Comments Add Comment

अखिल क्रान्तिकारीमा फुर्को थपियो ! संगठनको पुच्छरमा नेताको टाउको !


१० फागुन, काठमाडौं । माओवादीका तीनवटा समूहसँग निकट रहेका अखिल क्रान्तिकारीहरुको नामका पछाडि नेताको फुर्को जोडिने भएको छ । तीनवटा अखिल क्रान्तिकारीको नामका पछाडि प्रचण्ड, मोहन वैद्य र विप्लवको नाम जोड्ने सहमति भएको हो ।

तीन दलका क्रान्तिकारी विद्यार्थी संगठनहरुको नाम एउटै छ- अखिल (क्रान्तिकारी) । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आ-आफ्ना विद्यार्थी संगठनहरुको नाम एउटै राखेका छन् ।

नाम र झण्डासमेत एउटै भएकाले आसन्न स्ववियु चुनावमा एक अर्को संगठनलाई चिन्नै नसकिने समस्या आएपछि स्ववियु निर्वाचनको संघारमा यी संगठनहरुले आफूलाई अलग-अलग तरिकाले चिनाउने नयाँ जुक्ति निकालेका छन् ।

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु समेतको सहभागितामा बसेको अखिल (क्रान्तिकारी)का नेताहरुको संयुक्त बैठकले संगठनको नामको पछाडि माउ पार्टीका अध्यक्षको नाम लेख्ने सहमति गरेका छन् ।

अब स्ववियु चुनाव अवधिभर माओवादी केन्द्र निकट विद्यार्थी संगठनको नाम अखिल (क्रान्तिकारी) ‘प्रचण्ड’ रहनेछ ।

यसैगरी क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को नाम अखिल (क्रान्तिकारी) ‘मोहन वैद्य’ रहने छ भने नेपाल कम्युनिष्ट पार्टी निकटसंगठनको नाम अखिल (क्रान्तिकारी) ‘विप्लव’ लेखिने भएको छ ।

त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष सुधा त्रिपाठी, कार्यवाहक निर्देशक गंगाबहादुर मगरका साथै अखिल क्रान्तिकारीका नेताहरु दिपेन्द्र चलाउने, विष्णु नेम्वाङ र रामचन्द्र अधिकारीका संयुक्त बैठकले यस्तो सहमति गरेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् सहमतिपत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment