Comments Add Comment

‘नेपथ्य’ को २५ वर्ष: अप्रिलको मगमगाउँदो फूल  

‘छेक्यो-छेक्यो देउराली डाँडा’, ‘हिमाल चुचुरो’ जस्ता गीत सुनेर हुर्किएका पुस्ताको लागि ‘नेपथ्य’ नाम मुटुमै खिपिएर बसेको छ । जुन नाम पछिल्लो समय पनि नयाँ पुस्ताको ढुकढुकी बनिरहेकै छ ।

यो ब्याण्डले नेपाली संगीतको इतिहासमा आफ्नो परिचय स्थापित त गरेकै छ, ब्याण्डको नामले नै संगीतको फरक र मौलिक स्वादको चिनारी दिन्छ ।

यो बिछट्टै फरक स्वादको बीउ रोपिएको थियो आजभन्दा २५ वर्ष अगाडि । पोखराबाट काठमाडौं आएका समूहका सदस्यले केवल तीन जना युवामा लुकेको ‘नेपथ्य’ लाई सबैसामु उभ्याएका थिए ।

ब्याण्डको पहिलो एल्बम ‘नेपथ्य’ सन् १९९३ को अप्रिल १ मा निस्किएको थियो । यस हिसाबले यही अप्रिल १ देखि नेपथ्यले रजत उत्सव मनाउने भएको छ ।

रजत उत्सवको सन्दर्भमा ब्याण्डले एउटा थिम घोषणा गरेको छ, ‘सेलिब्रेटिङ ट्वान्टी फाइभ इयर्स अफ नेपथ्य’ । यो वर्षभरि नेपथ्यले गर्ने सबै काम यसै थिम अन्तर्गत अघि बढाउनेछ ।

अप्रिल १ लाई स्थापनाको तिथि बनाउने निर्णयमा पुग्नुअघि ब्याण्ड अलमलिएको थियो, टोली गठन भएको समयलाई यात्रा आरम्भ भएको मान्ने कि पहिलो गीत रेकर्ड भएको दिनलाई ?

नेपथ्यको पहिलो एल्बम

अन्ततः पहिलो एल्बम रिलिज भएको दिन १९९३ को अप्रिल १ लाई नै ब्याण्डको आधिकारिक जन्ममिति मानेर नेपथ्यले रजत उत्सव मनाउने भएको छ । उक्त एल्बमको गीत ‘आँगनैभरि हिउँ नै झरे’ लाई ब्याण्डको पहिलो गीतको मानिएको छ ।

खासमा २०१८ अप्रिल १ मा नेपथ्य २५औं वर्ष पूरा हुने भए पनि यसै वर्षको अप्रिल १ देखि सिंगो एक वर्ष नेपथ्यप्रेमीहरुका निम्ति ‘सिल्भर जुबली’ को माहोल हुनेछ । अप्रिलको त्यो मगमगाउँदो फूलले सांगीतिक प्याला अझ गाढा स्वादमा भर्दै जानेछ ।

यो वर्षभरि हरेक महिना कुनै न कुनै कार्यक्रम गर्ने र ब्याण्डका नयाँ–पुराना गीतहरुका म्युजिक भिडियो सार्वजनिक गर्दै जाने नेपथ्यले जनाएको छ ।

आफ्नो रजत वर्षको अवसर पारी नेपथ्यले नेपाली संगीतका क्षेत्रमा योगदान गर्ने हस्तीहरुप्रति पनि आफूलाई समर्पित गर्ने भएको छ । आधुनिक संगीत विधामा सिङ्गो उमेर खर्चने साधकहरुप्रति सम्मान गर्दै नेपथ्यले केही वर्षयता बन्द रहेको ‘पलेँटी शृङ्खला’ लाई ब्युँताउन नेपालय संस्थालाई सहयोग गर्ने जमर्को गरेको छ । नेपथ्यका संस्थापक एवं मुख्य गायक अमृत गुरुङले रजत महोत्सवको यो महत्वपूर्ण वर्ष नेपाली संगीतकै श्रीवृद्धिमा लाग्ने अठोटका साथ पलेँटी शृङ्खलामा जोडिने योजना सुनाए ।

‘हाम्रो ब्याण्डका साथीहरु पलेँटीका प्रारम्भिक दिनहरुमा सहभागी भएकै हुन् । अब चाहिँ हामी त्यो शृङ्खलालाई निरन्तरता प्रदान गर्न पनि सहयोगी हुने भएका छौं ।’

संयोग कस्तो परेको छ भने, रजत महोत्सव मनाउने निधो गरेकै बेला उत्सवको सुरुवात नै नेपथ्यले आफ्नो मूल थलो पोखरामा पहिलो कन्सर्टबाट हुन लागेको छ । । चैत २६ गते (अप्रिल ८) का दिन पोखरास्थित रंगशालामा नेपथ्य गुञ्जिँदै छ ।

‘नेपथ्य उठेकै भूमिमा उसको यस्तो महत्वपूर्ण कार्यक्रम जुर्नु सुखद संयोग हो’, अमृतले खुसी बाँडे ।

यो अवसरमा उनले ब्याण्डका सुरुवाती सदस्यहरुदेखि अहिलेसम्मको यात्रामा जोडिएका सबै संगीतकर्मीलाई धन्यवाद दिन भ्याए ।

‘तीन जना साथीहरुबाट सुरु भएको यो समूह थप २० भन्दा बढी संगीतकर्मी साथीहरुको योगदानबाट यहाँसम्म आइपुगेको हो’, उनले भने ।

सुरुवाती समयमा नेपथ्यका सदस्यहरु

रजत वर्षको पट्ठो उमेरमा नेपथ्य संगीतको सुर मात्र बोकेर आउँदै छैन, आफ्नो इतिहास पनि श्रोतासम्म पुर्‍याउँदै छ । ब्याण्डलाई व्यवस्थापन गर्दै आएको नेपालयले नेपथ्यको २५ वर्ष लामो यात्राका कथा-व्यथा समेटिएको पुस्तक प्रकाशन गर्ने योजना बनाएको छ ।

‘नेपथ्यको जीवनी अमृत गुरुङले लेखिरहेका छन्’, नेपालयका किरणकृष्ण श्रेष्ठले योजना सुनाए, ‘केही समयदेखि यसमै काम गर्दै आएका अमृतको पुस्तकलाई यसै वर्ष सार्वजनिक गर्ने सोचाइ छ ।’

केही गीतहरु सार्वजनिक भइसकेको नेपथ्यको दसौं एल्बम पनि यसै वर्ष ल्याउने योजना छ । श्रेष्ठका अनुसार, रजत वर्षको अवसर पारेर नेपथ्य अहिलेसम्म नपुगेका देश-विदेशका ठाउँहरुमा ब्याण्डलाई प्रस्तुत गर्न पनि नेपालयले प्राथमिकता दिनेछ ।

यसका साथै विभिन्न योजना वर्षभरि सार्वजनिक गर्ने र त्यसबारे ब्याण्डको फेसबुक र ट्वीटर बाट अपडेट गरिने नेपथ्यले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment