१७ फागुन, काठमाडौं । बीबीसी नेपाली सेवाको जागिर छाडेका चर्चित पत्रकार रवीन्द्र मिश्रले राजनीतिमा लाग्ने घोषणा गरेका छन् । पूर्णकालीन राजनीतिमा आउने तयारीका साथ बीबीसी नेपाली सेवाको प्रमुख पदबाट राजीनामा दिएको मिश्रले बताएका छन् ।
‘अस्तित्वमा आउने तर कहिल्यै देशको समृद्धिमुखी नेतृत्व गर्न नसक्ने’ अर्को एउटा राजनीतिक पार्टी होइन, देशलाई आमूल परिर्वतनकारी दिशामा डोर्याउन सक्ने नेतृत्व निर्माण हुनसक्छ भन्ने हाम्रो ठम्याई छ,’ मिश्रले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अहिलेका पार्टीबाट देश बन्दैन
स्तम्भकार समेत रहेका मिश्रले विज्ञप्तिमा कतिपय शुभेच्छुकले आफूलाई विद्यमान कुनै पार्टीमार्फत राजनीति गर्न उपयुक्त हुने सल्लाह दिएको पनि उल्लेख गरेका छन् । तर, विद्यमान पार्टीहरुमार्फत अगाडि बढ्ने हो भने आफू बदलिने तर समग्र देश नबन्ने निष्कर्षमा पुगेका कारण मैले यो अलग र चुनौतिपूर्ण बाटो चयन गरेको हुँ,’ उनले भनेका छन् ।
परोपकारी अभियन्ता समेत रहेका मिश्रले कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसाथ गर्ने नयाँ पार्टी बनाउने बताएका छन् ।
यसरी बन्नेछ पार्टी
उनले कुनै पनि दलमा आवद्ध नभएका तथा अन्य दलमा आवद्ध भए पनि ती दलबाट यो देशको हित हुन सक्दैन भन्ने निष्कर्षमा पुगेकाहरुलाई आफूहरुले निर्माण गर्न मञ्चलाई उपयोग गर्न पनि आग्रह गरेका छन् ।
तत्कालका लागि हरेक टोल-टोलमा कम्तिमा ७ जनाको समूह बनाउने उनले आहृवान पनि गरेका छन् । ‘जुन छिट्टै पार्टीको संगठन निर्माणको आधारशीला हुनेछ,’ उनले भनेका छन्, ‘विदेशमा बस्ने नेपालीको साथ र सहयोग लागि विशेष व्यवस्था गर्नेछौं र उनीहरुलाई विदेशमा नगर तथा शहरहरुमा सदभाव समूह निर्माण गर्न अपिल गर्छौं ।’
मिश्रले अघि भनेका छन्, ‘हामीले सुरु गर्न लागेको यो यात्रा केबल १०/१२ जना सांसदलाई संसद पठाएर राजनीति गर्न होइन । यो देशको नेतृत्व गरेर नेपाली राजनीतिको चरित्र र सिंगो देश नै रुपान्तरण गर्नका लागि हो ।’
असाधारण स्रोत र साधनले सम्पन्न भएपनि राजनीतिक कारणले नै देश अस्थिर र अविकसित भएको भन्दै उनले भने, ‘देशको भविश्य बनाएरै छाड्ने र समृद्ध नेपालका सूचकहरु कुनै पनि हालतमा हेरेरै मर्ने हाम्रो अठोट हो ।’
मिश्र आफ्नो टिमसँग छलफलमा छन् र केही दिनमा नै नयाँ पार्टीको औपचारिक घोषणा गर्ने तयारी भइरहेको छ । अहिले सञ्चार माध्यमसँग कुराकानी गर्ने जिम्मेवारी मिश्रले मात्र लिएका कारण अरु सदस्यहरु औपचारिक रुपमा बोल्न चाहिरहेका छैनन् ।
मिश्रको पार्टीमा मुमाराम खनाल रहने छन् । उनले आफू रवीन्द्र मिश्रको टिममा रहेको स्वीकार गरे । पूर्व माओवादी खनाल डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा पनि थिए । तर, नयाँ शक्ति पनि छाडेर रवीन्द्रतिर लागेका छन् ।
यस्तै अधिवक्ता ओमप्रकाश अर्याल पनि रवीन्द्रको नयाँ पार्टीमा लाग्ने भएका छन् । उनकै मुद्दामा सर्वोच्चले अख्तियारका तत्कालीन लोकमानसिंह कार्कीको नियुक्ति खारेज गरेको थियो, जसका कारण उनी निकै चर्चामा आए ।
मिश्रले गठन गर्ने पार्टीमा पूर्वसचिव किशोर थापा, पूर्वाधारविद् सूर्यराज आचार्य लगायत पनि रहेको बताइएको छ । यसबारे जिज्ञासा राख्दा पूर्व सचिव थापाले औपचारिक रुपमा केही बोल्न नमिल्ने बताएका छन् ।
प्रतिक्रिया 4