Comments Add Comment

प्रधानमन्त्रीलाई एमालेको प्रश्न- चुनाव घोषणा गर्ने कि राजीनामा दिने ?

एमाले नेताले मागे कांग्रेसको धारणा, मौसमी अभिव्यक्तिले आंशका जन्मायो

२५ माघ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले बैशाखमा स्थानीय चुनाव हुने सम्भावना अन्त्य भएको ठहर गर्दै यसबारे सत्ता साझेदार कांग्रेससँग जवाफ मागेको छ । एमाले नेताहरुले कांग्रेसका शीर्ष नेताहरुसँग ठाडो प्रश्न गरेका छन्-चुनाव नगराउने हो ?

यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रचण्डले चुनाव नगराउने प्रष्ट भइसकेको भन्दै कांग्रेसको पोजिसन प्रष्ट पार्न आग्रह गरेको एमालेका एक नेताले अनलाइनखबरलाई बताए ।

केपी ओलीले जस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि कांग्रेस नेताहरुसँग यसबारे छलफल गरेका छन् ।

सत्तापक्षले एमाले र मधेसी मोर्चासँग छलफलपछि चुनावको मिति घोषणा गर्ने भनेर प्रचार गरे पनि यसबीचमा सम्वादका कुनै पहल नभएको नेम्वाङले बताए । उनले भने-उहाँहरुले प्रचारचाहिँ व्यापक गर्नुभएको छ, तर आजसम्म हामीसँग औपचारिक अनौपचारिक कुनै कुरा भएको छैन । उहाँहरुको उद्देश्य प्रष्टै छ, चुनाव नगराउने ।’

कांग्रेस नेताहरुसँग अनौपचारिक संवादमा रहेका एमाले नेता नेम्वाङले कांग्रेसभित्र दुविधा रहेको र अधिकांश नेताहरु चुनावको पक्षमा रहेको बताए ।

कांग्रेस नेताहरुलाई आफूले भनेको कुरा उधृत गर्दै नेम्वाङले भने- ‘प्रधानमन्त्रीले चुनाव गराउँदैनन्, तपाईहरुको चाहना के हो ? तपाईहरु पनि चुनाव नगराउने बाटोमै जाने हो ? भनेर हामीले सोध्दा कांग्रेसका धेरै साथीहरु चुनाव गराउनैपर्छ भन्नुहुन्छ ।’

प्रचण्डले चुनाव नगराउने तर्क गर्दै एमालेले कांग्रेसको आधिकारिक दृष्टिकोण मागेको छ । ‘स्थानीय चुनाव गराउनु भनेको प्रचण्डको लागि मृत्युपत्रमा हस्ताक्षर गर्नु हो, चुनाव पनि हार्ने, प्रधानमन्त्री पनि त्याग्नुपर्ने काम उनी किन गर्छन् ?’ एमालेका एक नेताले अनलाइनखबरसँग भने ‘मधेसी मोर्चा उनका लागि वहानामात्र हो ।’

सरकारले चुनावको मिति घोषणा गर्नुपर्नेमा निर्वाचन आयोगलाई तयारीको पत्र पठाउनुको अर्थ निर्वाचन नगराउने नियत प्रष्ट हुने एमालेको दाबी छ । कतिपय एमाले नेताहरुले सरकार परिवर्तनको बाटोमा अघि बढ्न कांग्रेस नेताहरुलाई आग्रह समेत गरेका छन् ।

एमाले संसदीय दलका उपनेता नेम्वाङले भने आफूहरु अहिले सरकार परिवर्तनको खेलमा नरहेको दाबी गरे । तर, चुनावको मिति घोषणा नगर्ने हो भने प्रधानमन्त्रीको सामु धेरै विकल्प बाँकी नरहने उनले बताए ।

नेम्वाङले अनलाइनखबरसँग भने- ‘प्रधानमन्त्रीले कि त सक्दिनँ भन्नुपर्‍यो, होइन भने चुनावको मिति घोषणा गर्नुपर्‍यो । यो ढंगले बस्न त सुहाएन । चुनावको मिति नदिने हो भने हामीले राजीनामा माग्ने भन्दा पनि जनताले नै माग्नेछन् । हामीलाई प्रमको राजीनामा होइन, चुनावको मिति चाहिएको छ ।’

मौसमी कुराले शंका जन्मायो

प्रधानमन्त्री प्रचण्डले मंगलबार नै निर्वाचन आयोगका अधिकारीहरुहरुसँगको भेटमा चुनाव हुन्छ, यसमा शंका नगरौं भनेका छन् । तर, चुनावबारे प्रधानमन्त्रीले भिन्नाभिन्नै अभिव्यक्तिहरु दिने गरेका कारण विपक्षी दल आशंकित भइरहेको छ ।

मन्त्रिपरिषदबाट चुनावको तयारीका लागि निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेका प्रधानमन्त्री प्रचण्डले त्यसको दुई दिन नबित्दै मधेसी मोर्चाका नेताहरुसँगको भेटमा संविधान संशोधनपछिमात्रै चुनावको मिति तोकिने बताएका थिए ।

त्यसैगरी मधेसी मोर्चाका नेताले कांग्रेस सभापति शेरबहादुर देउवालाई गरेको भेटमा सत्तारुढ दलका नेता शेरबहादुर देउवाले पनि संविधान संशोधनमा जोड दिने आश्वासन दिएका थिए ।

प्रचण्ड र शेरबहादुरले यसरी मधेसी मोर्चासँग चुनावको मिति नतोकिएको भन्दै आश्वस्त पार्ने क्रममा मौसमी कुरा गरेपछि चुनावबारे सरकारको नियतमाथि नै शंका उब्जिएको विपक्षी एमालेका नेताहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment