Comments Add Comment

गोंगबु बसपार्क यसरी बन्दैछ अत्याधुनिक

हरियाली बसपार्कसँगै हेल्थ क्लिनिक समेत रहने

२५ माघ, काठमाडौं । पछिल्ला दिनमा तपाई काठमाडौंको नयाँ बसपार्क पुग्नुभएको छ ? पुग्नुभयो भने पहिले र अहिलेको बसपार्कमा आएको परिवर्तन पक्कै महशुस गर्न पाउनुहुनेछ । अहिले नयाँ बसपार्कभित्र स-सना टहरा हटाइएका छन्, जहाँ अस्तब्यस्त र जथाभावी रुपमा ब्यापार गरिन्थ्यो । तुलनात्मक रुपमा बसपार्क सफा पनि देखिन थालेको छ ।

महानगरपालिकाले गोंगबु बसपार्क सञ्चालनको जिम्मा दिएको लोत्से बहुउद्देश्यीय प्रालिले कम्पनीले अहिले नयाँ बसकपार्कको रुप फेर्ने काम सुरु गरेको छ । निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणाली अन्तरगत बसपार्कको स्तरीकरण सुरु भएको हो ।

अबको दुई वर्षभित्र नयाँ बसपार्क काठमाडौंको सुविधासम्पन्न बसपार्कका रुपमा परिणत हुनेछ । यसलाई अन्तर्राष्ट्रिय स्तरको बसपार्कका रुपमा विकास गर्ने लक्ष्य महानगरपालिकाले लिएको प्रमुख तथा कार्यकारी रुद्रसिंह तामाङले बताए । २ वर्षअघि ३० वर्षका लागि नयाँ बसपार्क स्तरीकरण र सञ्चालनको जिम्मा लिएको लोत्सेले पनि त्यसैअनुरुप कामको थालनी गरेको छ ।

अत्याधुनिक सुविधाको मल

अहिले बसपार्क हाताभित्रबाट अतिक्रमण गरेर बनाइएका ५ सय टहरा हटाइएको लोत्से बहुउदेश्यीयका कार्यकारी अध्यक्ष दीपक कुँवरले अनलाइनखबरलाई बताए । बसपार्कभित्रै सुविधासम्पन्न सपिङ मलको भवन निर्माण भइरहेको छ । ७ तले यो मल अत्याधुनिक र सुविधासम्पन्न हुनेछ ।

झण्डै २६ करोड रुपैयाँको लागतका बनिरहेको यो मलभित्रै फिल्म हल, डिपार्टमेन्टल स्टोर, बैंक, फूड कोर्ट, पार्टी प्यालेस, रेष्टुरेन्ट, कफी सप लगायत थुप्रै सेवाहरु दिइनेछ ।

उनले बसपार्कमा कम्पनीले बनाउने सबैसंरचना पूर्ण भूकम्प्रतिरोधी हुने बताए । मल बेसमेन्टमा साना सवारीको पार्किङ हुनेछ ।

झण्डै १ सय ६१ रोपनीमा फैलिएको बसपार्कभित्र बन्ने मलमा होटलको सुविधा दिने/नदिने निर्णय भइनसकेको कुँवरले बताए । पार्किङ क्षेत्र बढाउन होटल बसपार्ककको दुईतर्फ होटल राख्ने योजना अहिले स्थगित गरिएको छ ।

‘बसपार्कभित्र आएपछि बस कुर्दा एक-दुईघण्टा बिताउन अब यात्रुलाई सास्ती हुनेछैन’ अध्यक्ष कुँवरले भने,’अब यात्रुले बसपार्कभित्र शहरभरि पाइने धेरै सुविधा लिनसक्नेछन् ।’

बसपार्कसँगै हेल्थ क्लिनिक पनि

बसपार्कको स्तरीकरणका क्रममा लोत्सेले बसपार्कभित्रै निःशुल्क हेल्थ चेकअपको सुविधा पनि दिने भएको छ । ग्राण्डी इन्टरनेशन हस्पिटलसँगको सहकार्यमा बसपार्कभित्र हेल्थ क्लिनिक सञ्चालन गर्न लागिएको हो ।

जहाँ सञ्चो नभएका यात्रु तथा चालकले पैसा नतिरी स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । समान्य किसिमका औषधी पनि क्लिनिकमा नै राख्ने तयारी छ ।

सोलार बत्ती र ड्राइभरको लज


अब बसपार्क क्षेत्रलाई सोलार बत्तीले झलमल्ल पारिनेछ । अहिले ५० वटा सोलर जडान भइसकेकोमा अब थप ५० वटा सोलार राख्न लागिएको छ । यसमा महानगरपालिको ७० प्रतिशत र लोत्सेले ३० प्रतिशत लगानी गर्नेछन् । अरु बत्ति पनि आवश्यकता अनुरुप जडान गरिने तामाङले बताए ।

यसैगरी लोत्सेले ड्राइभरका लागि बसपार्कभित्रै सुत्न सकिने गरी लजको व्यवस्था पनि गर्ने भएको छ । यातायात ब्यवसायीसँगको सहकार्यमा न्युनतम् लागतमा चालकलाई हाइजेनिक खानासहित लजको सुविधा दिने तयारी छ ।

‘लामो गन्तब्यबाट आएका चालकलाई बसभित्रै सुत्नुपर्ने बाध्यता पनि अब हट्नेछ’ कुवँरले भने, ‘हामी ब्यवसायीसँग सल्लाह नै गरेर यो प्रवन्ध गर्नेछौं ।’

सफा र हरियाली बसपार्क

बसपार्कमा अब नियमित सरसफाइको योजना पनि बनाइएको छ । बसपार्कबाट छुट्ने सबै बसमा डस्टबिन राख्नैपर्नेछ । बसपार्कलाई राति १२ बजेपछि बन्द गरिनेछ र रातभर सरसफाइ पनि गरिनेछ । बसपार्कक्षत्रेमा हरियाली प्रवर्द्धन पनि गरिनेछ ।

बसपार्कभित्रका सबै भागलाई फोहोरमुक्त राखिनेछ । हरेक गाडीलाई दैनिक सफा गर्ने प्रवन्ध पनि मिलाइने भएको छ । त्यहाँ रहेको घण्टाघरलाई स्तरोन्नती गरिनेछ । त्यसको मुनी बगैँचासमेत बनाइनेछ ।

‘यो बसपार्कमात्रै होईन, यहाँबाट छुट्ने बस पनि सरसफाइका मामलामा कमजर हुने छैनन्’ कुवँरले भने ।

बसको नियमित परीक्षण

यसैगरी बसपार्कबाट छुट्ने सबै बसलाई मेकानिकल इञ्जिनियरले चेक गर्नेछन् । बसको मेकानिकल अवस्था ठिक नभए त्यसलाई मर्मत गरिनेछ ।

सिप्रदीसँगको सहकार्यमा बसपार्कभित्रै बस मर्मतको अत्याधुनिक ग्यारेज सञ्चालनमा ल्याइनेछ । ‘यो गरिएपछि यहाँबाट छुट्ने बसहरु पूर्णरुपमा सुरक्षित हुनेछन् भने बाटोमा बिग्रने जोखिम लगभग सकिनेछ । यसले यात्रु, चालक र ब्यवसायी सबैलाई फाइदा हुन्छ ।’

आरामसहित सुरक्षा पनि

बसपार्कभित्रै सशुल्क रिफ्रेसिङ सेन्टर पनि सञ्चालनको तयारी गरिएको छ । जहाँ यात्रुहरुले गाडी नछुटिन्जेल नुहाउन र आराम गर्न पाउनेछन् । लकर सुविधासहित यस्तो सुविधा दिइनेछ ।


यसका लागि भने बिताएको समयअनुसार निश्चित रकम भुक्तानी गर्नुपर्नेछ । यात्रुलाई बसबाट ओर्लिएपछि केही समय यहाँ तिएर रिफ्रेस हुन यसले सहयोग गर्नेछ ।

बसपार्कभित्र सुरक्षाका लागि प्रहरीको बिट पनि राखिनेछ । बसपार्कलाई राति केही घण्टा तोकेर नियमित बन्द गरिनेछ ।

विशेषगरी रातको समयमा पार्किङमा राखिएका बसमा हुने अनैतिक र आपराधिक काम रोक्न बन्द गर्न तयारी गरिएको हो । सोही समयमा बसपार्कको सरसफाइ पनि गरिनेछ ।

ई-टिकेटिङको योजना

यसैगरी केही समयपछि नै नयाँ बसपार्कभित्र अब केही समयपछि ई-टिकेटिङ पनि सुरु गरिनेछ । यात्रुले अनलाइनबाटै टिकट बुक गर्न सक्ने गरी लोत्सले ई-टिकेटिङ सुरु गर्ने बताएको छ ।

यसैगरी बसपार्कमै पनि दलालहरुलाई हटाउन व्यवसायीसँगको सहकार्यमा काउन्टरहरुको टिकेटिङलाई कम्युटराइँड गर्ने योजना छ ।


सबाट यात्रुलाई ठग्ने परम्पराको अन्त्य हुनेछ भने सास्ती पनि घट्नेछ । ‘बस सिस्टममा चल्नेछन् । इलेक्टि्रोनिक्स डिस्प्ले बोर्डमा छुट्ने बसहरुको जानकारी राखिनेछ’ कुँवरले भने,’यात्रुलाई अहिले जस्तो टिकट काटेर पनि उभिएर जानुपर्ने स्थिति अन्त्य हुनेछ ।’

अहिले बसपार्कभित्र मनलाग्दी तवरले टिकट काटने गर्दा यात्रु ठगिने क्रम बढ्दो छ । केही समयभित्रै सबै काउन्टरलाई हटाएर लोत्सेले एकद्वार प्रणालीबाटै आफ्नै काउन्टरको ब्यवस्थापन गर्ने जनाएको छ ।

२८ वर्षपछि सरकारकै पोल्टोमा


बसपार्कको स्तरीकरणपछि झण्डै ८ सय बस यहाँ पार्किङ गर्न सकिने छ । बसपार्क साँघुरो हुन सक्ने भन्दै डिजाइनमा परिवर्तनसहति बसपार्कको पूर्वीभागतर्फ होटललाई हटाएर पार्किङ नै बनाउने योजना छ ।

बसपार्कभित्र यात्रुहरुका लागि आवश्यक न्युनतम् पूर्वाधार विकास गरिनेछ । योजना पूरा भएपछि बसपार्कभित्र अहिले भएका सबै संरचनाहरु बदलिनेछन् । अबको २८ वर्षपछि लोत्सेले यी सबै संरचना सरकारलाई हस्तान्तरण गर्नेछ ।

फोटोःकविन अधिकारी
ग्राफिक्सः लोत्से

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment