१ चैत, नेपालगञ्ज । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको सभामा उर्लिएको जनसागर देखेर विरोधीहरुको हार्टअट्याक नहोस् भन्ने कामना गरेका छन् । हार्ट एट्याक भएको खण्डमा दोष एमालेलाई आउन सक्ने नेता नेपालले चिन्तासमेत व्यक्त गरेका छन् ।
नेता नेपालले भने, ‘एउटा स्थानमा भएको सभामा जनसागर उर्लिन्छ, अर्को स्थानमा त्योभन्दा ठूलो छाल आउँछ । कुन सभा ठूलो भनेर नै आँकलन गर्न सकिरहेका छैनौं ।’
मेची-महाकाली अभियान अन्तरगत मंगलबार नेपालगञ्जमा आयोजित सभामा नेता भारतीय सुरक्षाकर्मीले नेपालको भूमिमा पसेर नेपालीको हत्या गरेको घटनाको तीव्र निन्दा गरे । यस घटनामा मधेसी मोर्चाका नेताहरुले भारतको पक्ष लिएको दोषारोपण गर्दै उनले भने, ‘उहाँहरु खुलेआम विदेशीको चाकडी गरिरहनुभएको छ । नेपाल र नेपालीको पक्षमा उभिने आँट उहाँहरुसँग छैन ।’
आफूहरुले अधिकार नपाएको भनेर जनविरोधी शक्तिहरुले भ्रम फैलाइरहेको नेता नेपालले दाबी गरे । उनले भने, ‘कागले कान लग्यो भन्ने सुनेर कागको पछि नलाग्नुस् । पहिले कान छान्नुस् ।’
नेता नेपालले मधेसी मोर्चाले देश टुक्र्याउन खोजिरहेको तथा मधेसी र पहाडीबीच विभाजन ल्याउन खोजेको आरोप लगाए । देशका अरु पार्टीलाई चुनाव जितेमा देशले सुख नपाउने भन्दै उनले एमालेलाई भोट दिन आह्वान गरे ।
तस्वीरः कमल प्रसार्इं/अनलाइनखबर
प्रतिक्रिया 4