Comments Add Comment

प्रज्ञामा समको सम्झना

काठमाडौं । नाट्यसम्राट् बालकृष्ण समको स्मृतिमा राजधानीमा विशेष प्रवचन कार्यक्रम गरिएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाली शिक्षा परिषद्ले समको ११५औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा समको साहित्यिक योगदानको चर्चा गरियो ।

राष्ट्रकवि माधव घिमिरेले सम कवितामा पनि उत्तिकै अब्बल भए पनि नाट्य विधामा सफलता पाउँदै यस मार्फत नेपाली साहित्यलाई शिखरमा पुर्‍याएको बताए ।

प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम प्रज्ञा-प्रतिष्ठानका संस्थापक सदस्य एवं पूर्व उपकुलपति समेत रहेको स्मरण गर्दै उनी नेपाली वाङ्मयका अमूल्य निधि भएको टिप्पणी गरे ।

यस्तै, सदस्यसचिव डा. जीवेन्द्रदेव गिरीले सम पूर्वीय र पश्चिमा दर्शनलाई आपसमा जोड्ने बौद्धिक र दार्शनिक साहित्यकार भएको उल्लेख गरे ।

प्रा. कृष्ण गौतमले विशेष प्रवचन दिँदै ‘समको जीवन नै कवितामय भएको’ बताए । उनले भने, ‘सम जीवनका सबै जटिलता बुद्धिबाट नै समाधान गर्न सकिन्छ भन्ने दर्शन बोकेर हिँड्ने बुद्धिवादी र समन्यवादी स्रष्टा थिए ।’

कार्यक्रमका सभापति डा. तारानाथ शर्माले बालकृष्ण समसँगका स्मृतिहरू केलाउँदै सम आलोचनालाई पनि पचाउन सक्ने उदारवादी स्रष्टा भएको उल्लेख गरे ।

नेपाली शिक्षा परिषद्की सदस्य-सचिव रमा शर्माले समलाई आफूले जातीय विभेद विरोधी साहित्यकारको रुपमा पाएको उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment