Comments Add Comment

कोरियाका नेपालीलाई सरकारको प्रस्तावः जगदुल्ला जलविद्युत् आयोजनामा लगानी गर्नुस्

उर्जामन्त्री शर्मा कोरियातर्फ


४ चैत, काठमाडौं । उर्जा मन्त्रालयले दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा जगदुल्ला जलविद्युत आयोजना निर्माणको योजना अघि सारेको छ । यही प्रस्ताव लिएर उर्जामन्त्री जनार्दन शर्मा शुक्रबार कोरियातर्फ लागेका छन् ।

कोरिया भ्रमणका क्रममा मन्त्री शर्माले सरकारी प्रतिनिधि र कोरियाली लगानीकर्ताहरुसँग भेटवार्ता गर्नेछन् । साथै ६०० मेगावाटको जलविद्युत् आयोजनाको अवलोकन गर्ने कार्यक्रम पनि छ ।

साथै दक्षिण कोरियामा रहेका नेपाली समुुदायसँग छलफल गर्ने कार्यक्रम रहेको मन्त्री शर्माले बताए । कोरिया उड्नु अघि मन्त्री शर्माले भने, ‘कोरियामा रहेका नेपालीहरुको लगानीबाट जगदुल्ला भन्ने योजना छ ।’

जाजरकोटमा रहेको जगदुल्ला खोलामा बन्ने यो आयोजना ७५ देखि १०० मेगावाट हुने अनुमान छ । आयोजनाको वातावरणीयसहित अध्ययन विद्युत विकास विभाग आफैंले गर्नेछ ।

विभागका अनुसार अर्को वर्ष अध्ययन थल्ने र लगानी जुटाएर २ वर्षभित्र निर्माण थाल्ने लक्ष्य छ । ईपीएस अन्तरगत झण्डै ३५ हजार नेपाली दक्षिण कोरिया पुगेका छन् र, उनीहरुको मासिक औषत आम्दानी मासिक डेढ लाख रुपैयाँ माथि छ । दक्षिण कोरियाबाट बाषिर्क ४३ अर्ब रेमिट्यान्स भित्रिन्छ ।

तर, २ अर्ब औपचारिक च्यानलबाट आउँछ भने ४१ अर्ब हुण्डीमार्फत भित्रने गरेको पाइएको छ । यदि जलविद्युतमा लगानी गर्ने हो भने हुण्डीबाट हुने कारोबार समेत घट्ने अनुमान छ ।

कोरियमा रहने नेपालीले लामो समयदेखि आफ्नै लगानीमा जलविद्युत आयोजना बनाउन चासो दिँदै आएका छन् ।

रेमिट्यान्सलाई जलविद्युतमा खर्च गर्ने सरकारी नीतिअनुरुप छुट्टै आयोजना दिन उनीहरुले माग गर्दै आएका छन् । अहिले रेमिट्यान्सको ठूलो हिस्सा उपभोगमा खर्च हुँदै आएको छ ।

रेमिट्यान्स अनुत्पादक क्षेत्रमा खर्च भएर सक्ने नेपाली प्रवृत्तिलाई यस्तो आयोजनाले मोड्ने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment