Comments Add Comment

‘नेपाल कला-संस्कृतिमा ज्यादै धनी रहेछ’

इतिहास हेर्दा नेपालले पनि कोरियालाई थुप्रै आर्थिक सहयोग गरेको देखिन्छ

नेपाल र दक्षिण कोरियाका लेखक र कलाकर्मीको सहभागितामा गत फागुन ११ देखि तीन दिनसम्म राजधानीमा साहित्यकला महोत्सव भयो । नेपाली लेखक संघ र कोरियाको युरासिया कल्चर कोरमको संयुक्त आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानमा चलेको महोत्सवमा विविध साहित्यिकसांस्कृतिक विषयमा परिचर्चा गरिएको थियो ।

महोत्सव गर्नुको उद्देश्य र यसको प्रभाव लगायत विषयमा युरासिया कल्चर फोरमका महासचिव दाइ-कि जुङसँग अनलाइनखबरले गरेको कुराकानी:

 

साहित्य-कला महोत्सवले नेपाल र कोरियाबीचको सम्बन्धमा कस्तो फरक पर्ने सोच्नुभएको छ ?

– पछिल्ला वर्षहरुमा कोरियामा औद्योगिक र कृषि मदजुरका रुपमा थुप्रै नेपालीहरु गएका छन् । यद्यपि कोरियाका मानिसहरुलाई अझैसम्म पनि नेपालको संस्कृति, रहनसहनबारे धेरै कुरा जानकारी छैन । त्यसैले यो किसिमको कार्यक्रम आयोजना गरेर कोरियालीहरुलाई पनि नेपालको संस्कृति कस्तो छ र नेपालीहरु के हुन् भन्ने जानकारी दिने हाम्रो सोच हो ।
दोस्रो कुरा, नेपालमा अहिले थुप्रै मिसिनरीहरु आएर धर्मको प्रचारप्रसार गर्दै छन् । उनीहरुले आफ्नो धर्मको प्रचार त गरे, तर नेपालमै भएका विभिन्न धर्म र त्यससम्बन्धी प्रचलनहरु उनीहरुलाई थाहा छैन । यसैले नेपालीहरुलाई कोरियाको र कोरियालीहरुलाई नेपालको संस्कृतिको बारेमा आदानप्रदान गर्ने हिसाबले यो कार्यक्रम गरिएको हो । यसले दुवै देशलाई सांस्कृतिक रुपमा समन्वय गर्दै अगाडि बढ्न सघाउँछ भन्ने मेरो अपेक्षा छ ।

यस्तो कार्यक्रम गर्ने सोच कसरी आयो ?

– गत वर्षको जुलाईको कुरा हो, मेरो एनजीओ मार्फत नेपालको कृषि मन्त्रालयका १५ जना कर्मचारीलाई कृषि सम्बन्धी तालिमका लागि कोरिया बोलाइएको थियो । २०/२१ दिनको तालिमका क्रममा मलाई के लाग्यो भने, सांस्कृतिक रुपमा नेपाल र कोरिया निकै भिन्न छ । यो अवस्थामा हामीले एक-अर्को देशको कला-संस्कृति आदानप्रदान गर्न के-कसरी समन्वय गर्न सक्छौं भनेर खोज्दै जाँदा यो कार्यक्रमको योजना बनेको हो ।

नेपालको बारेमा आम कोरियालीहरुको बुझाइ कस्तो छ ?

– वास्तवमा भन्नुपर्दा कोरियामा नेपालको बारेमा त्यति चर्चा नै हुँदैन । कोरियालीहरुलाई अझैसम्म पनि नेपाल कस्तो देश हो भन्ने राम्रोसँग थाहै छैन । उनीहरुलाई नेपालमा माउन्ट एभरेष्ट छ, अन्नपूर्ण हिमशृङ्खला छ र ट्रेकिङका लागि राम्रो गन्तव्य हो भन्ने मात्र थाहा छ । जब गत वर्ष नेपालमा भूकम्प गयो, संसारभरि नेपालको नाम फैलियो । त्यो बेलामा नेपाल भनेको त भूकम्प धेरै आउने देश रहेछ भनेर पनि उनीहरु परिचित भए । त्यसका साथै नेपाल एउटा गरिब देश हो भन्ने कुरा पनि कोरियालीहरुलाई थाहा छ । हामी साहित्य-कलाको क्षेत्रमा काम गर्ने मानिसको बुझाइ पनि यो भन्दा फरक थिएन । तर, यो महोत्सव गरिसकेपछि नेपाल आर्थिक रुपमा गरिब देश भए पनि साहित्य, कला, संस्कृति र भाषाको रुपमा ज्यादै धनी रहेछ भन्ने थाहा भयो । यसबारेमा हामीले नेपालबाहिरका लेखक र संस्कृतिकर्मीलाई जानकारी गराउने सोच बनाएका छौं ।

कोरिया फर्केपछि नेपाल र यहाँको संस्कृतिबारे कोरियालीहरुलाई बुझाउने तपाईंहरुको कस्तो योजना छ ?

– पहिलो चरणमा हामी आउँदो अप्रिलमा कोरियाका ६० जना कवि र नेपालका कविहरुका कविता समेटेर सङ्ग्रह निकाल्दै छौं । कविताहरु एक-अर्को भाषामा अनुवाद भइसकेको छ । त्यसपछि जून महिनामा दुवै भाषामा अनुवाद गरिएका उपन्यासहरु प्रकाशन गर्नेछौं । आगामी वर्ष चाहिँ आख्यान र नेपालको इतिहाससम्बन्धी किताब प्रकाशन गर्ने योजना छ ।

तपाईं आठ-नौ चोटि नेपाल आइसक्नुभएको छ, यस क्रममा नेपाल कस्तो लाग्यो ?

– जति चोटि आउँदा पनि मलाई नेपाल राम्रो लाग्यो । यहाँ विकासको धेरै सम्भावना छ । त्यसका लागि नेपाली लेखकहरुले आफ्नो लेखरचना मार्फत जनतालाई अझै जागरुक बनाउनुपर्छ, त्यसो भएमा नेपालको विकास हुन सक्थ्यो कि !

नेपालमा चित्त नबुझेको कुरा चाहिँ के लाग्यो ?

– नेपालीहरुमा एक किसिमको नराम्रो मानसिकता पाएँ । मैले पूर्वजन्ममा केही नराम्रो गरेको थिएँ र नै अहिले गरिब भएर जन्मिएँ, अब राम्रो गर्न सक्दिनँ भन्ने सोचाइ धेरैमा छ ।
अर्को कुरा, नेपालीहरुमा आफ्नो देश र समुदायको लागि मैले यस्तो गर्नुपर्छ भन्ने भावना नै छैन । उनीहरु आफूसँग जे छ, त्यसमै सन्तोष मानेर बसेका छन् । देशको लागि मैले केही गर्नुपर्छ भन्ने भावना लिएर अगाडि बढ्न सक्यो भने राम्रो हुन्थ्यो । त्यसको लागि यहाँका लेखकहरुले आफ्ना सिर्जना मार्फत नेपाली युवालाई त्यो किसिमको सन्देश दिन जरुरी छ ।

कोरियाले चाहिँ विकासमा फड्को मार्नुको कारण के हो ?

– सन् १९६०/७० को दशकतिर कोरिया ज्यादै गरिब देश थियो । इतिहास हेर्दा नेपालले पनि कोरियालाई थुप्रै आर्थिक सहयोग गरेको देखिन्छ । आज आएर कोरियामा छिटै विकास भएको देख्न सकिन्छ । यसो हुनुमा चाहिँ एक किसिमले क्रिश्चियन धर्मको पनि प्रभाव हो कि जस्तो लाग्छ । कोरियामा क्रिश्चियानिटीको आगमनसँगै पश्चिमा संस्कृति भित्रिएको हो । त्यतिखेर सबै कोरियालीहरु देशप्रतिको माया र कर्त्तव्यबोधले एकताबद्ध भए । त्यसबाट विकास सम्भव भयो । तर, हामीले छिटो विकास गरे पनि त्यसले थुप्रै समस्या ल्याएको छ ।

कस्ता खालका समस्या ?

– तीव्र रुपमा  आर्थिक विकास  भए पनि कोरियामा आत्महत्याको दर संसारमै सबभन्दा बढी छ । अर्कातिर, अहिलेका युवायुवती कोरियाको संस्कृति छाडेर पश्चिमा संस्कृतितिर ढल्किएका छन् । यसले आगामी दिनमा के-कस्तो अवस्था निम्त्याउला भनेर चिन्ताको विषय बनेको छ ।

आधुनिकतातिर फड्को मारेसँगै आफ्नो परम्परा र संस्कृति जोगाउन सम्भव नहुने नै हो यहाँलाई के लाग्‍छ ?

– आजको दिनमा संसारभरि नै पश्चिमा संस्कृतिको प्रभाव बढ्दो छ, त्यसलाई हामीले नकार्न त सक्दैनौं । पश्चिमा संस्कृतिको पनि राम्रो कुरालाई हामीले अनुकरण त गर्छौं नै । तर, त्यस क्रममा आफ्नो संस्कृतिलाई हामीले छाड्ने हैन, निरन्तरता दिँदै अगाडि बढ्नुपर्छ । यदि आयातीत र मौलिक संस्कृति मिसिएमा नयाँ संस्कृतिको जन्म हुन पनि सक्छ । तर, त्यो नयाँ संस्कृतिको जग अर्थात् जरा चाहिँ आफ्नै मौलिक संस्कृति हुनुपर्छ । आफ्नो संस्कृतिलाई जग बनाइयो भने भित्रिने नयाँ संस्कृतिलाई समयको बहावसँगै अगाडि लैजान सकिन्छ ।

कोरियाली साहित्यको वर्तमान अवस्था कस्तो छ ?

– कोरियाको साहित्य क्षेत्रमा सक्रिय लेखकहरु धेरै छन्‍ । तर, विश्वव्यापी रुपमा कोरियाली साहित्यलाई अगाडि बढाउने क्रममा हामीलाई एउटा कुराले पिरोल्ने गर्छ । त्यो हो, अनुवादको समस्या । किनकि राम्रा अनुवादकहरुको अभाव छ ।  कुनै अनुवादकले कोरियाको जीवनशैली र संस्कृतिको बारेमा पर्याप्त थाहा भए पो राम्रो अनुवाद गर्न सक्छ । यो समस्या पहिला ठूलो रुपमा रहे पनि पछिल्लो समय घट्दै गएको छ । किनभने अहिले धेरै विदेशीहरु कोरियामा आएर पढिरहेका र अनुवाद सम्बन्धी नै अध्ययन गरिरहेका छन् । त्यस्ता अनुवादकहरु आउने क्रम जारी रहँदा कोरियाली साहित्यलाई विश्वव्यापी रुपमा फैलाउने क्रम सुरु भएको छ ।

अग्रगामी राजनीतिक व्यवस्था र सबै कुरा पुगिसरी भएको कोरिया जस्तो सम्पन्न देशमा लेखनमा के विषय उठाउने भनेर संकट पर्छ कि पर्दैन कोरियाको साहित्यले अहिले के लेखिरहेको छ ?

– पहिले चाहिँ हाम्रो देशमा नेपालको जस्तै गरिबी र अभाव भएकोले ती सबै कुरा लेखनमा पनि आउँथ्यो । अहिले आएर कोरियाली लेखकहरुले प्राय: आफ्नो व्यक्तिगत भावना नै लेख्छन् । जीवन के हो, यो कस्तो हुनुपर्छ, सानो चिजबाट कसरी खुसी प्राप्त गर्ने भन्ने कुरा आजकालको लेखनमा प्रचलित छ । त्‍यसका साथै सामाजिक घटना र चित्त नबुझेका कुरामा पनि लेखिने गर्छ ।

कोरियन फिल्मको पनि कुरा गरौंत्यहाँका अधिकांश फिल्ममा युवायुवतीबीचको प्रेमकथा मात्रै देखाइन्छ । फिल्मले कोरियाको संस्कृति र रहनसहनको कुरा नउठाई मायाप्रेमको विषयमा मात्र खुम्चिनुको कारण के होला ?

– नेपालमा साहित्य र कलाप्रति मानिसहरुको सोचाइ र रुचि गहिरो देखिन्छ । हाम्रो देशका मानिसमा भने त्यस्तो सोच कम पाइन्छ ।
हो, हाम्रा फिल्महरुमा केटा र केटीबीचको प्रेम र अन्य ससाना द्वन्द्वहरु मात्र देखाइने कुरा सत्य हो । अहिले चलेको ट्रेन्ड हो त्यो ।

कुनै समय कोरियालाई आर्थिक सहयोग दिने अवस्थामा रहेको नेपाल अहिले गरिब छतपाईंको विचारमा कोरियाले नेपालको विकासमा कुन रुपमा सघाउन सक्छ ?

–  दक्षिण कोरियाली सरकारको सहयोग नियोग कोइकाले नेपाललाई निरन्तर सहयोग गर्दै आएको छ । तर, त्यो त सरकारी सहयोग भयो । हामीले पनि व्यक्तिगत तवरमा यो साहित्य-कला महोत्सव जस्तै कार्यक्रम गरेर नेपालीहरुलाई देशप्रतिको माया जगाउने प्रयत्न गर्न सक्छौं । यहाँ भएका कला र संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्न सघाउँदै एक-अर्काको ज्ञान र अनुभव आदानप्रदानमा पनि समन्वय गर्न सक्छौं । सहयोग भन्ने बित्तिकै पैसाकै रुपमा मात्रै सहयोग हुन्छ भन्ने छैन । आपसमा भ्रातृत्वको विकास गर्दै कोरिया र नेपाल अघि बढ्न सक्छौं होला ।
अर्को कुरा, कोरिया विज्ञान-प्रविधि र मेडिकलको क्षेत्रमा पनि अगाडि छ । नेपालमा प्रविधिको कुनै अभाव छ र जनशक्ति उत्‍पादन गर्नुपर्‍यो भने यहाँका मानिसलाई हामीले प्रविधिको राम्रो ज्ञान दिएर पठाउन सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment