Comments Add Comment

गौतम बुद्ध विमानस्थल बनाउन चिनियाँ कम्पनी तात्यो

१० करोड पेश्की कटौती गर्ने निर्णयपछि काम सुरु

२६ फागुन, काठमाडौं । आर्थिक संकट परेपछि काम अघि बढाउन नसकेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार कम्पनीले काममा चासो दिएको छ ।
चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन् एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले अहिले काममा तिब्रता दिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले बताए ।

शर्माका अनुसार ठेकेदार कम्पनीले एक हप्ता यतादेखि काममा तिब्रता दिएको छ । आर्थिक अभावका कारण मंसिर महिनादेखि काम राम्रोसँग अघि बढ्न सकेको थिएन ।
आयोजना प्रमुख शर्मा भन्छन् ‘ठेकेदार कम्पनी आर्थिक संकटमा परेपछि मंसिर महिनादेखि राम्रोसँग काम अघि बढाउन सकेको थिएन । तर, एक साता यतादेखि फेरि कामले तिब्रता पाएको छ ।’

निर्माणका हिसाबले मंसिर पुस माघ फागुन र चैत्र महिना काम गर्न धेरै उचित मानिन्छ । तर, उल्लेखित महिनामै ठेकेदार कम्पनी आर्थिक संकटमा परेपछि उसले कामदारलाई समयमै तलब दिन सकेको थिएन । यही कारणले काम अघि बढ्न नसकेको शर्माको भनाइ छ ।
१० करोड पेश्की कटौती गर्ने निर्णय

निर्माण कम्पनीले काम सम्पन्न गरेपछि आयोजनाबाट पैसा लिने गर्छ । तर, केही रकम भने ठेकेदार कम्पनीले निर्माण सुरु गर्नअघि नै लिएको थियो । यस्तो पेश्कीलाई प्रत्येक महिनाको बिल पेश गरेपछि रकम दिँदा कटौति गर्ने गरिएको शर्माको भनाइ छ ।

तर, कम्पनी आर्थिक संटकमा परेपछि अहिले आयोजनाले एड्भान्स स्वरुप दिएको १० करोड रुपैयाँ बराबरको पैसा तत्कालका लागि नकाट्ने भएको छ ।

एशियाली बिकास बैंक र नागरिक उड्डयन प्राधिकरणले निर्माण पछिको रकम उपलब्ध गराइसकेका छन् । तर, एड्भान्स बापत काटिनु पर्ने रकम काटिएको छैन, जसका कारण ठेकेदार कम्पनीसँग केही रकम बच्न पुगेको छ । यसैबाट नै कामदार तथा अन्यलाई ज्याला दिन ठेकेदार कम्पनीलाई सहज भएको छ ।

काममा ढिलाइ गरेपछि केही समयअघि आयोजनाले नर्थवेस्टसँग स्पष्टीकरणसमेत मागेको थियो । आर्थिक समस्याका कारण समस्या भएको भन्दै ठेकेदार कम्पनीले तत्काललाई एड्भान्स बापतको रकम नकाटिदिन आग्रह गरेपछि आयोजनाले १० करोड बराबरको एड्भान्स नकाट्ने निर्णय गरेको हो ।

किन संकटमा पर्‍यो चिनियाँ ठेकेदार कम्पनी ?

चिनियाँ ठेकेदार कम्पनीलाई ‘ब्याक लोडेड’ का कारण अहिले आर्थिक संकट परेको आँकलन गरिएको छ । निर्माणपूर्व सुरुका कामहरुमा वास्तविक मूल्यभन्दा कममै काम सक्ने गरी गरेको सम्झौताले अहिले कम्पनीलाई आर्थिक रुपमा कमजोर बनाएको छ ।

आयोजना प्रमुख शर्माले भने ‘सुरुका कामहरुको मूल्यांकन गर्दा लागत भन्दा कम देखाएर सम्झौता गरेको छ भने पछिल्ला कामहरु लागत भन्दा बढी देखाएको छ, जसका कारण सुरुमा यस कम्पनीलाई आर्थिक संकट पर्न गएको हो ।’

कहाँ पुग्यो निर्माण ?

नर्थ वेस्ट कम्पनीले सुरुमा सम्झौता गर्दा २०१७ डिसेम्बर ३१ मा काम सक्ने बताएको थियो । भूकम्प र नाकाबन्दीका कारण काममा केही बाधा पुगेपछि यसको निर्माण गर्ने म्याद अहिले २०१८ को जूनसम्म छ ।

यो बर्षको ४/५ महिना काममा ढिलाइ भएसँगै तोकिएकै समयमा निर्माण सम्पन्न हुने वा होइन भन्ने दुविधा भने बढेको छ । ०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतम बुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तरराष्ट्रिय विमानस्थल बनाउने जिम्मा लिएको नर्थ वेस्ट कम्पनीले अब द्रुतताका साथ काम गरेमात्रै तोकिएको समयमा काम सकिने शर्मा बताउँछन् ।

कुल ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा सम्झौता गरेको यो ठेकेदार कम्पनीले निर्माण पश्चात रकम पाउँछ । तर, कुल रकमको १५ प्रतिशत भने निर्माण सुरु गर्ने बेलामा नै एड्भान्सको रुपमा यसले प्राप्त गरेको थियो ।

विमानस्थलमा आवश्यक पर्ने गिट्टी बालुवा तिनाउँ खोलाबाट लिन गरिएको छ । शर्मा भन्छन् ‘अहिले काम द्रुत गतिमा अघि बढेको छ किनकि तिनाउबाट प्रत्येक दिन २ हजार घनमिटरका दरले बालुवा र गिटी आयात भएको छ ।

अहिले तीन हजार मिटर लामो धावनमार्गमा ग्रेबलिङ गर्ने काम भएको छ । ग्रेबलिङको काम लगभग सकिन लागेको छ । यो सकिएसँगै सतहको काम सुरु हुने आयोजना प्रमुख शर्मा बताउँछन् ।

त्यस्तै टर्मिनल भवनको भने केही काम सकिएको छ । अहिले टर्मिनल भवनको लेभल भन्दा माथि फर्मा ठोक्ने काम भइरहेको छ । विमानस्थलमा अहिले रेस्क्यू एन्ड फायर फाइटिङ भवनको पनि एक लेभलको काम लगभग सकिएको छ ।

कुल ७९ विघा क्षेत्रफलमा फैलिएको विमानस्थलले दैनिक १६ हजारको दरले वाषिर्क करिव ६० लाख यात्रुलाई सेवा दिने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment