Comments Add Comment

१३ देशका लागि नेपाली राजदूत हुन को-को छन् लाइनमा ?

सत्तारुढ तीन दलबीच भागबण्डाः आजै सिफारिस हुने सम्भावना

९ फागुन, काठमाडौं । बिभिन्न १३ देशमा राजदूत नियुक्तिको लागि आज अपरान्ह दोस्रो पटक मन्त्रिपरिषद बैठक बस्ने भएको छ । सत्तारुढ दलहरुबीच भागबण्डा मिलेकाले सम्भवतः आजै १३ देशका लागि राजदूत सिफारिस हुने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

१३ मध्ये कांग्रेसले ७ राजदूत दावी गरेको छ । तर, राप्रपालाई समेत तीन राजदूत दिनुपर्ने दबाव बढेकाले कांग्रेसले ६ जना पाउने स्रोतले जनाएको छ । त्यस्तै माओवादीले चार राजदूत पाउनेछ भने राप्रपाले कम्तिमा २ पाउनेछ । राप्रपाको दाबी भने बिगतमा पार्टी एकीकरण नहुँदै २ जना पाएकाले अब तीन पाउनुपर्ने छ ।

राजदूतको सूचीमा को-को ?

सरकारको नेतृत्वकर्ता दल माओवादीले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सिफारिस भएकै व्यक्तिहरुलाई यसपटक पनि अघि सार्ने भएको छ । जसमा युवनाथ लम्साल, लक्की शेर्पा, महेन्द्रवहादुर सिंह र पदम सुन्दास छन् । यद्यपि देश भने पुरानै नहुनसक्छ ।

त्यस्तै राप्रपाले यसअघि निरन्जन थापा र खगेन्द्र बस्नेतलाई सिफारिस गरेको थियो । यसपटक प्रतिभा राणाको नाम पनि थप्न लागिएको राप्रपाका एक नेताले बताए ।

कांग्रेसले भने राजदूतको नाम पार्टीभित्रै पनि लुकाएको छ ।

कांग्रेसबाट राजदूतका लागि शम्भुराम सिम्खडा, दिव्यमणी राजभण्डारी, विश्वम्भर प्याकुरेल, भीम उदास, कृष्ण ज्ञवाली, जगदिशचन्द्र पोखरेल, दिनेश भट्टराई, यज्ञ अधिकारी, महादेव यादव लगायतको चर्चा छ ।

पटक-पटक ठूला अवसर पाएकाहरुलाई नै फेरि अघि सार्न लागिएको भन्दै कांग्रेसभित्रै विवाद छ । जगदिशचन्द्र पोखरेल योजनाको उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी रामचन्द्र पौडेलका जिल्लाबासी हुन् ।

त्यस्तै शम्भुराम सिम्खडा पनि यसअघि राजदूत भइसकेका हुन् भने दिनेश भट्टराई परराष्ट्र मन्त्रालयको सहसचिव हुँदै राजदूत भएका र सुशील कोइराला प्रधानमन्त्री हुँदा विदेश सल्लाह रहिसकेका व्यक्ति हुन् । उनी पनि पौडेल कोटाबाट अघि सारिएका हुन् ।

पूर्व सचिव कृष्ण ज्ञवाली विमलेन्द्र निधी निकट मानिन्छन् । उनलाई सचिवबाट अवकाश भए लगत्तै निधीले नै आफू भौतिक पुर्वाधार मन्त्री हुँदा मासिक १ लाख तलब खाने गरी परियोजना प्रमुख बनाएका थिए ।

भीम उदास एनआरएनका पूर्व उपाध्यक्ष हुन् भने विश्वम्भर प्याकुरेल अर्थशास्त्री हुन् । दिव्यमणी राजभण्डारी व्यवसायी हुन् । उनी दोलखाबाट कांग्रेसको उम्मेदवार पटक पटक पराजित भएका थिए । यज्ञ अधिकारी प्राध्यापक हुन् ।

यी नामहरुमा विवाद भएर फरक ढंगले छलफल भइरहेको र कसैले नसोचेका व्यक्तिको नाम सिफारिस हुन सक्ने सम्भावना रहेको एक कांग्रेस नेताले बताए । केही पूर्व सांसदहरुले समेत राजदूत बन्नका लागि कांग्रेस शीर्ष नेतृत्वलाई दबाव दिइरहेका छन् ।

कुन-कुन देश राजदूतविहीन

लामो समयदेखि नेपालका ठूला दाता तथा लाखौंको संख्यामा नेपालीहरु कार्यरत देशहरुमा राजदूत छैनन् । कतार, साउदी अरब, जापान, डेनमार्क,अष्ट्रेलिया र इजरायलमा राजदूत खाली छन् । बहराइन, दक्षिण कोरिया र रुसमा पनि नेपाली राजदूत छैनन् । श्रीलंका, बंगलादेश, म्यान्मार र ओमानमा पनि राजदूत खाली रहेको लामो समय भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment