+
+
Shares

मधेसी मोर्चाले गर्दा चुनावको मिति तोक्न सकिएनः प्रचण्ड (भिडियोसहित)

विपक्षीलाई आग्रह- भ्रम सिर्जना नगर, सरकारलाई सघाऊ

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २६ गते ११:५६

२६ माघ, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चासमेतलाई समावेश गराएर चुनाव गर्नुपर्ने भएकाले मिति तोक्न नसकेको बताएका छन् ।

संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत नभएसम्म स्थानिय तहको निर्वाचन मिति घोषणा नगरिने भन्दै उनले भने, ‘तर, चुनावको मिति तोके बराबर छ ।’

प्रेस सेन्टर चितवनले बुधबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चासँग सहमति बनेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने जानकारी दिए ।

‘क्याबिनेटबाट डिसिजन गरेर तयारी सुरु गर्नू भनिसकेपछि र वैशाख-जेठभित्रै निर्वाचन गरिसक्नुपर्छ भनेपछि मिति तोके बराबर छ । त्यसको निम्ति मात्रै टेक्निकल्ली गते नभनिएको हो,’ प्रचण्डले भने ।

उनले मधेसी मोर्चासँग वार्ता चलिरहेकाले कुनै पनि बेला मिति तोकिने समेत बताए । प्रचण्डले भने, ‘मधेसी मोर्चासँग वार्ता चलिराख्या छ । एउटा समझदारी बनाउने आवश्यकता छ । उहाँहरुले समझदारी भएपछि मात्रै गते तोक्दा ठीक हुन्छ भन्ने कन्सर्न देखाएपछि अवधि तोकिएको छ । गते कुनै पनि बेला समझदारी हुनेबित्तिकै तोकिन्छ ।’

भिडियो हेर्नुहोस् 

सबै नेपाली जनताले बैशाख वा जेठमा निर्वाचन गर्ने सरकारको तयारीबारे जानकारी पाइसकेको दावी गर्दै उनले निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरे । उनले निर्वाचनमा होमिन सबैलाई आग्रह पनि गरे ।

‘निर्वाचनको निम्ति आवश्यक पर्ने सबै ऐनहरु बनिसकेका छन् । निर्वाचन अघि बढाउन अब ऐनको समस्या छैन,’ उनले भने, ‘स्थानीय तहको कार्यदलको रिपोर्टलाई १५ दिन समय दिइएको छ । त्यसै अनुसार दुई हप्ता सदन स्थगित गरिएको हो । अब निर्वाचन हुनेमा शंका रहेन ।’

सरकारलाई सघाउन विपक्षीलाई आग्रह

संविधान संशोधन विधेयक पारित गराउन पहिलो कोशिश हुने भन्दै उनले समझदारी बनाउन अप्ठ्यारो भयो भने अर्को प्रयास थालिने बताए । तर त्यस्तो प्रयास के हो भन्नेबारेमा भने उनले खुलाएनन् ।

नेकपा एमालेले निर्वाचन गर्न नसके सरकार छोड्नुपर्ने बताइरहको छ नि भन्ने भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले निर्वाचन गर्ने प्रतिबद्धता मात्रै होइन, प्रक्रिया नै अगाडि बढाइसकेको छु, तयारी अगाडि बढिसकेको छ । यो अवस्थामा भ्रम सिर्जना गर्ने अभिव्यक्ति दिनुको सट्टा सरकारलाई सहयोग गर्न मैले प्रतिपक्षलाई अपिल गरिरहेको छु ।’

‘सरकार झन् बलियो’

प्रधानमन्त्री प्रचण्डले चुनावलाई धाँधलिरहित, पारदर्शी र मितव्ययी बनाउन भोटिङ मेसिनको प्रयोग गर्ने प्रक्रियाको थालनी गरिसकेको बताए । उनले भने, ‘चुनावलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित, पारदर्शी र मितव्ययी पनि बनाउन भोटिङ मेशिन प्रयोगका लागि आवश्यक तयारी सरकारको तर्फबाट अगाडि बढाइएको छ ।’

प्रधानमन्त्री प्रचण्डले सरकार कमजोर नरहेको भन्दै अझै बलियो बनेको दावी गरे । उनले भने, ‘कमजोर भएको छैन सरकार । सरकार बलियो छ, अझ बलियो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?