Comments Add Comment

ताला खुलेका क्याम्पसमा स्ववियु चुनाव नरोकिने

हार्ने डरले एमाले अखिल तालाबन्दीमा उत्रिएको आरोप

१६ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न क्याम्पसहरुमा लगाइएको ताला खोलेर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया अघि बढाउन गरेको सहमति २४ घण्टामै असफल भएको छ । त्रिविले ताला नखुलेका क्याम्पसमा मात्रै भए पनि चुनाव गरी छाड्ने तर निर्वाचन स्थगन नगर्ने भएको छ ।

त्रिवि पदाधिकारी र प्रमुख तीन विद्यार्थी संगठन अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीबीच ताला फोडेर भने पनि उम्मेदवारी मनोनयन गराउने सहमति भएको थियो । त्यसका लागि सोमवार विहान साढे दश बजेसम्म मनोननयन तालिका बनाइएको थियो ।

आइतवार रातिसम्म क्याम्पसका ताला खोल्ने प्रयास भए पनि प्रमुख विद्यार्थी संगठनले नै नचाहेपछि ताला खुलाउने कार्य असफल भएको त्रिवि प्रशासनले जनाएको छ ।

स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समितिका सदस्य सचिव गंगाबहादुर मगरले विवादित क्याम्पसमा ताला खुल्न नसकेको बताए । उनले अब जुन-जुन क्याम्पसमा ताला खुलेर मनोनयन भएको छ वा तालाबन्दी भएको छैन, ती क्याम्पसमा मात्र फागुन १८ गते चुनाव हुने जानकारी दिए ।

मगरले भने-जहाँ मनोनयन भएको छ, त्यहाँ चुनाव हुन्छ, जहाँ तालाबन्दी छ, त्यहाँ हुन सक्दैन । हामीले मात्रै चाहेर तालाबन्दी खुल्दैन ।

विद्यार्थी संगठनहरुले तालाबन्दीमा एकले अर्कोमाथि आरोप लगाइरहेका छन् । आइतवार अपरान्ह ताला खुलाइएको त्रिचन्द्र क्याम्पसमा सोमवार विहानै फेरि तालाबन्दी भएको छ ।

उपत्यकामा ठूला क्याम्पसहरुमध्ये अधिकांश बन्द छन् । पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, सानोठिमी, भक्तपुर बहुमुखी, महाराजगन्ज नर्सिङ क्याम्पस र मेडिसिन क्याम्पसमा उम्मेदवारी मनोयनन भएको छ ।

उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरासहित धेरै जिल्लाका आंगिक र सामुदायिक क्याम्पसमा मनोनयन भएको छ । उता कृषि क्याम्पस लम्जुङमा भने ताला लाउने र फुटाउने विषयमा अनेरास्ववियु र नेविसंघका कार्यकर्ताबीच झडप भएको छ ।

हार्ने डरले एमाले अखिल तालाबन्दीमा उत्रिएको आरोप

यसैवीच नेविसंघ र क्रान्तिकारीवीच तालमेल भएपछि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले हार्ने डरले एक दर्जन बढी क्याम्पसमा तालाबन्दी गरेको अन्य संगठनले आरोप लगाएका छन् । अनेरास्ववियुकै कारण शनिबार आरआर क्याम्पसमा तनाव सिर्जना भएको नेविसंघको आरोप छ ।

नेविसंघका नेताहरुको भनाइअनुसार केही दिनअघि अनेरास्ववियुको अगुवाइमा ल क्याम्पसमा तालाबन्दी भयो । स्ववियुमा रहेका कुनै विद्यार्थी नेताको अन्तिम वर्षको सैद्धान्तिक पढाइ सकिएपछि स्ववियुमा उसको कार्यकाल पनि स्वतः समाप्त हुने प्रावधानको एमाले अखिलले विरोध गर्‍यो । यही निहुँमा ल क्याम्पसमा अखिल इकाई अध्यक्ष बद्री नगरकोटीको अगुवाइमा तालाबन्दी भयो ।

पछि त्यसमा नेविसंघ, अखिल क्रान्तिकारीलगायत सात विद्यार्थी संगठनहरु पनि सहमत भए । त्रिभुवन विश्वविद्यालयले ताला फोडाएर भए पनि स्ववियु चुनाव गराउने निर्णय गरेपछि आइतबार पुनः अखिलकै अगुवाइमा ल क्याम्पसको ताला फुटाइयो ।

ल क्याम्पस नजिकै रहेको आरआर क्याम्पसमा पनि एमालेनिकट अखिलकै कारण तनाव सिर्जना भएको अखिल क्रान्तिकारीले आरोप लगाएको छ । यसको कारण थियो, अखिलको प्रस्तावित उम्मेदवारको किर्ते काम । अखिलले अशोक थापालाई आरआरमा स्ववियु सभापतिको उम्मेदवारको रुपमा अघि सारेको थियो । जबकी स्ववियुका पूर्वसदस्य समेत रहेका थापाले २८ वर्षे उमेर हदका कारण उम्मेदवार हुन पाउँदैन थिए ।

तर, अशोक थापाले जुक्ति निकाले, उमेर सच्याउने । क्याम्पसमा भएका सक्कल शैक्षिक प्रमाणपत्रहरु सबै निकालेर उनले उमेर सच्याएर नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्दै अन्य संगठनले विरोध गरे । तर, उमेर सच्याइएको भन्ने आरोप सत्य नभएको थापाले दाबी गरेका छन् ।

ढाँटेको कुरा काटे नि मिल्दैन भनेजस्तै थापाले पेश गरेका फोटोकपी कागजातमा उमेर सच्याइएको तथ्य पत्ता लाग्यो । अखिल क्रान्तिकारी र नेविसंघले त्यसको विरोध गरे । त्यसपछि पछाडि हट्न बाध्य भएको एमाले अखिल नेविसंघ र क्रान्तिकारीविरुद्ध खनियो ।

र, त्यसकै रीस फेर्न आरआरका नेविसंघ नेता उत्तम साउद लगायतमाथि अखिलद्वारा शनिबार आक्रमण भएको गुनासो नेविसंघमा नेताले गरेका छन् । त्यहाँ उत्पन्न तनावपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बलसमेत प्रयोग गर्नुपरेको थियो ।


मीनभवन क्याम्पसको लेखा शाखामा भएको आगजनीको घटनामा पनि एमाले अखिलको हात रहेको स्रोतको दाबी छ । आगलागीका कारण लाखौंको क्षति भएको छ । शुक्रबार दिउँसो मीनभवन क्याम्पसमा अखिल क्रान्तिकारीको चुनावी कार्यक्रम थियो ।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने लगायतका नेताहरुसमेत कार्यक्रममा सहभागी थिए । ‘सो कार्यक्रमले चुनावी माहोल क्रान्तिकारीको पक्षमा जाने देखिएपछि चुनावपछि सार्ने नियतले सोही दिन साँझ लेखा शाखामा आगजनी भयो,’ क्याम्पसका एक नेताले भने, ‘यसमा अखिलको हात छ र चुनाव पछि सार्ने नियत लुकेको छ ।’

यी त काठमाडौं उपत्यकामा एमाले अखिलका कारण सिर्जित प्रतिनिधि घटनामात्र हुन् । तर, तालाबन्दी र अवरोधका घटना अरु पनि रहेको एक क्रान्तिकारी नेताले बताए ।

यसअघि अखिलकै नेतृत्वमा पद्मकन्या क्याम्पसमा तालाबन्दी गरिएको थियो । तालाबन्दीमा अखिल क्रान्तिकारी प्रचण्डको समेत साथ थियो । नेविसंघले फर्जी विद्यार्थी भर्ना गरेको भन्दै ताला लगाइएको थियो । उक्त ताला आइतबार खोलिएको छ ।

बानेश्वर क्याम्पसमा प्लस टु पढ्ने विद्यार्थीहरुले पनि स्ववियु निर्वाचनमा भोट हाल्न पाउनुपर्ने माग अखिलले राखेपछि विवाद सिर्जना भएको छ । अखिलकी वर्तमान अध्यक्ष नविना लामाले ०६२ सालमा बानेश्वर क्याम्पसबाटै स्ववियु निर्वाचन जितेकी थिइन् । त्यसबेला प्लस टु पढिरहेका विद्यार्थीहरुलाई पनि भोट हाल्न दिने सहमति भएको थियो । यसपटक अखिल, नेविसंघ र क्रान्तिकारीबीच सहमति नजुटेकाले बानेश्वर क्याम्पसमा विवाद भइरहेको छ ।

यसैगरी भैरहवा र अछामका क्याम्पसमा पनि एमाले अखिलले तालाबन्दी गरेका कारण चुनावी कार्यक्रम प्रभावित भएको अन्य संगठनको आरेाप छ । पाणिनी क्याम्पस अर्घाखाँचीमा शनिबार स्ववियु चुनाव भए पनि अखिलले मतगणना गर्न दिएको थिएन तर, पछि मतगणना हुँदा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment