Comments Add Comment

प्रचण्डको पत्र बोकेर सञ्चारमन्त्री हवाना प्रस्थान

भेनेजुयला र क्युवाका राजदूतहरुसँग मन्त्री सुरेन्द्रकुमार कार्की (वायाँ)

२ मार्च, सिड्नी । नेपालका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्की दक्षिण अमेरिकाको समाजवादी देश क्युवाको हवानातर्फ लागेका छन् । इटलीको रोमबाट अनलाइनखबरसँग कुरा गर्दै कार्कीले भने, ‘अर्को वर्ष नेपालमा आयोजना हुने कार्ल मार्क्सको द्वि-शतवार्षिकी कार्यक्रमको बारेमा हवानामा छलफल हुने छ ।’

उनी क्युवाली क्रान्तिका नायक चे ग्वेभाराबाट प्रभावित भइ रामराजा प्रसाद सिंहले नेपालमा सुरु गरेको सशस्त्र संघर्षका गुरिल्ला योद्धाको रुपमा क्रियाशील थिए । पछि उनी नेपालको कम्युनिष्ट राजनीतिमा प्रवेश गरे ।

उनी रोममा रहँदा आदि क्रान्तिकारी स्पार्कसको संघर्ष स्थल र ग्राम्सीका स्मारक, पुस्तकालय तथा उनी बन्दी बनाइएको ग्राम्सी जेल निरीक्षण गरेका थिए । संघर्षकालीन कम्युनिष्ट भावना बोकेर हवाना तर्फ लागेका मन्त्री कार्कीले नेपालका प्रधानमन्त्री तथा कम्युनिष्ट नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्युबाली समकक्षीलाई लेखेको ऐक्यवद्धतापत्र बोकेका छन् ।

क्युवा र नेपालबीच हालसम्म मन्त्रीस्तरको बैठक भएको छैन । त्यस हिसाबले यो पहिलो बैठक हुनेछ । सशस्त्र संघर्षको पृष्ठभूमि भएको क्युवाली कम्युनिष्ट पार्टी र नेपालको त्यस्तै पृष्ठभूमिको पार्टीबीच भाइचारा सम्बन्ध पनि स्थापित हुने विश्वास लिइएको छ ।

कार्की नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य पनि हुन् । उनले हाल प्रचण्ड नेतृत्वको सरकारको प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका छन् ।

कार्कीको साथबाट क्युवाली समकक्षीलाई पठाइएको पत्रमा प्रचण्डले लेखेका छन्, ‘हाम्रो सरकारका वरिष्ठ मन्त्री तथा पार्टीका नेताको यो भ्रमण दुई देश, दुवै देशका जनता र पार्टीबीच बलियो मित्रता कायम गर्ने सूत्र हुनेछ ।’

प्रधानमन्त्री प्रचण्डले थप लेखेका छन्, ‘नेपाली जनता र हामी क्रान्तिकारीहरु क्युवाली जनताको संघर्षको गौरवमय इतिहासलाई सम्मान गर्दछौं । र, समाजवादको रक्षा तथा विकासका लागि क्युवाले गरिरहेको संघर्षप्रति ऐक्यवद्धता जाहेर गर्दछौं ।’

उनले सन् २०१३ मा अष्ट्रेलिया भ्रमण गर्दा यहाँस्थित क्युवाली र भेनेजुयलाका राजदूतहरुसँग भेटघाट गरेका थिए । त्यतिबेला उनी आफ्नो पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख थिए ।

क्युवामा मन्त्री कार्कीले मन्त्रीस्तरीय भेटघाट गर्नुका साथै त्यहाँको स्वास्थ्य र कृषि शिक्षाबारे अध्ययन गर्नेछन् । उनले अनलाइनखबरसँग भने, ‘क्युवा अहिले समाजवादको धरोहरका रुपमा कसरी बाँचिरहेको छ म यो अध्ययन गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment