१७ फागुन, भक्तपुर । भक्तपुरस्थित सानोठिमी क्याम्पसका प्रमुखको कार्यकक्षमा आगजनी भएको छ । आगजनीबाट महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् । तर, स्ववियु चुनाव भने नरोकिने क्याम्पस प्रशासनले जनाएको छ ।
सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी (प्रचण्ड) र नेविसंघले संयुक्त प्यानल बनाइएको थियो । यसैगरी एमाले निकट अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव)ले संयुक्त गठवन्धन बनाएका थिए ।
आफू हार्ने निश्चित भएपछि अनेरास्ववियु र विप्लव निकट क्रान्तिकारीले गएराति क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेको अखिल क्रान्तिकारी (प्रचण्ड)का महासचिव एवं सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति बीरेन्द्र बस्नेतले बताए ।
सानोठिमी क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका रमेश खड्काको नेतृत्वमा नेविसंघसहितको संयुक्त प्यानल दर्ता भएको छ ।
त्यसैगरी एमाले निकट अनेरास्ववियुका लालबहादुर रोकायाको नेतृत्वमा विप्लव निकट क्रान्तिकारी सहितको संयुक्त गठवन्धन दर्ता भएको छ ।
क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी भएतापनि निर्वाचनसँग सम्वन्धी सबै कागजात सुरक्षित रहेकाले फागुन १८ गते हुने स्ववियु चुनाव नरोकिने क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले बताए ।
प्रतिक्रिया 4