दीर्घकालिन रुपमा सशस्त्र संघर्षको तयारी गर्दै जाने ।
  • देश भित्र रहेको अन्य बिखण्डनकारी शक्तिबद्धसँग ऐक्यबद्धता जनाउने र समदुरीमा रही सहकार्य गर्ने
  • भारतीय राजनैतिक ब्यक्तित्वहरुसँगको सम्पर्क/सम्बन्ध सुमुधुर राख्ने तथा प्रत्यक्ष/परोक्ष सहयोगको लागी वातावरण तयार पार्दै लाने ।
  • युरोपियन युनियन/संयुक्त राज्य अमेरिका लगायतका शक्तिशाली राष्ट्रलाई मधेश एक स्वतन्त्र देश थियो, यस्लाई नेपाल सरकारले अतिक्रमण गरेको छ,यसलाई मुक्त गराउन आवश्यक सहयोग गर्न आग्रह गर्दै जाने ।
  • मधेशवादी पार्टीहरुको गतिबिधीलाई समर्पणवादी तथा मधेशको गद्दार साबित गरी उक्त पार्टीका कार्यकर्तालाई आफ्नो संगठनमा आबद्ध गर्दै लाने ।
  • राज्यको प्रत्येक निकायको मधेशमा रहेको कार्यक्रमद्वारा सम्पादन गरीने कार्यलाई बिभेदकारी रहेको, दमनकारी रहेको तथा राज्यका निकायहरुको भुमिका शासकको रहेको भनि आम जनमानसमा भ्रम पार्ने र राज्यको भुमिका कमजोर पार्ने ।
  • राज्यको आर्थिक गतिबिधिलाई कमजोर बनाई सरकारलाई आफ्ठ्यारो पार्ने तथा मधेशमा राज्यको उपस्थितीलाई कमजोर पार्न बिभिन्न समुहहरु परिचालन गर्ने ।
  • FACEBOOK, VIBER, WATSAPP लगायतको संचार सुबिधाको ब्यापक दुरुपयोग गरी नेपाल सरकार बिरोधी भावना जागृत गराउन निरन्तर प्रयास जारी राख्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment