Comments Add Comment

‘राजीनामा दिन्छु’ भन्दै बैठक छाडेर हिँडे सत्यनिरुपणका अध्यक्ष

माओवादी सदस्यले मच्चाए आयोगमा लफडा


२१ माघ, काठमाडौं । सत्य निरुपण आयोगको बैठकमा विवाद चर्किएपछि अध्यक्ष सूर्यकिरण गुरुङ ‘राजीनामा दिन्छु’ भन्दै कार्यालय छाडेर हिँडेका छन् । बिहीबार आयोगको गाडी चडेर बाहिरिएका गुरुङले शुक्रबार बिहान कार्यालयमा नआई ड्राइभर र गाडी फिर्ता पठाइदिएका छन् ।

आयोगमा माओवादीको दबाव

सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद यही माद्द २७ गते सकिँदैछ । कानूनतः आयोगले निर्णय गरेको खण्डमा एक वर्षसम्म म्याद थप्न सकिने छ ।

तर, आयोग पदाधिकारीको पटक-पटकको बैठकले पनि यसबारे निर्णय गर्न सकेको छैन । माओवादीको दबावका कारण म्याद थप्ने निर्णय गर्न नसकेको आयोग स्रोतले अनलाइनखबरलाई बतायो ।

आयोगको म्याद थप्नेबारे सरकारलाई सिफारिस पठाउन सरस्वती पूजाको दिन बिहान बबरमहलस्थित आयोगको कार्यालयमा बैठक डाकिएको थियो । तर, माओवादी कोटामा आयोग सदस्य श्रीकृष्ण सुवेदी बैठक सुरु हुनासाथ ‘मेरो बाहिर काम छ’ भन्दै बाहिरिए । सुवेदी दिनभरि महान्यायाधिवक्ताको कार्यालयमा बसे भने आयोगका अध्यक्ष र सदस्यहरु चार घण्टासम्म उनलाई कुरिरहे ।

श्रीकृष्णलाई चारघण्टा कुरेपछि आयोग अध्यक्ष सूर्यकिरण गुरुङले ‘अब भोलि बिहीबार बिहान साढे ८ बजे बैठक बसौं’ भन्दै बैठक सारे ।

बिहीबार बिहान ९ बजेतिर बैठक सुरु भयो । श्रीकृष्ण बैठकमा त आए तर, मेरो अन्तै जानु छ भनेर फेरि उठेर हिँडे ।

अध्यक्ष गुरुङ र सदस्यहरु लीला उदासी, डा. माधवी भट्ट र मञ्चला झा चारजना सम्मिलित बैठकले सरकारलाई म्याद थपका लागि गर्ने सिफारिसको मस्यौदा तयार पारे ।

त्यही क्रम चलिरहेका बेला मध्याह्न साढे १२ बजेतिर श्रीकृष्ण आइपुगे र चारजनाले तयार पारेको मस्यौदामा प्रधानाध्यापकले जस्तै रातो कलमले काटछाँट गर्न थाले ।

बिहान बैठकबाट बाहिरिएका श्रीकृष्ण त्यसबेला प्रधानमन्त्री कार्यालयमा पुगेको र उताबाट अध्यक्ष सूर्यकिरणलाई फोन आएको स्रोत बताउँछ । आयोग स्रोतले अनलाइनखबरसँग भन्यो- ‘फोन आउनासाथ अध्यक्षज्यू नमस्कार भन्दै बैठक कक्षबाट बाहिरिनुभएको थियो, फर्किँदा कालोनीलो देखिनुभयो ।’

बिहीबारको बैठकमा श्रीकृष्ण सुवेदी र माधवी भट्टबीच विवाद भएको थियो । त्यहाँ अध्यक्ष र अन्य सदस्यहरु खासै सहभागी भएनन् । त्यसपछि अध्यक्ष गुरुङ ‘म राजीनामा दिन्छु’ आयोगबाट बाहिरिए ।

शुक्रबार बिहान ११ बजेसम्म आयोगको कार्यालयमा माधवी भट्टमात्रै उपस्थित छिन् ।

किन निराश भए सूर्यकिरण ?

सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो दुई वर्षे कार्यकालमा ऐनसमेत पाउन सकेको छैन । हालै सर्वोच्च अदालतले गरेको निर्णयका कारण आयोग झनै काम गर्न नसक्ने स्थितिमा पुगेको छ ।

त्यसैगरी सरकारले अहिलेसम्म आयोगले मागेको भौतिक पूर्वाधार र जनशक्ति नदिँदा काम गर्न नसकिएको र यसबाट अध्यक्ष गुरुङ निराश बनेको स्रोतले अनलाइनखबरलाई बतायो ।

श्रीकृष्णको भूमिकामाथि माओवादीबाटै प्रश्न

पाँच सदस्यीय आयोग आफैंभित्र अन्तरविरोधमा फसेको छ । यसले गर्दा पनि अध्यक्ष गुरुङ निराश बनेको स्रोत बताउँछ ।

माओवादी कोटाबाट सदस्य बनेका श्रीकृष्ण सुवेदीले आयोगबारे माओवादी अध्यक्ष प्रचण्डलाई भए नभएका कुरा सुनाउने गरेको र आयोगप्रति अविश्वास बढाउने काम गरिरहेको आयोगका एक सदस्यको गुनासो छ ।

यसबारे सोधिएको प्रश्नमा माओवादीका एक उच्च तहका नेताले अनलाइनखबरसँग भने- ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद नथप्ने माओवादी पार्टीको नीति होइन, त्यहाँबाट श्रीकृष्णलाई हटाई अर्को सक्षम व्यक्तिलाई पठाएर भए पनि आयोगलाई काम गर्न दिइनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment