Comments Add Comment

एमालेले सप्तरीबाटै अभियान सुरु गर्नुहोस्, हामी विथोल्दैनौं: महेन्द्र यादव

२५ फागुन, काठमाडौं । मधेसी मोर्चाका शीर्ष नेता महेन्द्र राय यादवले सप्तरी घटनामा सरकार जिम्मेवार रहेको बताएका छन् । साथै उनले मधेसमा एमालेले कार्यक्रम गर्दा अवरोध गर्ने नीति नरहेको दाबी गरे ।

तमसपा अध्यक्ष यादवले भने, ‘एमालेले मधेसको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम गर्न पाउँछ, मधेसी मोर्चाले हिजो पनि विरोध गरेको थिएन र भोलिका दिनमा पनि विरोध गर्दैन ।’

बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा कार्यक्रममा मधेसी मोर्चाका नेता यादवले एमालेलाई आफूहरुले तराई-मधेसमा कहिल्यै पनि निषेध गर्ने भनेर नभनेको र अब पनि नगर्ने स्पष्ट पारे । उनले भने, ‘एमालेले मेची-महाकाली अभियान सप्तरीबाटै सुरु गर्नुहोस्, हामी विथोल्दैनौं ।’

उनले अघि भने, यदि तपाईहरुको कार्यक्रम हाम्रा कार्यकर्ताले विथोलेका छन्, हामीलाई नाम दिनुहोस्, हामी उनीहरुलाइ कारवाही गर्न तयार छौं, सरकारलाई भनेर हामी कारवाही गराउँछौं ।’

मोर्चाले आहृवान गरेको दुई दिने बन्दको कार्यक्रममा पनि एमाले नेताहरुको घर, पार्टी कार्यालय तोडफोड नगरेको दाबी गर्दै उनले भने, ‘हामीले त्यस्तो गरेका छैनौं, यदि कसैले त्यस्तो गरेको छ भने त्यो घुसपैठ हो, हामीले गरेकै छैनौं, हामीलाई बद्नामा गराउन खोजिएको छ ।’

उनले सप्तरी घटनामा मधेसी मोर्चालाई दोष लगाउने काम कपोकल्पित मात्रै भएको आरोप लगाए ।

यादवले भने, ‘एमालेको अभियानबारे मधेसी जनतामा आक्रोश थियो, यो घटनामा सरकार जिम्मेवार छ, निहत्था जनतामाथि गोली चलाउने आदेश कसले दियो ? यो नश्लवादी गतिविधि हो ।’

उनले घटनाको दोष आफूहरुलाई दिनु गलत भएको दाबी गरे । यादवले थपे, ‘घटनामा संलग्न दोषीहरुलाई कारवाही होस्, एमालेले पनि गम्भिर विषय उठाएको छ, हत्या प्रयास भनेर यसको छानविन होस् ।’

उनले एमालेले पनि आफ्नो व्यवहार र बोलीमा सच्याउनुपर्ने माग गरे । उनले भने, ‘संसदबाटै समस्याको हल गर्नुपर्छ, अफवाह र झुटो बोल्ने काम भएको छ, यो बन्द गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment