Comments Add Comment

कालीगण्डकी पुगे कुलमान, मर्मतको काम २० दिनमै सकिने


२७ चैत, काठमाडौं । स्याङ्जास्थित कालीगण्डकी जलविद्युत् आयोजना मर्मतको काम तीव्र पारिएको छ । गतवर्ष ४५ दिनसम्म लगाएर गरिने कालिगण्डी आयोजनाको नियमित मर्मतको काम यो वर्ष २० दिनमै सक्ने योजना छ । अाइतबार मर्मत सुरू भएको ११  दिन पुगेको छ, अबको ९ दिनमा मर्मत सक्ने लक्ष्य छ ।

मर्मत सम्भारको अनुगमन गर्न विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं कालीगण्डीकी पुगेका छन् । उनले प्राधिकरणले आवश्यक सहयोग गर्ने भन्दै मर्मत अवधि लामो नबनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

विगतका वर्षहरुमा पानीको बाहव घटेको बेला दैनिक ३ घन्टा लोडसेडिङ बढाएर कालिगण्डकी ममर्त गर्ने गरिएको थियो । र, मर्मतका लागि ४२ दिन लागेको थियो । तर, यो वर्ष भने प्राधिकरणले नदीमा पानीको सतह बढेर विद्युत आपूर्ति सहज मर्मतको काम थालेको हो ।

निरीक्षणमा क्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले कालीगण्डकीले लोडसेडिङ हटाउने महत्वपूर्ण योगदान दिएको बताए । ‘यो वर्ष पिक आवरमा यसलाई पूर्ण क्षमतामा चलाउन सकियो । यसमा तपाईंहरुको सहयोग र कामको पनि म सराहना गर्छु’ निर्देशक घिसिङले प्राविधिक तथा कर्मचारीहरुलाई सम्बोधन गर्दै भने, ‘आयोजनाका युनिटहरुलाई चुस्त राख्न पनि यसरी नै काम गर्नुस् । कामको मूल्यांकन हुन्छ ।’


अहिले कालिगण्डीको पहिलो टर्वाइनको मर्मत भइरहेको छ । यसमा रहेका ३ वटा ४८/४८ मेगावाटका टर्वाइनमध्ये पहिलो टर्वाइनको मर्मत चलिरहेको छ । यसमा धेरै बालुवा आउने भएकाले वर्षैपिच्छे यसको मर्मत गरिन्छ ।

टर्वाइनसम्म पानी आउनुअघि बालुवा थिग्र्याउने मेसिनको पनि मर्मत भइरहेको छ । यो काममा अहिले प्राधिकरणले अहिले ३ सिफ्टमा प्राविधिकहरु खटाएको छ । राति पनि निरन्तर काम भइरहेकाले गतवर्षहरुको भन्दा आधा समयमै काम सकिने तनहुँ हाइड्रोपावरका सञ्चारविज्ञ सचेन गौतमले बताए ।

प्राधिकरणले २० दिन मात्रै समय दिँदा अपुग हुनेजस्तो लागेपनि काम गर्दै जाँदा समयमै सकिने अवस्था आएको कालीगण्डकीका आयोजना प्रमुख राजेशकुरमार पाण्डेले बताए ।


विद्युत प्राधिकरणले मुख्य सुख्खायाम कटेपछि आयोजनाहरुको मर्मत थालेको छ । गतवर्षहरुभन्दा फरक सोचका साथ थालिएको मर्मतको काम अहिले तीव्र पार्दै लगिएको छ ।

आयोजना मर्मतमा हुने ढिलासुस्ती हटाउन प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ आफैं आयोजनाहरुमा पुगेर प्राविधिहरुलाई प्रोत्साहन र मार्गनिर्देशन गरिहरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment