Comments Add Comment

चुनावको मुखमा युवा संघ उपाध्यक्ष राजु गुरुङमाथि एमालेको कारवाही

स्ववियु चुनावमा बागी उठाएको र अराजक गतिबिधि गरेको आरोप

१५ चैत, काठमाडौं । नेकपा एमालेले पार्टीको हित विपरित अराजक गतिबिधि गरेको भन्दै युवा संघका केन्द्रीय उपाध्यक्ष राजु गुरुङमाथि कारवाही थालेको छ । रुपन्देही जिल्ला कमिटीको बैठकले गुरुङलाई स्पष्टिकरण सोधेर कारवाही प्रक्रिया अघि बढाएको हो ।

बुटवल बहुमुखी क्याम्पसमा स्ववियु चुनाव हुन नदिन नेविसंघ र अखिल क्रान्तिकारीसँग मिलेर तालाबन्दी गराएको, अखिलको अलग्गै प्यानल खडा गरेको र अराजक क्रियाकलाप जारी राखेको भन्दै उनलाई पार्टीले कारवाही अघि बढाएको जिल्ला कमिटीका एक पदाधिकारीले बताए ।

गुरुङकै अगुवाईमा बागी प्यानल खडा गरेर चुनाव समेत हुन नदिएको एमाले स्रोतले जनाएको छ । यसअघि जिल्ला अधिवेशनका क्रममा पनि अनेरास्ववियुका एक नेतालाई गुरुङले कुटपिट गरेका थिए ।

राजु गुरुङसँगै युवा संघका जिल्ला सहसचिव कृष्ण थापा लगायत बागी बिद्रोही प्यानल खडा गर्ने र उम्मेदवार उठ्ने सबैलाई कारवाही गरिएको एमालेले जनाएको छ । स्थानीय चुनावको मुखैमा भएको यो कारवाही प्रकरणले रुपन्देही एमालेमा खैलाबैला मच्चिएको छ ।

पार्टीमा अराजक प्रवृति बढ्न नदिन र आउने चुनावमा पार्टी हित विपरित गतिबिधि रोक्नका लागि कारवाही गर्नुपरेको एमालेका नेताहरुले बताए ।

चित्तबुझ्दो स्पष्टिकरण नदिए गुरुङलाई पार्टी सदस्यताबाट निलम्बन गर्ने तयारी भइरहेको छ ।

गुरुङसँगै साजन भण्डारी, शंकर घर्ती, उमेश अधिकारी, मदन सापकोटा लगायतका युवा र विद्यार्थी संगठनका नेतालाई पार्टीबाट निश्कासन गरिएको एमाले स्रोतले जनाएको छ । गुरुङलाई कारवाही गरिएकोबारे एमाले नेताहरुले औपचारिक प्रतिक्रिया दिन अश्वीकार गरेका छन् ।

बाहुबली स्वभावका गुरुङ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का प्रकरणमा पनि मुछिएका छन् । उनी अध्यक्ष रहेको कम्पनीले विमानस्थल निर्माणको ठेक्का लिए पनि काम नगरेको भन्दै बिरोध भइरहेको छ ।

पार्टीभित्र गुरुङ माधव नेपाल समूहमा छन् । तर उनलाई कारवाही गर्न नेपाल पक्षबाटै जिल्ला उपाध्यक्ष बनेका पुरुषोत्तम घिमिरे लगायतको सर्वसम्मत रुपमै निर्णय भएको एमाले स्रोतले जनाएको छ । गुरुङले आउने चुनावमा बुटवल उपमहानगरपालिकाको मेयर उम्मेदवार बन्ने आकांक्षा प्रकट गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment