+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

राप्रपाको अनौठो लाइनः सबैलाई ‘चित्त बुझाएर’ राजतन्त्र फर्काइने

कमल थापा भन्छन्- परिवर्तनका पक्षधरलाई समेत चित्त बुझाइन्छ

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २ गते २०:५५

२ फागुन, काठमाडौं । गणतन्त्रमा आइसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी अन्ततः राजतन्त्रको लाइनमा ‘ब्याक’ भएको छ । दुई पार्टी मिलेर बनेको एकीकृत राप्रपाले संवैधानिक राजतन्त्र फर्काउने निर्णय गरेको छ ।

तर, उसले हिंसात्मक विद्रोहबाट नभई कांग्रेस, एमाले र माओवादीजस्ता परिवर्तनका पक्षधरलाई समेत चित्त बुझाएर राजतन्त्र फर्काउने नीति अगाडि सारेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महाधिवेशनका लागि तयार पारेको राजनीतिक दस्तावेजमा संवैधानिकरुपमा राष्ट्रिय एकता एवं सांस्कृतिक एकताका प्रतीकका रुपमा राजसंस्था राख्नुपर्ने प्रस्ताव अघि सारेका हुन् । थापाको यो प्रतिवेदनलाई सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सर्वसम्मत रुपमा पारित गरेको छ ।

महाधिवेशनमा पेश हुने राजनीतिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्न राजधानीमा आइतबार र सोमबार दुई दिन राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको थियो । बैठकमा अध्यक्ष थापाले ‘राप्रपाको सिद्धान्त, नीति एवं भावी कार्यदिशासम्बन्धी कार्यपत्र’ शीर्षकमा १३ पृष्ठ लामो प्रतिवेदन पेश गरेका छन् ।

अध्यक्ष थापाको प्रतिवेदनमा ‘राजसंस्था’ उपशीर्षकमा बेग्लै चर्चा गरिएको छ । जसमा थापाले भनेका छन्- ‘राष्ट्रिय एकता सम्बर्द्धन गर्ने लक्ष्यका लागि राष्ट्रियतासँग सकारात्मक रुपमा जोडिएका संस्थाहरुको उपयोग गर्नु जरुरी हुन्छ । यस परिप्रेक्ष्यमा राजसंस्था नेपालमा शान्ति स्थायित्व र विकासका लागि आवश्यक छ भन्ने राप्रपाको धारणा रहेको छ ।’

तर, अब स्थापना हुने राजसंस्था संसदको मातहतमा रहने राप्रपाले स्पष्ट पारेको छ । थापाले प्रतिवेदनमा लेखेका छन्- ‘सार्वभौम सत्ता जनतामा निहित रहने, देशको शासन जनताबाट निर्वाचित प्रतिनिधिहरुले गर्ने तथा संसदको परिधि र नियन्त्रण अन्तरगत राष्ट्रियता र सांस्कृतिक एकताको प्रतिकको रुपमा राजसंस्था रहनेछ ।’

बल प्रयोग नगर्ने, सबैलाई मनाएर राजा फर्काउने

कमल थापाले आफ्नो प्रतिवेदनमा ०६२/०६३ को आन्दोलनले ल्याएको परिवर्तन र गणतन्त्रप्रति पनि राप्रपा सचेत रहेको उल्लेख गरेका छन् । उनले आफ्नो प्रतिवेदनमा भनेका छन्- ‘०६२/०६३ को जनआन्दोलनपछिको परिवर्तन एवं नेपालको संविधान २०७२ जारी भएपश्चात नेपाल वैधानिकरुपमा गणतन्त्रमा प्रवेश गरेको तथ्यप्रति पनि राप्रपा सचेत रहेको छ ।’

र, यही तथ्यलाई आत्मसाथ गर्दै राप्रपाले ‘परिवर्तनकारी शक्तिलाई समेत चित्त बुझ्ने गरी’ राजसंस्था फर्काउने दाबी गरेको छ । राप्रपाको दस्तावेजमा यसबारे अनौठो दाबी गर्दै भनिएको छ- ‘अबको राजसंस्था परिवर्तनका पक्षधरहरुलाई समेत चित्त बुझ्ने सहमति र सम्झौताको साझा संस्था हुनेछ ।’

थापाले यहाँ ‘परिवर्तनका पक्षधर’ भनेर कांग्रेस, एमाले र माओवादी लगायतलाई संकेत गर्न खोजेका छन् ।

राप्रपा अध्यक्ष थापाले बल प्रयोग गरेर ल्याइने परिवर्तन टिकाउ नहुने र यसले विकृति निम्त्याउने भन्दै राजसंस्था स्थापनाका लागि बल प्रयोग वा हिंसाको बाटो नअपनाइने स्पष्ट पारेका छन् ।

थापाको प्रतिवेदनमा थप भनिएको छ- ‘स्थापित मान्यता र संस्थाहरुलाई हिंसा र ध्वंशको बलमा परिवर्तन गर्न खोज्दा समाजमा विकृति, विसंगति, व्यभिचार र भ्रष्टाचारले प्रोत्साहन पाउँछ । अस्थिरता र अराजकता बढ्न जान्छ र वाह्य शक्तिले चलखेल गर्ने अवसर पाउँछ ।’

सबैलाई मनाएर संवैधानिक प्रक्रिया, जनमत संग्रह वा सर्वपक्षीय सहमतिबाट राजसंस्था फर्काउने नीति लिएको राप्रपाले आफ्नो यो सिद्धान्तलाई ‘सम्वर्द्धनवादको सिद्धान्त’ भनेको छ ।

राप्रपाको प्रतिवेदनमा भनिएको छ- ‘हाम्रोजस्तो समाजमा हिंसात्मक र हठात होइन, निरन्तरतासहितको परिवर्तनमात्र टिकाऊ हुन सक्दछन् ।’

राप्रपा कार्यसम्पादन समितिको बैठकमा राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आर्थिक प्रतिवेदन पेश गरेका छन् ।

राप्रपाको महाधिवेशन फागुन ६ गतेदेखि राजधानीमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?