“नांगिनु नारी स्वतन्त्रता हो ज्योतिजी ?” शीर्षकको मेरो लेख पढेर दर्जनौं पाठकहरूले प्रतिक्रिया ब्यक्त गर्नु भयो । बिद्रोह घर्ती र अर्जुन पौडेल दुईजनाले लेख नै लेख्नुभयो । सर्बप्रथम म मेरा आदरणीय पाठकहरूप्रति कृतज्ञता जाहेर गर्न चाहन्छु । पाठकहरूको सुझाव, आलोचना मेरा लागि सबैभन्दा ठूलो ऊर्जा हो । आगामी दिनमा अझ यसभन्दा बढी सुझाव, आलोचनाको अपेक्षा गर्दछु ।
दुईजना मित्रहरूले मेरो लेख पढेर आ-आफ्नो विचार लेखमार्फत सार्बजनिक गर्नुभएको छ; त्यसका लागि म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु । कुनै पनि कुरामाथि बहस हुनु एकदमै राम्रो हो । “वादे वादे जायते तत्व वोध ।” यो निश्कर्ष हाम्रा अग्रजहरूले त्यतिकै निकालेका होइनन् ।
हामी राजनीतिक मात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक सबै हिसाबले संक्रमणकालमा छौं । संक्रमणकाल समाजका लागि प्रसवकाल हो । प्रसव वेदना सहन निकै गाह्रो हुन्छ, तर सहनुको विकल्प पनि हुँदैन । सांस्कृतिक हिसाबले हामी कस्तो समाज निर्माण गर्दैछौं ? यो निक्कै ठूलो बहस हो । बहस संयमतापूर्वक, तर निकै निर्मम भएर गर्न जरूरी छ ।
बहसमा सहभागी भइदिनुभएकोमा पुनः एकपटक घर्तीजी र पौडेलजीलाई धन्यवाद दिन चाहन्छु ।
घर्तीजीको विचारको उच्च सम्मान गर्दै उहाँले उठाउनुभएका केही दृष्टिकोणमाथि आफ्नो असहमति राख्न चाहन्छु ।
घर्तीजीले प्रथम अनुच्छेदमै लेख्नु भएको छ- “लोकगायिका ज्योति मगर र नृत्यांगना रिया श्रेष्ठलाई सामाजिक मर्यादा र सीमाभित्र रही व्यक्तिगत स्वतन्त्रता उपभोग गर्न पाठ सिकाउनुभएछ ।”
बिद्रोहजी, कति आक्रामक बन्नुभएको ? मानौं हामी पुस्तौनी दुश्मन हौं र पानी बाराबार छ हाम्रोबीचमा ।
मैले विनम्रतापूर्वक भनेकै छु । म उहाँहरूको कलालाई उच्चसम्मान गर्छु । तर, कलाका नाममा कलाकै हुर्मत लिने उहाँहरूको प्रवृत्तिसँग म सहमत हुन सक्दिनँ । ब्यक्तिमा कला क्षमता भएर मात्र हुँदैन, त्यस कलाको प्रयोग सामाजिक मर्यादाभित्र रही सम्मानपूर्वक गर्नुपर्छ भन्ने मान्यता राख्दछु । के मैले मेरो बिचार राख्न तपाईंसँग अनुमति लिन पर्ने हो र ?
बिद्रोहजीले आफ्नो लेखभरि यसरी विवेकहीन आवेग पोख्नुभएको छ- “……. जनजाति महिलालाई हेर्ने दृष्टिकोण अझै परिवर्तन भएको रहेनछ ।
…..व्यक्तिविशेषलाई प्रतिनिधि पात्र बनाई समुदाय विशेषमाथि हिलो छ्याप्ने प्रयत्न…..।
……आफूलाई सुसंस्कृत र सुपठित ठान्ने अनि अन्य समुदायलाई अज्ञानी, अचेत र असभ्य मान्ने जातीय अहंकारका विम्ब हुन् । समाजभित्र रहेको कुनै समुदाय वा वर्गले अर्को समुदाय वा वर्ग लक्षित हुने गरी सुनियोजित ढंगले लाञ्छना लगाउँदै त्यसलाई पुष्टि गराउन खोज्छ भने त्यो सबैभन्दा नाङ्गो रुप हो ।
……जनजाति नारीहरुलाई सामाजिक कलंकका रुपमा स्थापित गर्न खोजिएको षड्यन्त्र हो । यो षड्यन्त्र सामाजिक मनोरोगको उपज हो ।”
आदि आदि…… ।
ओहो ! यस्तो नकारात्मक भाव कसरी आयो बिद्रोहजी तपाईंमा ? मैले मेरो लेखभरि कहिँ कतै जाति, समुदायलाई हेप्ने, होच्याउने, घृणा गर्ने, आरोप लगाउने विचार ब्यक्त गरेकी छैन । विशुद्ध पात्र केन्द्रित रहेर आफ्नो विचार राखेकी छु । कुनैबेला मैले अर्चना पनेरूका बारेमा पनि लेखेकी थिएँ । त्योबेला तँ बाहुनी भएर बाहुनीको बारेमा किन लेखेको भनेर किन बोल्नुभएन ?
बिद्रोहजी, कमजोरी ब्यक्तिले गर्छ । तर, ब्यक्तिले आर्जन गरेको लोकप्रियता,इज्जतमा घर-परिवार, समाज, समुदाय र देशले समेत श्रेय लिन सक्छ । गौरव गर्न सक्छ । पात्रविशेषको गलत प्रवृत्तिमाथि आलोचना गर्दा कोही ब्यक्तिलाई सिंगै समुदाय, जातिमाथि नै आरोपित गरेको लाग्छ भने त्यो उसैको चरम जातिवादी संकीर्णता मात्रै हो । एउटा पात्रविशेषको कमजोरीलाई लिएर के तपाईं समाजमा जातीय सद्भाव भड्काउन चाहनुहुन्छ ? नत्र कहाँ ब्यक्त भएको छ मेरो लेखमा जातीय अहंकार ? बरू तपाईंको लेखमा शब्दैपिच्छे जातीय संकीर्णता ब्यक्त भएको छ ।
बिद्रोहजी, अब तपाईं आफैँ भन्नुस् तपाईं सामाजिक मनोरोगी कि म ? तपाईंले’षड्यन्त्र गरेर जातीय सद्भाव भड्काउन’ खोज्नुभयो कि मैले ?
म आफू पनि नारी हुनाको नाताले नारी कृयाकलापप्रति मेरो ध्यान जाने नै भयो । म कुनै पनि प्रकारको नारी हिंसा पचाउन सक्दिनँ । म पूर्ण नारी स्वतन्त्रता र समानताको पक्षमा छु । तर, स्वतन्त्रता केलाई भन्ने ? स्वतन्त्रताको परिभाषा पनि समय सापेक्ष हुन्छ होला । मैले पहिला नै लेखिसकेकी छु- “अधिकार र कर्तब्यको सुन्दर संयोजन नै स्वतन्त्रता हो ।” म यस मान्यतामा दृढ छु ।
म चाहन्छु, हामी प्रत्येक नेपाली नारीहरूले गर्ने हरेक कर्मले समग्र नारी जाति र हाम्रो देशको इज्जत सगरमाथा झैं उच्च बनोस् । कसैको अगाडि हाम्रो कर्मले हाम्रो शीर झुकाउन नपरोस् ।
बिद्रोहजी, तपाईंले हिन्दु धर्म, बिशेष गरी “मनुस्मृति” ले तत्कालीन भारतवर्षमा नारीहरूमाथि गरेको अन्याय, अत्याचार, विभेद, शोषण र शासनलाई जसरी बुझ्नुभएको छ; मैले पनि त्यसरी नै बुझेकी छु । त्यसको असर आज पनि हामी नेपाली नारीहरू (आर्य-खस समुदायका नारीहरूले बढी) ले भोगिरहेका छौं ।
गलतलाई गलत र सहीलाई सही भन्ने आँट गर्नैपर्छ । “मनुस्मृति” का रचनाकार मनु स्वयं ब्राह्मण थिए । तर, म विद्रोहजीले जस्तो जातविशेषका आधारमा मनु र उनको रचना “मनुस्मृति” ठीक थियो भनेर कदापि भन्न सक्दिनँ ।
एउटा प्रसंगमा लेख्नु भएको छ- “उसको हाउभाउ र सुन्दर स्तन देखेर अर्की नारी आरिसले मुर्छित हुन्छे भने पनि त्यसको अपजस कलाकारलाई थोपर्न मिल्दैन । अर्धनग्नताले कथित सुशीलाहरुको शीर निहुरिन्छ भने पनि त्यो दुराग्रह हो ।”
निश्चय नै नारीले कस्तो र कति इन्चको कपडा लगाउने भनेर कहिँकतै कानुन बनेको छैन । कसैको सुन्दरताको आरिस होइन, कसैप्रतिको दुराग्रह पनि होइन । समाजमा बसेपछि सामाजिक मर्यादा हुन्छ महोदय । मान्छे सामाजिक प्राणी हुनुका नाताले सामाजिक मर्यादाको ख्याल गर्नैपर्छ । यसको अर्थ रूढिवादी बन्नु र मान्नुपर्छ भन्न खोजिएको किमार्थ होइन । यस्ता तल्लोस्तरका तर्क नगर्दा राम्रो हुने थियो ।
तपाईंलाई मेरो प्रश्न छ- “तपाईंको घरमा तपाईंकी बहिनी, श्रीमती, छोरी…लाई नग्नताको स्वीकृति छ ? शब्दमा प्रतिवाद गर्नु भएजस्तै तपाईंको घरमा तपाईंले पक्षपोषण गर्नु भएजस्तो नग्नताको स्वतन्त्रता छ ? बजारमा नारी नंग्याउन आनन्द आउला तपाईं जस्ता पुरूषलाई, तर घर गएपछि नक्कली वा छाडाको बात लगाउन पनि पछि पर्नुहुन्न ।
त्यसैले बिद्रोहजी, कृपया ढोंग र आडम्बर त्याग्नुहोस् । नारी स्वतन्त्रताको वकालत गरेजस्तो गरेर नारीकै हुर्मत नलिनुस् । कृपया दुराभाव राखेर होइन,सद्भाव राखेर सिंगै नारी जातिको सम्मान गर्नुस् । शुभकामना छ तपाईंलाई ।
यी पनि पढ्नुहोस्
नांगिनु नारी स्वतन्त्रता हो ज्योतिजी ?
नारीलाई नङ्ग्याउनु बौद्धिकता हो त राधाजी ?
अमेरिकाबाट पोखरेल र घर्तीलार्इ सुझाव