६ फागुन,काठमाडौं । विहीवार साँझ एमाले पोलिटव्यूरो बैठक सकिनै लाग्दा गंगालाल तुलाधरले पार्टी नेतृत्वलाई प्रश्न सोधे-संविधान संसोधनमा एमाले लचिलो हुने भनेर समाचार आइरहेका छन्,तपाईहरुले यहाँ लचिलो हुने कुरा पनि गर्नु भएको छैन । लचकताको सन्देश कसरी गयो ? यसबारे बैठकले प्रष्ट सन्देश दिनुपर्छ ।
निर्वाचनको मिति तोकिए एमालेले संविधान संसोधनमा लचकता देखाउने चर्चा चलिरहेका बेला पोलिटव्यूरो बैठकमै यसले प्रवेश पाए पनि अध्यक्ष केपी शर्मा ओलीले प्रष्ट जवाफ दिएनन् । यद्यपी संविधान संसोधन बिधेयकप्रति पार्टीको अडानमा कुनै फेबरदल नरहेको भने उनले प्रष्ट पारे ।
सरकारले निर्वाचनको मिति तोकेमा मतदान मार्फत संसोधन बिधेयक पास वा फेल जे भए पनि प्रक्रियामा सहभागी हुन एमाले लचिलो बन्ने संकेत सत्तापक्षका नेताहरुले बुझेका छन् । तर एमाले सचिव गोकर्ण विष्टले भने संविधान संसोधनको बारेमा पार्टीको अडान कायमै रहेको बताए ।
यदि संविधान संसोधन बिधेयक अघि बढाउदा फेल वा पास जे भए पनि मोर्चाले स्वीकार गरेर चुनावमा जाने हो भने त्यो प्रक्रियामा जान लचिलो हुनेसम्म कुरा भएको जानकारी बैठकमा अध्यक्ष अेालीले गराएका थिए । पोलिटव्यूरो सदस्य शेरधन राईले भने-प्रक्रियामा गएपछि फेल पास जे भए पनि मानेर सबै चुनावमा जाने हो भने त्यहाँसम्म लचिलो हुन सकिन्छ भन्ने कुरा हो ।
एमालेका मधेसी नेता झनै कठोर
एमाले बैठकमा मधेसी मूलका पोलिटव्यूरो सदस्यहरुले संविधान संसोधनमा पार्टी लचक होस भन्ने अभिव्यक्ति दिने कतिपयको अपेक्षा थियो । तर मधेसका नेता झनै कठोर रुपमा प्रस्तुत भएको एक पोलिटव्यूरो सदस्यले बताए ।
एमालेको ६१ सदस्यीय पोलिटव्यूरोमा ७ जना मधेसी छन् । सत्यनारायण मण्डल, नागेन्द्र चौधरी, रामप्रित पासवान, लालबाबु पण्डित, वंशीधर मिश्र, योगनारायण यादव र शत्रुघन महतो एमालेको पोलिटव्यूरो सदस्य हुन् । उनीहरु सबै मधेस प्रदेश भनिएको २ नम्बर प्रदेशकै हुन् ।
पोलिटव्यूरो बैठकमा लालबाबु पण्डितमात्र बोलेका थिए । उनले मधेसी मोर्चाका जुनसुकै माग पूरा गरे पनि उनीहरु चुनावमा नआउने विश्लेषण सुनाउदै मोर्चालाई सिंगो मधेसको मसिहा मानेर बस्ने हो भने कहिल्यै कुनै पनि चुनाव नहुने बताए । उनले मोर्चाले उठाएका मागहरु मधेसी जनताका भन्दा पनि भारतीय एजेन्सीहरुका माग भएकाले त्यसमा आम मधेसीको भावना नगाँसिएको दावी गरेका थिए ।
मोर्चा नआए पनि चुनाव
एमालेले यहि विश्लेषणकै आधारमा अब अन्तिम पटक मोर्चालाई चुनावमा ल्याउन प्रधानमन्त्रीलाई समय दिने र त्यसपछि पनि उनीहरु नआएमा लोकतन्त्र जोगाउन मोर्चा नआए पनि चुनाव गराउनुपर्ने निष्कर्ष निकालेको छ ।
एमालेका एक नेताले भने-सत्तापक्षले चुनाव चाहेको हो कि होइन भन्ने अब देखिन्छ । मोर्चा कुनै पनि चुनावमा जान चाहदैन । उसका अनुचित मागलाई आधार बनाएर सरकारले चुनाव घोषणा नगरि रहन सक्दैन । कति समयसम्म बन्धक बनाएर राख्ने ? अब जस्तो अवस्थामा पनि चुनावमा जानुपर्छ भन्ने निष्कर्ष हो ।
चुनाव घोषणा लगत्तै मोर्चाले आन्दोलन गर्ने भनेको सन्दर्भमा एमालेले आन्दोलनको धम्कीबाट लोकतान्त्रिक प्रक्रिया अवरुद्ध गरेर बस्न नहुने निष्कर्ष निकालेको छ । ‘२ नम्बर प्रदेशका केही जिल्लाका सिमाक्षेत्रका स्थानीय तहमा उनीहरुले अवरोध गर्न सक्छन्,नत्र सरकारले चाहने हो भने सहज रुपमा चुनाव हुन सक्छ’ एमालेका ती नेताले भने ।
पहिलो हुने यस्तो आँकलन
एमालेले अब हुने चुनावमा मुख्य प्रतिस्पर्धा कांग्रेससँगै हुने र पहिलो शक्ति बन्ने आँकलन गरेको छ । मधेसमा अरुले भने जस्तो एमाले कमजोर नरहेको र पार्टीका सबै संगठन र कार्यकर्ता यथावत रहेकाले चुनावमा ती सबै परिचालित हुँदा जित्न कुनै कठिनाई नहुने पोलिटव्यूरो सदस्य महतोले बताए ।
तराई मधेसकै महेन्द्र राजमार्ग क्षेत्रमा पार्टीको प्रभाव बिगतको भन्दा बढेको र राष्ट्रियताको पक्षमा दृढतापूर्वक नेतृत्व गरेका कारण शहरी र पहाडी क्षेत्रको जनमत आफूतिर आउने एमालेको अपेक्षा छ । सचिव विष्टले भने-लोकतान्त्रिक प्रक्रिया अवरुद्ध हुन नदिन हामीले चुनावलाई जोड दिएका हौं । जहाँसम्म जित्ने कुरा छ,एमाले पहिलो शक्ति हुनेमा कुनै दुबिधा छैन ।
प्रतिक्रिया 4