Comments Add Comment

हास्यव्यङ्ग्यको सत्तामा पुग्यौं तर, एक्लै अगाडि बढेनौं

दुवै जना कोभन्दा को कम भने झैं कस्सिए । एकछिन त घम्साघम्सी नै होला जस्तो भयो ।

उनीहरुको अनौठो प्रतिस्पर्धा हेरिरहेकाहरु भने पेट गुजुल्टो पर्ने गरी हाँसिरहेका थिए ।

हुन पनि ती दुई आफू नै राम्रो भनेर पाखुरा सुर्किरहेका थिएनन्, एक-अर्काको गुण केलाउँदै तारिफ गर्नमा होडबाजी गर्दै थिए ।

यस्ता गुलिया व्यक्तित्वका धनी चर्चित कलाकार ‘मह जोडी’ बाहेक अरु को हुन सक्थ्यो र ! मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ती कलाकार हुन्, जो संकट र संघर्षको बेला जोडिए, सफलताको फल लाग्न थालेपछि झन् नङ र मासु जस्तै बने ।

उसो त ‘धेरै खायो भने चिनी पनि तीतो हुन्छ’ भन्ने नेपाली आहान नै छ । तर, ‘मह’ को ३७ वर्षे लामो सफरमा गुलियोले कहिल्यै आफ्नो परिचय फेरेन । बेइमानी गरेन ।

त्यही लामो साझेदारी र सहयात्रा टिक्नुको कारण केलाउँदै थिए, मदनकृष्ण र हरिवंश । हालै पोखराको साहित्य महोत्सवमा उनीहरुले आफ्नो सफल साझेदारीका आधारहरू बताइरहँदा चौरमा घाम ताप्दै दुवैलाई सुन्नेहरुको चाख झन्-झन् बढेको देखिन्थ्यो ।

सहयात्रा निरन्तर रहन सक्नुमा उनीहरुले विभिन्न कारण दिए । तर, कार्यक्रम अवधिमा एक-अर्काप्रति दुवैको भावनाले नै यो जोडी टिकाउ हुनुको चुरो कुरो दर्शाइरहेको थियो ।

***

हरिवंशभन्दा मदनकृष्ण साढे सात वर्ष जेठा छन् ।

सहयात्रा लामो समय टिक्नुको कारण उमेरको ग्यापलाई नै मान्छन् मदन । ‘हरिले मलाई आदर गरेको छ । मैले पनि भाइ र साथीको रुपमा माया गरिरहेको हुन्छु । आदर र मायाको संयोगले नै यत्रो लामो यात्रा सँगै हिँड्न सक्यौं कि जस्तो लाग्छ’, उनले भने ।

लगत्तै हरिवंशले उमेरको ग्यापलाई रमाइलो व्याख्या गरे । ‘बोलीचालीमा साढे सातको दशा भन्छन्, तर हामी साढे सातको नाफा भएका छौं ।’

दर्शकदीर्घामा हाँसो छल्कियो ।

काउकुती लाउने यस्ता ‘पन्च लाइन’ तत्काल बुन्न हरिवंश खप्पिस छन् । ट्वाक्क प्रतिक्रिया फालिहाल्ने हाजिरजवाफी छन् । यस्तो लाग्छ, चञ्चलतालाई बालापनदेखि साथै ल्याएका छन् ।

मदन भने गम्भीर छन् । कुरा तौली-तौली सुस्तरी बोल्न रुचाउँछन् । मदनको यही गुण र उमेरमा जेठा पनि भएकोले होला, हरिवंशले उनलाई अभिभावकको स्थानमा राखेका छन् ।

कलाकारिताको यात्रामा जस्तै हातेमालो एक-अर्काको पारिवारिक जीवनमा पनि फैलिएको छ । उनले मदनकृष्ण बिना आजको सफलतामा आफू उभिन नसक्ने भन्दै त्यो साथलाई लाखको कोटिमा राखे ।

साथको प्रसंगमा उनले मदनतिर नजर लगाउँदै भने, ‘जीवनमा मैले आमासँग जम्मा ११ वर्ष र बुवासँग ६ वर्ष मात्र बस्ने मौका पाएँ । तर, मदन दाइसँग ३७ वर्ष सँगै बसेको छु । मेरो जीवनको आधीभन्दा बढी उमेरमा उहाँको गार्जियनसिप पाएको छु ।’

मदनलाई पनि यो साथको मूल्य कम लागेको छैन । कतै एक्लै टाढा गइरहँदा ठूलो आपद् पर्‍यो भने उनले सबभन्दा पहिले सम्भिmने नाम हरिवंशकै हुने रहेछ । हरिवंशको आत्मकथा ‘चिना हराएको मान्छे’ मा भूमिका लेख्दा मदनले त्यही भावना उतारेका छन् ।

***

अब आयो एक-अर्काको गुण केलाउनेमा होडबाजी गर्ने मौका ।

अभिभावकको परिपक्व अन्दाज निकाल्दै मदनले सफल सहकार्यका लागि मान्छेको गुण नै हेर्नुपर्ने बताए । आफूहरु दुवैको राम्रो र नराम्रो गुण भएको उनले तौलिए ।

नराम्रो पक्षबाट गल्ती सुधारेर सिक्ने गरेको भन्दै उनले हरिवंशतिर नजर मोड्दै सोधे, ‘होइन ?’

हरिवंश अब मीठो प्रतिस्पर्धामा उत्रिए ।

उनले सहज पारामा भने, ‘दाइको नराम्रो पक्षभन्दा पनि राम्रो पक्षले नै जितेको छ । दाइको नराम्रो पक्षभन्दा मेरो नै धेरै छ ।’

उता मदनलाई हिसाब चित्त बुझेनछ, भनिहाले- ‘होइन, तिमी राम्रो हो ।’

हरिवंश अझै योगफल मिलाउनतिर लागे, ‘म त्यति नराम्रै नराम्रो गुण भएको मान्छे पनि होइन । ठीकै मान्छे हो । तर, म ५० प्रतिशत राम्रो मान्छे हो, मदन दाइ चाहिँ ९० प्रतिशत राम्रो हो ।’

यही एक-अर्कोलाई गुणकारी देखेकैले उनीहरूको जोडी निरन्तर रुपमा प्रेमिल हुन सकेको हो ।

***

चार दशकअघि उनीहरुबीचको चिनजान रमाइलो माहौलमा भएको रहेछ ।

भक्तपुरको एउटा हाइस्कूलमा कार्यक्रम थियो । मदन त्यहाँ पुग्दा एक जना मान्छेले भने, ‘तिमी भर्खर आएको ? यहाँ एक जना दुब्लो मान्छेले तिमीले जस्तै बेस्कन हँसाएर गयो ।’

त्यो दुब्लो केटालाई उनले त्यसबेला त भेट्न पाएनन् । पछि पो थाहा पाए, ती मान्छे हरिवंश थिए ।

राष्ट्रिय नाचघरमा कार्यक्रम हेर्न पुगेका थिए । ‘स्टेजमा साँच्चै दुब्लो मान्छे साइकल चढेर आएको देखियो,’ मदनले सम्भिmए, ‘साइकल चढेको स्टाइल देखेरै त्यसै हाँसो उठ्यो । भक्तपुरमा हँसाउने मान्छे यही रै’छ भन्ने लाग्यो ।’

पहिले उनीहरु छुट्टाछुट्टै रुपमा कार्यक्रम गर्थे । एक-अर्काको कार्यक्रम कस्तो भयो भनेर हेर्थे पनि ।

तर, एक समय यस्तो ‘बाध्यात्मक’ परिस्थिति आइदियो, जसले उनीहरुलाई एक गराइदियो ।

०३८ बैशाखमा राष्ट्र बैंकको रजत जयन्ती कार्यक्रम थियो । राजा-रानी प्रमुख अतिथि निम्त्याइएका थिए । ९० मिनेटभित्र कार्यक्रम सक्नुपर्ने थियो । दुवैले छुट्टाछुट्टै कार्यक्रम गर्दा समय अपुग हुने भयो ।

गायक रुबि जोशीले सुझाव दिएछन्, ‘तिमीहरु दुई जना सँगै मिलेर किन शो नगर्ने ?’

यो सल्लाह दुवैलाई ठीकै लाग्यो ।

उनीहरुले मिलेर ‘बैंकेश्वर’ भन्ने प्रहसन देखाए । सबैले मन पराए ।

लगत्तै भदौ महिनामा गाईजात्रा थियो । त्यसमा पनि सँगै मिलेर केही गरौं न भन्ने कुरा भयो । उनीहरुले ‘यमलोक’ भन्ने कार्यक्रम देखाए । ‘बैंकेश्वर’ भन्दा पनि राम्रो भयो ।

त्यसपछि उनीहरुको वास्तविक संघर्ष सुरु भयो । दुई जना बेग्लाबेग्लै कार्यक्रम गर्दै आएका कलाकार सँगै जुट्दा हरिवंशले भने झैं उनीहरु ‘चारखुट्टे प्राणी’ बने ।

उनीहरुले कार्यक्रम अडियो क्यासेटमा रेकर्ड गरेर बेच्ने सोच बनाए । ‘यमलोक’ र ‘प्यारेलाइसिस’ नामक कार्यक्रम ६० मिनेटको क्यासेटमा भरे । त्यसपछि टेम्पोमा क्यासेट राखेर शहर डुल्न थाले ।

पसल-पसलमा गएर हाम्रो क्यासेट बेच्दिनुस् न भनेर आग्रह गर्दा पसलेहरु भन्थे, ‘तपाईंहरुसँग लोकगीत छैन ?’

त्यस्तो माग गर्नु स्वाभाविकै थियो । हास्यव्यङ्ग्यको क्यासेटको प्रचलन नै सुरु नभएको समयमा त्यस्ता क्यासेट बिक्लान् भनेर पसलेहरुमा विश्वासै थिएन ।

हामी लोकगीत गाउने मान्छे हैन, हास्यव्यङ्ग्य गर्ने मान्छे हो भनेपछि पसलेहरु ‘दुई-चार पिस छोडेर जानू’ भन्थे । ‘त्यसरी हामीले न्युरोड लगायत मुख्य बजारका पसलमा क्यासेट चार पिस, आठ पिस छोड्दै हिँड्यौं,’ हरिवंशले सुरुवाती संघर्षबारे सुनाए ।

भोलिपल्ट ती पसलहरुमा जाँदा चार थान क्यासेट राख्ने पसलेले १० पिस राख्न थाले । उनीहरुको क्यासेट पसलको स्पिकरमा ठूलो आवाजमा बजिरहेको हुन्थ्यो । मान्छेहरु गुरुम्म जम्मा भएर सुनिरहेका हुन्थे ।

एवं रीतले रातभरि दुवै मिलेर क्यासेट रेकर्ड गर्ने र टेम्पोमा हालेर बजारका पसलमा छर्ने क्रम चलिरह्यो । पञ्चायतको त्यो समयमा त्यस्तो क्यासेट सरकारले ब्यान्ड गर्छ भनेपछि त्यसको माग झनै बढ्न थाल्यो ।

विभिन्न देशमा बसेका नेपालीहरुले नेपालबाट गुन्द्रुक, मस्यौरा, भटमाससँगै उनीहरुको क्यासेट पनि उपहार मगाउन थाले । यो जोडी रसिया जाँदा त्यसबेलाका नेपाली राजदूत कुमार ज्ञवालीले भनेका थिए, ‘तपाईंहरुको क्यासेट त गुन्द्रुक, मस्यौरासँगै नेपालबाट उपहारको रुपमा आउँछ ।’

त्यो सुन्दा उनीहरु दंग परे । नेपालको मौलिक खानेकुरासँग आफ्नो क्यासेटलाई दाँजेको असाध्यै रमाइलो माने ।

त्यो बेला उनीहरुको एक लाख ५० हजार थान क्यासेट बिक्री भयो । प्रतिक्यासेट नौ रुपैयाँ पाउँथे ।

त्यसबेलासम्म काठमाडौं दुवैको घर थिएन । त्यसरी आम्दानी भएपछि मदन र हरि दुवैले घडेरी किने । कामकै आम्दानीले घर बनाए ।

हरिवंशले चाहिँ त्यो बेलामा एकदम इज्जत हुने चाइनिज इँटाको घर बनाए । पैसा जम्मा हुँदै जाँदा तला थप्दै गए । अर्को तला भाडामा लगाउँदा त्यसबाट जीवन सहज होला भन्ने सोच पनि थियो ।

उनले सन्तुष्टिको पाटो सुनाए, ‘चाइनिज इँटाको घर हेर्दा मलाई क्यासेट चाङ लगाएर सुतेको जस्तो लाग्थ्यो ।’

उनीहरुको कमाइ देखेर अरु कलाकार पनि दंग पर्थे । कारण, उनीहरुले कलाकारितामा व्यावसायिकता सुरु गरेका थिए । एकदिन नारायणगोपालले सोधे, ‘तिमीहरुले त पैसा नलिईकन प्रोग्राम गर्दैनौं रे, हैन ?’

दुवैले एक स्वरमा जवाफ दिए, ‘हो दाइ, हामी त पैसा लिन्छौं ।’

‘कति लिन्छौ तिमीहरु ?’

‘हामी त एक शोको पाँच हजारदेखि एक लाख रुपैयाँसम्म लिन्छौं ।’

नारायणगोपालले पनि निर्णय गरेछन्, ‘म पनि पैसा नलिईकन अब गीत नै गाउँदिनँ ।’

कलाकारहरु व्यावसायिकतासँग नजोडिएको बेलाको कुरा थियो यो ।

हरिवंशले भने, ‘त्यो बेलामा कार्यक्रम गर्नेहरुलाई बकस दिने, असर्फी दिने र कसैलाई जग्गा नै दिने चलन थियो । तर, टिकट बेचेर, क्यासेट बेचेर कलाकारको हातमा यति ठूलो रकम परेको हाम्रै हो जस्तो लाग्छ ।’

पैसाको कुरा आए पनि उनीहरुले व्यावसायिक यात्रा इमानदारीपूर्वक अगाडि बढाउँदै आए ।

***

सहयात्रा यति लामो समयसम्म अटुट हुनलाई सम्बन्धमा हार्दिकता नै चाहिन्छ । तर, व्यावसायिक साझेदारीमा इमानदारी र समझदारी मुख्य कुरा हुन आउँछ । जुन पाटोलाई ध्यान दिएकै कारण मह जोडीको यात्रा मीठो भयो ।

मदनले धेरैको साझेदारी जीवनमा सुरुमा संघर्षको बेला एकदम मिले पनि सफलता हात परेपछि लोभ र घमण्डले फाटो आएको देखेका छन् ।

हरिवंश पनि यस कुरामा सहमत देखिए । साझेदारीमा सबैभन्दा फाटो ल्याउने कुरा नाम र दाम भएको र दुवै कुरा आफूहरुले बराबरी बाँडेकैले सहयात्रा टिकेको उनको आकलन छ ।

‘दुईमध्ये कसैले बेइमानी गरेको भए र एक्लै कमाएर हिँडेको भए हाम्रो साथ रहँदैनथ्यो’, उनले व्यावसायिक सफलताको सूत्र सुनाए, ‘हामीले कुनै काम गरेर पाँच रुपैयाँ कमायौं भने साढे दुई रुपैयाँ हिसाब गरेर लिन्छौं ।’

हरिवंशले साझेदारीको अझ कठोर तर यथार्थ पाटो सुनाए । केही गरी कार्यक्रम गर्दा नचलेर दुवै जना फ्लप भएको भए जोडी पहिले नै छुट्टइिसक्ने उनको बुझाइ छ । ‘हाम्रो सफल कामले नै जितेको हो । एक-अर्काको व्यवहार देखेर हामीले साथ दिएको हैन । जोड्ने तत्व सफलता भइदियो । सफलताले त पैसा त्यसै आइ नै हाल्छ,’ उनले बताए ।

सफलताले जिम्मेवारी थपेर अनुशासित पनि बनाएको दुवैको अनुभव छ ।

अर्को कुरा, एक-अर्कालाई जित्न खोज्ने र सफलताको मातले मैं राम्रो हो भन्ने अहंकारले पनि सहयात्रा बिथोलिन्छ । यात्राको क्रममा कसैले हरिवंशलाई फुक्र्याए, कसैले मदनकृष्णलाई उचाले । तर, ती कुराबाट बतासिएर कसैले पनि हावामा महल बनाएनन् । दुवै हृदयमा फिल्टर राखेर अहंकार, प्रतिस्पर्धा जस्ता प्रदुषित भावनालाई छाने ।

हरिवंशले भने, ‘हास्यव्यङ्ग्यको सत्तामा हामी पनि पुग्यौं । यो सत्तामा पुगे पनि एक्लै अगाडि बढ्न खोजेनौं । एक जनाले अर्कालाई साथै लिएर हिँड्यौं ।

अझ कस्तो भने, एक जना थाकेर सुस्ताउँदा र मन मारेर बस्दा अर्कोले तानेर हिँडाउने, जोस्याउने काम समेत दुवैले आलोपालो गरे ।

यो ३७ वर्षको दौरानमा मह जोडीले धेरै कलाकारसँग स्टेज कार्यक्रममा सँगै काम गरे । मास्टर रत्नदास प्रकाशदेखि नारायणगोपाल, नातिकाजी, प्रेमध्वज, योगेश वैद्य, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, कुन्ती मोक्तान हुँदै पछिल्लो समयकी आस्था राउतसम्म उनीहरुका गायक-गायिकासँग एउटै मञ्चमा प्रस्तुति दिए ।

बीचमा कति कलाकार बिते, कति कलाकारको नाम कम सुनिन थालेको छ । यो जोडी चाहिँ उस्तै जोश र सक्रियतामा अझै हिँडिरहेका छन् । दुई जना साथै भएकोले एकले अर्कोलाई भर दिँदा यो सक्रियता सम्भव भएको हो ।

***

हरिवंशले श्रीमती मीराको निधन भएपछि त्यही पीडालाई पोख्दै किताब लेखे । सुरुवाती जीवनदेखि पत्नीवियोगसम्मका कुरा ‘चिना हराएको मान्छे’ मा उनले उतारेका छन् ।

उनले त्यो किताब छापिँदा मदनकृष्णलाई नै धेरै फाइदा भएको कुरा बताए । ‘किनभने मैले नलेखेको भए मदन दाइले पनि लेख्नुहुँदैनथ्यो’, मदनकृष्णले किताब लेखेको भेद खोलिदिए ।

सहयात्रीले किताब निकालेपछि मदनमा पनि ऊर्जा आयो । उनले एक लाख ११ हजार शब्दको किताब तयार पारेर प्रकाशकलाई जिम्मा लगाइसकेका छन् । नत्र उनलाई त सधैं लाग्छ, आफ्नो कथा पढेर कसले के पाउला र !

‘हरिले किताब नलेखेको भए म सायद लेख्दिनँ थिएँ होला । मलाई वास्तै हुँदैन थियो । साझेदारीको फाइदै हो यो ।’

जीवनमा खानादेखि ज्ञानसम्मको विविध कुरा चाहिन्छ । तर, त्यो सबै प्राथमिकताले निर्धारण गरिदिन्छ, कुन कुरा कहिले उपभोग गर्ने ।

मदनकृष्णलाई पनि अहिले त्यस्तै कुराले छोपेको छ । आफ्नो साढे ६ दशक लामो जीवन अटाएको आत्मकथाको किताबभन्दा अरु नै कुराले उनको ध्यान मोडेको छ । उनको जीवन संगिनी क्यान्सरबाट पीडित छिन् । उनी आफैं पार्किन्सन रोगबाट गलेका छन् ।

‘अहिले मेरो ध्यान घरमै छ । आत्मकथाभन्दा हजार गुणा ठूलो छ मलाई श्रीमतीको स्वास्थ्य,’ उनले बोझिलो गलामा सुनाए ।

घरको दुःखले थिचिरहँदा पनि उनले फुर्सदमा अनेक भाव जम्मा गरेर किताब लेखिसिध्याएका हुन् ।

त्यो किताबमा हास्यव्यङ्ग्य यात्राका किस्सा मात्र हुनेछन् कि त्यो हँसिलो चेहरा पछाडिका थकान र सुस्केरा पनि ?

३७ वर्षदेखि ‘मह’ को स्वाद चाखिरहेका आँखाहरु पर्खिन तयार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment