Comments Add Comment

आरआरको स्ववियु चुनाव स्थगित गर्न ९ विद्यार्थी संगठनको माग

'एकलौटी मिति तोकियो, स्थगित नगरे चुनावमा भाग लिन्नौं'


१३ चैत, काठमाडौं । आरआर क्याम्पसमा एकलौटीरुपमा स्ववियु चुनावको मिति तोकिएको भन्दै नेविसंघ र अखिल क्रान्तिकारीसहित ९ विद्यार्थी संगठनहरुले सहमतिका आधारमा नयाँ तालिका प्रकाशन गर्न माग गरेका छन् । अन्यथा चुनाबमा भाग नलिने उनीहरुले चेतावनी दिएका छन् ।

आरआर क्याम्पसमा गत फागुन १८ गते हुन नसकेको स्ववियु चुनावको मिति यही चैत १५ गते तोकिएको छ । त्यसबारे छलफल गर्न शनिबार राति बागबजारस्थित अखिल क्रान्तिकारीको कार्यालयमा ९ विद्यार्थी संगठनहरुको संयुक्त बैठक बसेको थियो ।

बैठकले विद्यार्थी संगठनहरुसँग कुनै छलफल र सरोकार नराखी एकलौटी रुपमा चुनावको मिति तोकिएको भन्दै बिरोध गरिएको छ र चुनाव स्थगित नगरे भाग नलिने चेतावनी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बदनियतपूर्ण तरिकाले गर्ने कुनै पनि निर्वाचन हुन नदिने र सहभागिता जनाउन नसकिने व्यहोरा यसै वक्तव्यमार्फत् सार्वजनिक गरिएको छ ।’

विद्यार्थी संगठनहरुबीच विवाद हुँदा गत फागुन १८ गते आरआरसहित ठूला क्याम्पसहरुमा स्ववियु चुनाव हुन सकेको थिएन । १८ गतेपछि स्थानीय तहको निर्वाचन आचारसंहिता लागू भएको भन्दै निर्वाचन आयोग र त्रिभुवन विश्वविद्यालयले चुनाव नगराउन भनेका थिए । त्यसविरुद्ध एमाले निकट अनेरास्ववियु सर्वोच्च अदालत गएको थियो । सर्वोच्च अदालतले चुनाव गराउन आदेश दिएपछि आरआरमा फेरि स्ववियु चुनावको तयारी थालिएको छ ।

‘सर्वाेच्च अदालतले महान्यायाधिवक्तामार्फत् विपक्षीलाई लिखित जवाफ पेस गर्ने दिएको १५ दिने म्यादलाई समेत पूर्णरुपमा बेवास्ता गरी १५ दिन अगावै निर्वाचनको मिति तोक्नु आदेशकै अवज्ञा भएको स्पष्ट छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘निर्वाचन आयोगले फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको अवस्थामा फागुन १९ गते नयाँ कार्यतालिका प्रकाशित गरी निर्वाचन प्रक्रिया अगाडि बढाइनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन हो ।’

विरोधमा रहेका विद्यार्थी संगठनहरुले निर्वाचन अधिकृतले राजीनामा दिएको अवस्थामा अन्य विद्यार्थी संगठनहरुको सहमतिबेगर एकपक्षीय रुपमा मतदान मिति प्रकाशन गर्ने कार्यले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको दाबी गरेका छन् ।

उनीहरुले क्याम्पस प्रशासनको मिलेमतोमा क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरुलाई उम्मेदवार मनोनयन दर्ता गर्नसमेत नदिइएको, यसै अवधिमा स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको, क्याम्पसमा विभिन्न तहको भर्ना जारी रहेको, फर्जी भर्नालाई वैधानिकता दिने अभिप्रायले क्याम्पसमा भएको आगजनीको घटनाको कुनै छानविनसमेत नगरिएको आरोप लगाएका छन् ।

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले भने, ‘नेविसंघ, अखिल छैठौं, अखिल पाँचौं लगायतलाई मनोनयन दर्ता नै गर्न दिइएको छैन । १५ गते एमए दोस्रो वर्षको परीक्षा छ । यस्तो अवस्थामा चुनाव नगराऔं । सबैको सहमति खोजेर अघि बढौं भन्ने हाम्रो जोड हो ।’

विज्ञप्तिमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अखिल क्रान्तिकारीका उपाध्यक्ष, अनिल शर्मा, अखिल छैठौंका अध्यक्ष विमल पोखरेल, समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राई, तराई मधेस विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्रले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी विज्ञप्तिमा अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र, राप्रविसंका प्रवक्ता क्षितिज सुवेदी, मधेसी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक) का उपाध्यक्ष पारस चौधरी र नयाँ शक्ति विद्यार्थी युनियनका कार्यालय सदस्य युवराज ढकालले हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस् संयुक्त प्रेस विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment