+
+
Shares

‘राजीनामा दिन्छु’ भन्दै बैठक छाडेर हिँडे सत्यनिरुपणका अध्यक्ष

माओवादी सदस्यले मच्चाए आयोगमा लफडा

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २१ गते १२:०४


२१ माघ, काठमाडौं । सत्य निरुपण आयोगको बैठकमा विवाद चर्किएपछि अध्यक्ष सूर्यकिरण गुरुङ ‘राजीनामा दिन्छु’ भन्दै कार्यालय छाडेर हिँडेका छन् । बिहीबार आयोगको गाडी चडेर बाहिरिएका गुरुङले शुक्रबार बिहान कार्यालयमा नआई ड्राइभर र गाडी फिर्ता पठाइदिएका छन् ।

आयोगमा माओवादीको दबाव

सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद यही माद्द २७ गते सकिँदैछ । कानूनतः आयोगले निर्णय गरेको खण्डमा एक वर्षसम्म म्याद थप्न सकिने छ ।

तर, आयोग पदाधिकारीको पटक-पटकको बैठकले पनि यसबारे निर्णय गर्न सकेको छैन । माओवादीको दबावका कारण म्याद थप्ने निर्णय गर्न नसकेको आयोग स्रोतले अनलाइनखबरलाई बतायो ।

आयोगको म्याद थप्नेबारे सरकारलाई सिफारिस पठाउन सरस्वती पूजाको दिन बिहान बबरमहलस्थित आयोगको कार्यालयमा बैठक डाकिएको थियो । तर, माओवादी कोटामा आयोग सदस्य श्रीकृष्ण सुवेदी बैठक सुरु हुनासाथ ‘मेरो बाहिर काम छ’ भन्दै बाहिरिए । सुवेदी दिनभरि महान्यायाधिवक्ताको कार्यालयमा बसे भने आयोगका अध्यक्ष र सदस्यहरु चार घण्टासम्म उनलाई कुरिरहे ।

श्रीकृष्णलाई चारघण्टा कुरेपछि आयोग अध्यक्ष सूर्यकिरण गुरुङले ‘अब भोलि बिहीबार बिहान साढे ८ बजे बैठक बसौं’ भन्दै बैठक सारे ।

बिहीबार बिहान ९ बजेतिर बैठक सुरु भयो । श्रीकृष्ण बैठकमा त आए तर, मेरो अन्तै जानु छ भनेर फेरि उठेर हिँडे ।

अध्यक्ष गुरुङ र सदस्यहरु लीला उदासी, डा. माधवी भट्ट र मञ्चला झा चारजना सम्मिलित बैठकले सरकारलाई म्याद थपका लागि गर्ने सिफारिसको मस्यौदा तयार पारे ।

त्यही क्रम चलिरहेका बेला मध्याह्न साढे १२ बजेतिर श्रीकृष्ण आइपुगे र चारजनाले तयार पारेको मस्यौदामा प्रधानाध्यापकले जस्तै रातो कलमले काटछाँट गर्न थाले ।

बिहान बैठकबाट बाहिरिएका श्रीकृष्ण त्यसबेला प्रधानमन्त्री कार्यालयमा पुगेको र उताबाट अध्यक्ष सूर्यकिरणलाई फोन आएको स्रोत बताउँछ । आयोग स्रोतले अनलाइनखबरसँग भन्यो- ‘फोन आउनासाथ अध्यक्षज्यू नमस्कार भन्दै बैठक कक्षबाट बाहिरिनुभएको थियो, फर्किँदा कालोनीलो देखिनुभयो ।’

बिहीबारको बैठकमा श्रीकृष्ण सुवेदी र माधवी भट्टबीच विवाद भएको थियो । त्यहाँ अध्यक्ष र अन्य सदस्यहरु खासै सहभागी भएनन् । त्यसपछि अध्यक्ष गुरुङ ‘म राजीनामा दिन्छु’ आयोगबाट बाहिरिए ।

शुक्रबार बिहान ११ बजेसम्म आयोगको कार्यालयमा माधवी भट्टमात्रै उपस्थित छिन् ।

किन निराश भए सूर्यकिरण ?

सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो दुई वर्षे कार्यकालमा ऐनसमेत पाउन सकेको छैन । हालै सर्वोच्च अदालतले गरेको निर्णयका कारण आयोग झनै काम गर्न नसक्ने स्थितिमा पुगेको छ ।

त्यसैगरी सरकारले अहिलेसम्म आयोगले मागेको भौतिक पूर्वाधार र जनशक्ति नदिँदा काम गर्न नसकिएको र यसबाट अध्यक्ष गुरुङ निराश बनेको स्रोतले अनलाइनखबरलाई बतायो ।

श्रीकृष्णको भूमिकामाथि माओवादीबाटै प्रश्न

पाँच सदस्यीय आयोग आफैंभित्र अन्तरविरोधमा फसेको छ । यसले गर्दा पनि अध्यक्ष गुरुङ निराश बनेको स्रोत बताउँछ ।

माओवादी कोटाबाट सदस्य बनेका श्रीकृष्ण सुवेदीले आयोगबारे माओवादी अध्यक्ष प्रचण्डलाई भए नभएका कुरा सुनाउने गरेको र आयोगप्रति अविश्वास बढाउने काम गरिरहेको आयोगका एक सदस्यको गुनासो छ ।

यसबारे सोधिएको प्रश्नमा माओवादीका एक उच्च तहका नेताले अनलाइनखबरसँग भने- ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद नथप्ने माओवादी पार्टीको नीति होइन, त्यहाँबाट श्रीकृष्णलाई हटाई अर्को सक्षम व्यक्तिलाई पठाएर भए पनि आयोगलाई काम गर्न दिइनुपर्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?