+
+
Shares

भक्तपुरमा साझालाई चल्ने अनुमति दिन सरकारले उठायो सुरक्षाको सवाल

सीडीओ भन्छन्ः असुरक्षा छँदै छैन

रबिन्द्र घिमिरे रबिन्द्र घिमिरे
२०७३ चैत १० गते १९:५०


१० चैत, काठमाडौं । यातायात ब्यवस्था विभागले साझा यातायातलाई भक्तपुर रुटमा जान दिने/नदिने विषयमा सुरक्षाको सवाल उठाएको छ । अब यस विषयमा औपचारिक निर्णय गर्न जिल्ला यातायात ब्यवस्थापन समितिमा छलफल हुने भएको छ ।

साझाले आफ्ना २० बसलाई भक्तपुरमा जान रुट अनुमति मागे पनि विभागले अझै साझालाई रुट दिएको छैन । विभागले साझालाई भक्तपुर जान दिने विषयमा सुरक्षाको सवाल रहेको भन्दै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको यातायात ब्यवस्थापन समितिमा छलफल गराउने भएको छ ।

विभागको साना तथा ठूला सवारी कार्यालय बाग्मतिका प्रमुख बसन्त अधिकारीले ब्यवसायीहरुले साझालाई रुट दिन नहुने भन्दै चर्को बिरोध गरिरहेकाले सुरक्षाको सवाल उठेको बताए ।

‘सुरक्षाको सवाल उठेकाले अब प्रमुख जिल्ला अधिकारी संयोजत्वकै समितिबाटै यसको निर्णय हुन्छ,’ अधिकारीले भने, ‘हामी साझालाई रुट दिन तयार छौं । तर, भोलि साझा भक्तपुर छिर्दा कुनै सुरक्षाकै कारणबाट हुन सक्ने दुर्घटना रोक्ने गरी निर्णय हुनेछ ।’

सीडीओ भन्छन्ः असुरक्षा हुँदैन

भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल भने भक्तपुरमा साझा आउन कुनै समस्या नरहेको दावी गर्छन् । ‘सुरक्षाको कुनै सवाल नै छैन । मलाई विभागले कुनै त्यस्तो विषयमा प्रश्न राखेको छैन । सोधियो भने मेरो भनाइ सुरक्षाका कारण नै साझा भक्तपुर आउन रोकिँदैन,’ प्रजिअ पोखरेलले भने ।

उनले भक्तपुरका राजनीतिक दल, उपभोक्ताकर्मी र नागरिक समाज साझाको आगमनमा खुसी रहेको भन्दै हचुवाका रुपमा सुरक्षाको सवाल छ भन्नु नाजायज रहेको बताए ।

‘मिनिबस ब्यवसायीले साझा आए ग्रामीण रुटमा बस चलाउँदिन भनेर भन्नु भएको छ । तर, मैले उहाँहरुलाई तपाईंहरुले नचलाए अरुले चलाउँछन् भन्दिएको छु,’ उनले भने, ‘कोही पनि साझाको खरो विरोधमा छैनन् । यहाँ सुरक्षाको सवाल उठाउनु आवश्यक नै छैन ।’

साझाले रुट इजाजत माग्नासाथ ब्यवसायीहरुले विभागलाई चेतावनीपत्र लेख्दै इजाजत जारी नगर्न भनेका थिए । विभागका अधिकारीहरु भने आफूहरु साझालाई भक्तपुर जान दिन तयार भएपनि सुरक्षाको विषयलाई गौण रुपमा विश्लेषण गरेर मात्रै निर्णय गरिने बताउँछन् ।

नयाँ र पुरानो बाटोमा १०/१० वटा बस 

साझा यातायातले पुरानो बाटो र नयाँ बाटोलाई समेटेर कमलविनायकबाट फर्किने गरी १०/१० वटा बस सेवा भक्तपुरसम्म विस्तार गर्ने योजना बनाएको छ ।

मागेअनसासर रूट पाए अब साझा बस स्वयम्भुबाट-सीतापाइला-कलंकी-रवीभवन-सोल्टीमोड-कालीमाटी-टेकु-त्रिपुरेश्वर-सहीदगेट-सिंहदरबार-माइतिघर-बबरमहल-नयाँबानेश्वर-मिनभवन हुँदै कोटेश्वरसम्म चल्ने सबै बस भक्तपुरसम्म जानेछन् । यो रुटमा अहिले १० वटा बस रहेकोमा अरु १० वटा बस पनि यही रुटमा आउनेछन् ।


१० वटा बसहरु जडिबुटीबाट सानोठिमी-पुरानोठिमी-भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किनेछन् । अन्य १० वटा बस जडिबुटीबाट नयाँबाटो सल्लाघारी, सूर्यविनायक-कमलविनायक हँँदै पुरानो बाटो भएर फर्किनेछन् ।

भक्तपुरमा साझा बस बसपार्कमा गएर रोकिने छैन । यात्रुहरु चढाउँदै ओराल्दै भक्तपुरका दुबै बाटोमा ‘नन-स्टप’ चलिरहने छन् ।

१० वटा बस जडिबुटीबाट सानोठिमी, भक्तपुर-पुरानोबाटो सूर्यबिनायक हुँदै कमलविनायक जानेछन् । अरु १० वटा बसपनि कमलविनायकसम्म पुगेर फर्किनेछन् ।

विभिन्न रुटका १० वटा बसलाई ब्यवस्थापन गरेर साझाले भक्तपुरमा थप्ने तयारी गरेको हो ।

ब्यवसायीको चेतावनी

यातायात ब्यवसायी यातायत ब्यवस्था विभाग पुगेर भक्तपुरका रुटमा साझा बस चलाउन नदिन दबाव दिएका थिए । उनीहरुले साझालाई भक्तपुरमा प्रवेशको अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिइसकेका छन् ।

उनीहरुले साझा भक्तपुर आए भक्तपुर हुँदै ग्रामीण रुटमा जाने बस रोक्ने चेतावनी दिइसकेका छन् । साझा बसले सेवा थालेपछि आफ्नो एकाधिकार तोडिने डरले ब्यवसायीहरु अत्ताल्लिएर विभागसमक्ष साझाको रुट इजाजत प्रक्रिया रोक्न माग गरेका थिए ।

लामो समयदेखि भक्तपुरका स्थानीय रुटमा यातायात ब्यवसायीहरुको एकोहोरो बोलवाला छ । अन्य केही महत्वपूर्ण रुटहरुमा एकाधिकार तोडेपनि भक्तपुरमा साझा गएको छैन ।

विभागले भक्तपुरको पुरानो बाटोबाट ठूला साझा बस चल्न सक्ने/नसक्नेबारे प्राविधिक जाँच गर्ने बताएको छ । विभागले सुरक्षाको प्रत्याभूति भए नयाँ बाटोमा साझालाई अनुमति नरोक्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?